Logo

किन घामसँगै ओइलाउँछ नेप्से ?, लगानीकर्ता भन्छन् नीतिगत सुधारले मात्र बजार बढ्दैन

किन घामसँगै ओइलाउँछ नेप्से ?, लगानीकर्ता भन्छन् नीतिगत सुधारले मात्र बजार बढ्दैन



काठमाडौं । बजेट भाषणसँगै नेप्से परिसुचक दोहोरो अंकमा बढ्ने आशामा बसेका लगानीकर्ताहरु निरास बन्न पुगेका छन् । बजेटले सेयर बजारलाई लगानीकर्ताको माग अनुरुप सम्बोधन गरेपनि बजार नबढ्दा लगानीकर्ताहरु चिन्तित बन्न पुगेका हुन् ।

laxmi

बजेटले सेयर कारोबारमा लाग्दै आएको पूँजीगत लाभकर घटाउने देखि गैर आवासीय नेपालीलाई सेयर बजारमा लगानी गर्न दिने, ट्रष्टी ऐन ल्याउने, बजारको दायरा फराकिलो बनाउने, नेपाल स्टक एक्स्चेञ्ज र सिडिएससीलाई समयसापेक्ष सुधार गर्ने जस्ता विषलाई सम्बोधन गरेको छ । यसैगरी यस अघि नै मार्जिन लेण्डिङको सिमा ५० प्रतिशतबाट ६५ प्रतिशत पुर्याएको थियो भने सेयर कर्जाको रिस्क वेट १५० प्रतिशतबाट १ सय प्रतिशतमा झारेको थियो ।

सरकारले पूँजी बजार सुधारका लागि लगानीकर्ताले माग गरेको भन्दा पनि बढी सुविधा दिँदा पनि बजार भने बढ्न सकेको छैन । सूर्र्यको किरणजस्तै कारोबार खुल्दा तेजिलो भएर बढ्ने नेप्से परिसुचक कारोबार बन्द हुँदा सुर्यजस्तै ओईलाउँदै घटेर बन्द हुने गरेको छ । सरकारले नीतिगत रुपमा थुप्रै सुधारका प्रयास गरेपनि कतिपय विषय व्यवहारमा लागू नहुँदा बजारमा सकारात्मक प्रभाव पर्न सकेको छैन ।

बजेट भाषणको भोलिपल्टै करिव ३ प्रतिशतको हाराहारीमा बढेर झरेको नेप्से परिसुचकमा त्यसयता लगातारजस्तै गिरावट आएको छ । दैनिकजस्तो बजार खुल्दा दोहोरो अंकको आपसपासमा बढ्ने गरेको नेप्से परिसुचक कारोबार बन्द हुँदा घट्न पुगेको छ ।

सरकारले बजार सुधारको लागि अधिकतम प्रयास गरेपनि लगानीकर्ताको मनोविज्ञान र बजारमा देखिएको लगानीयोग्य पूँजी अभावका कारण सकारात्मक प्रभाव नपरेको सम्बद्ध लगानीकर्ताहरु बताउँछन् । ‘लगानीकर्ताहरु बजार बढाउन खोजिरहेका छन् सोही अनुरुप कारोबार खुलेको केही समय एकछिन उच्च रुपमा उकालो लाग्छ,’ एक लगानीकर्ताले भने, ‘तर, खस्किदो मनोवल र लगानीका लागि पूँजी नभएकै कारण बजारले गति लिन सकेको छैन ।’ सरकारले जस्तोसुकै सुधारका प्रयास गरेपनि लगानीयोग्य पूँजीको सहजता र सर्वसधारण लगानीकर्ताको मनोविज्ञानमा परिवर्तन नआएसम्म बजार नबढ्ने ति लगानीकर्ताको भनाई थियो ।

मंगलबार पनि बजार खुलेको केही समय करिब ७ अंकले बढेको नेप्से परिसुचक बजार बन्दा हुँदा शुन्य दशमलव १७ अंकले मात्र बढेको छ । बजार खुल्दा लगानीकर्तामा हौसला देखिएपनि बन्दा हुँदा निरास बनाएको छ । पछिल्लो समय बजारमा नेप्से परिसुचकका साथै कारोबार रकममा पनि उच्च गिरावट आएको छ । कुनै समय दैनिक पौने २ अर्ब रुपैयाँसम्मको कारोबार हुने बजारमा अहिले गिरावट आउँदे ५० करोड रुपैयाँभन्दा तल झरेको छ ।

पछिल्लो ५ बर्षको ट्रेण्ड हेर्ने हो भने सेयर बजारबाट सरदर आम्दानी १५ प्रतिशतको हाराहारीमा मात्र छ । त्यसपछि सिमित लगानीकर्ताको बाहुल्यता छ । बजारमा नबप्रवेशी तथा चलखेल गर्न नजान्ने सर्वसाधारण लगानीकर्ता छिर्दा लिएर आएको रकम समेत गुमाउन बाध्य भएका छन् ।

बजार तरलता अभाव भएसँगै बाणिज्य बैंकहरुले १२ प्रतिशत ब्याजदरमा निक्षेप संकलन गर्दै आएका छन् भने विकास बैंक हुँदै सहकारीसम्म आईपुँग्दा मुद्दती निक्षेपमा निक्षेपकर्ताले १५ प्रतिशतसम्म निक्षेप पाईरहेका छन् । पछिल्लो समय केही लगानीकर्ताहरुले सेयर बजारमा लगानी गरेर रिस्क लिनुभन्दा पनि बैंक वित्तीय संस्थामा मुद्दती निक्षेप राख्न आकर्षित हुन थालेका सम्बद्ध लगानीकर्ताहरु नै बताउँछन् । जसको प्रत्यक्ष प्रभाव सेयर बजारमा पर्न पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL