Logo

मार्जिन कारोबारका लागि १ दर्जन ब्रोकरले दिए आवेदन, के गर्दैछ नेप्से ?

मार्जिन कारोबारका लागि १ दर्जन ब्रोकरले दिए आवेदन, के गर्दैछ नेप्से ?



काठमाडौं । मार्जिन कारोबारका लागि १ दर्जनभन्दा बढी ब्रोकर कम्पनीले नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा आवदेन दिएका छन् ।

laxmi

नेप्सेले गत हप्ताको मंगलबार मार्जिन कारोबार सुविधा सम्बन्धी कार्यबिधी,२०७५ लागु गर्दै ब्रोकरसँग आवेदन माग गरेको थियो । मार्जिन कारोबारका लागि लामो समयदेखि प्रतिक्षामा रहेका ब्रोकर कम्पनीले बुधबार नै नेप्से समक्ष आवेदन दिएका थिए ।

नेप्सेले बनाएको मार्जिन कारोबार सम्बन्धी मापदण्ड अनुसार २५ भन्दा बढी ब्रोकरले उक्त सुविधा दिन सक्नेछन् । सोही अनुरुप शुक्रबार सम्ममा ११ जना ब्रोकरले आवेदन दिएका थिए ।

तर, सो क्रम आईतबारसम्ममा १ दर्जनभन्दा बढी पुगेको ब्रोकर नम्बर ४९ का संचालक अनन्त पौडेलले जानकारी दिए । ‘हामीले शुक्रबार आवेदन दिँदासम्म ११ जनाको आवेदन परिसकेको थियो,’ उनले भने, ‘आईतबार पनि सोही अनुपातमा आवेदन परेको जानकारीमा आएको छ तर एकिन कति वटाको पर्यो भन्ने थाहा भएन ।’

मार्जिन कारोबारका लागि १ दर्जनभन्दा बढी ब्रोकरले आवेदन दिएपनि सो विषयमा नेप्सेले भने हालसम्म कुनै आवेदन नै नआएको बताउँदै आएको छ । शुक्रबारसम्म करिब १ दर्जन ब्रोकरले नेप्सेमै पुगेर २० हजार रुपैयाँसहित आवेदन दिएपनि सो अबधिसम्म कुनै पनि ब्रोकरले आवेदन नदिएको नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले जानकारी दिए । ‘आईतबार पछिल्लो समय आवेदन आयो कि आएन थाहा भएन तर शुक्रबारसम्म कुनै आवेदन परेको छैन,’ उनले भने, ‘ब्रोकरले आवेदन दिने तयारी गरेका होलान तर नेप्सेमा आवेदन आईपुगेको छैन ।’

मार्जिन कारोबारका लागि ब्रोकरहरु एग्रेसिभ रुपमा आएपछि सोही अनुरुप नेप्से अपडेट नहुँदा सोका लागि अझै समय लाग्न सक्ने सम्बद्ध सरोकारवालाहरु बताउँछन् । ‘मार्जिन कारोबारका लागि आफुहरुले बुधबार नै आवेदन दिएको र अबका दिनमा नेप्सेको सहमति पर्खिएर बसेको भिजन सेक्युरिटिजका संचालक राजकुमार तिमिल्सिनाले जानकारी दिए । ‘हामीले नेप्सेले आवेदन माग गर्ने वित्तिकै आवेदन दिएका छौं,’ उनले भने, ‘अब नेप्सेले सहमति दिएसँगै कारोकार सुरु गर्नेछौं ।’

नेप्सेले ल्याएको मापदण्ड अनुसार ब्रोकर कम्पनीहरुले मार्जिन कारोबार अनुमतिका पाउनका लागि लेखापरीक्षकबाट लेखापरीक्षण गराई खुद सम्पत्ति ५ करोडभन्दा बढी भएको एकीन गर्नुपर्नेछ । यस्ता कम्पनीहरुले आफ्नो नेटवर्थको दोब्बरसम्म मार्जिन कारोबार गर्नसक्ने छन ।

यसैगरी कार्यविधिमा १० हजार भन्दा बढी शेयरधनी भएको, पछिल्लो २ बर्षसम्म १० प्रतिशतभन्दा बढी लाभांश दिई चुक्ता पुँजीभन्दा नेटवर्थ बढी भएको तथा अघिल्लो वर्षको साधारणसभा आर्थिक वर्ष समाप्त भएको ६ महिनाभित्र साधारणसभा गरेको र बजार खुलेको दिनमध्ये ८० प्रतिशत दिनमा सेयर कारोबार भएका कम्पनीका सेयरमात्र मार्जिन कारोबारका लागि योग्य हुनेछन ।

प्रतिक्रिया दिनुहोस्
MBL