Logo

सबैजसो यातायात समितिहरु कम्पनीमा दर्ता, पञ्जिकरणमा विभागको लापरवाही

सबैजसो यातायात समितिहरु कम्पनीमा दर्ता, पञ्जिकरणमा विभागको लापरवाही



काठमाडौं । समितिमा आवद्ध सबैजसो सार्वजनिक यातायातका सवारीसाधनहरु कम्पनीमा दर्ता भएका छन । देशभर विभिन्न समितिका नाममा रहेका सार्वजनिक यातायातका सवारीसाधनहरु तिव्र रुपमा कम्पनीमा दर्ता हुने प्रक्रिया अघि बढेपछि लगभग सबैजसो समितिहरु कम्पनीमा दर्ता भएका हुन ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघमा आवद्ध विभिन्न समितिहरुका मात्रै १ सय ५५ समिति कम्पनीमा दर्ता भईसकेको महासंघका महासचिव सरोज सिटौलाले जानकारी दिए । उनका अनुसार सरकारसँग हातेमालो गर्दै सरकारले भनेअनुरुपनै कम्पनीमा जाने क्रम पछिल्लो समय बढाईएको छ ।

हाल नेपालमा ३० लाखभन्दा बढि साना तथा ठुला सवारीसाधन छन । जसमा यात्रुबाहक तथा मालबाहक साना, ठुला सवारीसाधन भने हालसम्म समितिमा आवद्ध रहेकाले कार्टेलिङ भएको भन्दै यातायात व्यवस्था विभागले यसको अन्त्य गर्नका लागि कम्पनीमा जान र यातायात अञ्चल कार्यालयमा पञ्जिकरण हुन निर्देशन दिएको थियो ।

सोही अनुसार महासंघमा आवद्ध समितिहरु कम्पनीमा दर्ता भईसकेपनि पञ्जिकरण भने कमै हुने गरेको पाईएको सार्वजनिक यातायात सुधार अभियन्ता रामबहादुर थापाले जानकारी दिए । उनका अनुसार व्यवसायीहरु सरकारले भनेअनुरुपनै कम्पनीमा दर्ता भएपनि विभागको लापरवाहीले पञ्जिकरणमा भने ढिलाई भईरहेको छ । ‘यातायात व्यवस्था विभागले तथा मन्त्रालयले नै बेवास्ता गर्दा कम्पनीमा दर्ता भएका सवारीसाधनले पनि पञ्जिकरणमा चासो देखाएका छैनन,’ उनले भने, ‘यसरी सरकारी पक्षलेनै बेवास्ता गर्दा सरकारलाई आउने अर्बाै राजस्व गुम्ने देखिएको छ ।’

२०७४ साल चैतमा यातायात व्यवस्था विभागका तत्कालिन महानिर्देशक रुपनारायण भट्टराईले असार मशान्तसम्मको म्याद राख्दै यातायात अञ्चल कार्यालयमा पञ्जिकरण नभएका सवारीसाधनलाई रुट परमिट, अनुमतिपत्र नविकरण लगायतका कार्यमा रोक लगाउने बताएका थिए । सोही अनुसार पञ्जिकरण गर्नका लागि धेरै समय लाग्ने र विभिन्न वाधा तथा अड्चन पनि रहेकाले यसको म्याद थप्न व्यवसायीले दवाव दिएका थिए । सोही अनुसार म्याद चौथो पटक थपिएपछि हाल सबैजसो समितिहरु कम्पनीमा जान त तयार भए तर २०७४ मा लागु गरिएको उक्त नियम भने विभागलेनै कार्यान्वयनमा ल्याउन सकेको छैन ।

पछिल्लो समय जेठ १८ गतेसम्म कम्पनीमा दर्ता भैसक्न विभागले व्यवसायीलाई निर्देशन दिएको थियो । तर त्यो निर्देशन यातायात अञ्चल कार्यालयमा पञ्जिकरण गर्नका लागि नभई कम्पनीमा दर्ता गर्नका लागि सुचनाको म्याद थपिएको विभागका निर्देशक तथा प्रवक्ता तिर्थराज खनालले जानकारी दिए । ‘सर्वप्रथमतः हामी यातायात समिति भनेको चिन्दैनौ हामीले समितिलाई कम्पनीमा दर्ता गर्नका लागि जेठ १८ गतेसम्मको म्याद तोकेका हौं,’ उनले भने, ‘कम्पनीमा दर्ता भईसकेपछि पञ्जिकरण हुनुपर्छ भनेर सुचना भने निकालेका छैनौं ।

यस्तै यातायात अञ्चल कार्यालयका कर्मचारीहरु यातायात व्यवसायीहसँग केही रकम लिँदै पञ्जिकरण गरिदिने गरेको पनि जानकारीमा आएको छ । केही व्यवसायीहरु कम्पनीमा दर्ता भईसकेपछि यातायात अञ्चल कार्यालयमा पञ्जिकरण गर्न जाँदा कार्यालयका कर्मचारीले पञ्जिकरण गर्ने बेलामा १ हजार देखि ३ हजार सम्म रुपैयाँ माग्दै पञ्जिकरण गरिदिने गरेको एक उच्च स्रोतले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL