Logo

राष्ट्र बैंकले फुकायो मार्जिन कारोवारको गाठो, नेप्सेकै सिफारिसमा स्वीकृति दिने

राष्ट्र बैंकले फुकायो मार्जिन कारोवारको गाठो, नेप्सेकै सिफारिसमा स्वीकृति दिने



काठमाडौं । नेपाल राष्ट्र बैंकले सेयर ब्रोकर कम्पनीलाई मार्जिन कारोबार गर्नका लागि बाटो खोलिदिएको छ । बैंकले बिहीबार एक सुचना जारी गर्दै नेपाल स्टक एक्स्चेन्ज नेप्सेले सिफारिस गरेपछि ब्रोकर कम्पनीलाई मार्जिन कारोबारको लागि स्वीकृती दिने जानकारी दिएको हो ।

राष्ट्र बैंकले नेपाल धितोपत्र बोर्डले तयार पारेको मार्जिन कारोबारसम्बन्धी निर्देशिकामा भएको सम्पुर्ण सर्त पुरा गरेर नेप्सेबाट सिफारिस पाएको कम्पनीलाई मार्जिन कारोबारको लागि स्विकृत दिने भएको छ ।

सर्कुलर अनुसार अबका दिनमा ब्रोकरहरु मार्जिन कारोबारको स्वीकृति लिन राष्ट्र बैंक जान नपर्ने भएको छ । यस अघि नेप्सेले अन्तिम स्वीकृतिका लागि भन्दै २ ब्रोकरलाई राष्ट्र बैंक पठाएको थियो । तर, अबका दिनमा नेप्सबाट सहमति पाएसँगै ब्रोकरहरुले काम गर्न पाउनेछन् ।

ब्रोकरहरुले लगानीकर्तासँग लिने ब्याजको स्प्रेडदर र अन्य सेवाभने आपसी सहमतिमा तय गर्न सकिने भएको छ । तर, ब्याजको अधिकतम सिमा भने धितोपत्र बोर्डले तोक्न सक्नेछ ।

सेयर ब्रोकर कम्पनीहरुका लागि नेपाल धितोपत्र बोर्डको निर्देशिकामा कम्तीमा १० हजार सेयरधनी भएको, कम्पनीको खुद सम्पत्ति चुक्ता पूँजीभन्दा कम नरहेको, पछिल्लो दुई आर्थिक वर्षमा कम्तीमा १० प्रतिशत लाभांश वितरण गरेको लगायतका सर्त उल्लेख गरिएको छ ।

नेप्सेका अनुसार उक्त मार्जिन कारोवारका लागि १ दर्जन ब्रोकर कम्पनीहरुले नेप्सेमा आवेदन दिएका थिए । तर धितोपत्र बोर्डको सम्पुर्ण सर्त पुरा भएका २ ओटा कम्पनीलाई मात्रै राष्ट्र बैंकसमक्ष स्वीकृतिका लागि पठाईएको थियो ।

नेप्सेका अनुसार धितोपत्र बोर्डको निर्देशिका अनुसार उक्त स्वीकृति लिनका लागि ब्रोकर कम्पनीको नेटवर्थ ५ करोड रुपैयाँ हुनुपर्दछ जुन २५ कम्पनीसँग मात्रै सोही अनुसारको नेटवर्थ छ ।

प्रतिक्रिया दिनुहोस्
MBL