Logo

शुक्रबारदेखि अन्तरराष्ट्रिय जेम एण्ड ज्वेलरी एक्स्पो हुँदै, नेपालको बहुमूल्य पत्थरको प्रवर्द्धन

शुक्रबारदेखि अन्तरराष्ट्रिय जेम एण्ड ज्वेलरी एक्स्पो हुँदै, नेपालको बहुमूल्य पत्थरको प्रवर्द्धन



काठमाडौं । शुक्रबार देखि नेपाल अन्तरराष्ट्रिय जेम एण्ड ज्वेलरी एक्स्पो आयोजना हुने भएको छ । खानी तथा भुगर्भ विभाग र नेपाल सुनचाँदी रत्न आभुषण महासंघको संयुक्त ब्यवस्थामा विभागकै कम्पाउन्डमा उक्त एक्स्पो आयोजना हुने भएको हो ।

नेपाल रत्न, आभुषण, विभिन्न बहुमूल्य पत्थरहरुको प्रवद्र्धन गर्नका लागि उक्त एक्स्पो आयोजना गर्न लागेको महासंघका अध्यक्ष रमेश महर्जनले जानकारी दिए ।

उनका अनुसार नेपालमा धेरै प्रकारका बहुमूल्य रत्न तथा पत्थरहरु भएपनि सोही अनुसार बजार मूल्यमा नविकेका कारण सरकारले धेरै राजस्व गुमाउनु परेको छ । उक्त एक्स्पोले नेपालका यस्ता बहुमूल्य पत्थर तथा रत्नहरुको बारेमा विदेशमा पनि प्रवद्र्धन गर्ने र उचित मूल्यमा निर्यातको वातावरण बनाउन सहयोग पुग्ने उनको भनाई छ ।

नेपालमा हाल यस्ता बहुमूल्य पत्थर तथा रत्नहरु २०७२ सालयता निकासीमा रोक लगाईएको छ । त्यसयता यस्ता विभिन्न पदार्थहरु न्युन मूल्यमा चोरी तथा पैठारी हुँदै आएकोमा अव यसलाई सरकारी तहबाटै उचित तथा वास्तविक मूल्यमा निकासी गर्ने वातावरणको विकास हुनेछ । शुक्रबार बाट हुने उक्त मेला जेठ ५ गतेसम्म चल्नेछ ।

विभागको प्रांगणमै आयोजना गरिने उक्त एक्स्पोको उद्घाटन जेठ ३ गते प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम रहेको विभागका महानिर्देशक सोमनाथ सापकोटाले जानकारी दिए ।

उनका अनुसार उक्त एक्स्पोमा सुन, चाँदीका ३६, लुज जेम्सका ४, सिल्भर ज्वेलरीका २, ल्यापीडरी(जेम्स कटिङका) २, रक एण्ड मिनेरल्सका १२ तथा एजुकेसनका ४ गरी जम्मा ६० ओटा स्टल रहनेछन ।

प्रतिक्रिया दिनुहोस्
MBL