Logo

अर्को हप्तादेखि ब्रोकरलाई मार्जिन कारोबार सुविधा, तयार भयो सिडिएसी र ब्रोकरको सफ्टवेयर

अर्को हप्तादेखि ब्रोकरलाई मार्जिन कारोबार सुविधा, तयार भयो सिडिएसी र ब्रोकरको सफ्टवेयर



काठमाडौं । लामो समयदेखि प्रतिक्षामा रहेको ब्रोकर मार्जिन कारोबार आगामी हप्तादेखि कार्यान्वयनमा आउने भएको छ । हाल मार्जिन कारोबारका लागि सिडिएससी र ब्रोकरको सफ्टवेयर तयार भइसकेको र आगामी हप्तादेखि कार्यान्यनमा ल्याइने भएको हो ।

laxmi

हाल सिडिएससीको मार्जिन कारोबारका लागि सफ्टवेयर तयार भएको र ब्रोकरको पनि सोही अनुरुप सफ्टवेयर तयार भएसँगै मार्जिन कारोबारका लागि सहमति दिइने नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले जानकारी दिए । ‘हामीले मार्जिन कारोबार गर्नका लागि सिडिएससीको सफ्टवेयर तयार गरिसकेका छौं,’ उनले भने, ‘ब्रोकरले पनि सोही अनुरुप आफ्नो सफ्टवेयर तयार भएको जानकारी गराएमा आगामी हप्ता मार्जिन कारोबारका लागि सहमति दिने छौं ।’

हाल ब्रोकर कम्पनीले मार्जिन कारोबारका लागि आफ्नो सफ्टवेयर तयार गरेको र आगामी हप्तासम्ममा मार्जिन कारोबार सुरु गरिने ब्रोकर एशोसिएशनका अध्यक्ष भरत रानाभाटले जानकारी दिए । ‘मार्जिन कारोबारका लागि ब्रोकरहरुले आफ्नो सफ्टवेयर तयार गरेर बसेका छन्,’ उनले भने, ‘हामीले सो सम्बन्धमा नेप्सेलाई जानकारी गराउन नपर्ने हो यस सम्बन्धमा नेप्सेसँग छलफल गरी तत्काल मार्जिन कारोबारका लागि स्वीकृति लिनेछौं ।’

यसैगरी सिडिएस एण्ड क्लियरिङ लिमिटेडका प्रमुख कार्यकारी अधिकृत देबप्रकाश गुप्ताले पनि मार्जिन कारोबारका लागि आफ्नो तर्फबाट सम्पूर्ण तयारी गरिसकेको जानकारी दिएका छन् । ‘सिडिएसीले मार्जिन कारोबारका लागि सफ्टवेयरमा छुट्टै एकाउण्ट बनाउनुपर्ने थियो त्यो हामीले गरिसक्यौं,’ उनले भने, ‘अब कार्यविधी अनुसार कसरी कारोबार गर्ने त्यो ब्रोकरको जिम्मा हो ।’

मार्जिन कारोबारका लागि करिब आधा दर्जन ब्रोकरले नेपाल राष्ट्र बैंकबाट सहमति ल्याएर स्वीकृतिका लागि नेप्सेमा आवेदन दिएका छन् । नेप्सेले मार्जिन कारोबार सुविधा सम्बन्धी कार्यबिधी,२०७५ लागु गर्दै ब्रोकरसँग आवेदन माग गरेको थियो । नेप्सेले बनाएको मार्जिन कारोबार सम्बन्धी मापदण्ड अनुसार २५ भन्दा बढी ब्रोकरले उक्त सुविधा दिन सक्नेछन् ।

नेप्सेले ल्याएको मापदण्ड अनुसार ब्रोकर कम्पनीहरुले मार्जिन कारोबार अनुमति पाउनका लागि लेखापरीक्षकबाट लेखापरीक्षण गराई खुद सम्पत्ति ५ करोडभन्दा बढी भएको एकीन गर्नुपर्नेछ । यस्ता कम्पनीहरुले आफ्नो नेटवर्थको दोब्बरसम्म मार्जिन कारोबार गर्नसक्ने छन ।

यसैगरी कार्यविधिमा १० हजार भन्दा बढी शेयरधनी भएको, पछिल्लो २ बर्षसम्म १० प्रतिशतभन्दा बढी लाभांश दिई चुक्ता पूँजीभन्दा नेटवर्थ बढी भएको तथा अघिल्लो वर्षको साधारणसभा आर्थिक वर्ष समाप्त भएको ६ महिनाभित्र साधारणसभा गरेको र बजार खुलेको दिनमध्ये ८० प्रतिशत दिनमा सेयर कारोबार भएका कम्पनीका सेयरमात्र मार्जिन कारोबारका लागि योग्य हुनेछन ।

प्रतिक्रिया दिनुहोस्
MBL