Logo

आठौं हब्र्स एक्स्पो आयोजना हुँदै, ६० हजार बढीले अवलोकन गर्ने अनुमान

आठौं हब्र्स एक्स्पो आयोजना हुँदै, ६० हजार बढीले अवलोकन गर्ने अनुमान



काठमाडौं । काठमाडौंस्थित ठमेलको छाया सेन्टरमा आठौंँ हब्र्स एक्स्पो २०१९ हुने भएको छ । गुणस्तरीय जडिबुटी दिगो अन्तर्राष्ट्रिय बजार, प्रोत्साहन र सम्मान जिम्मेवार उद्यमको आधार भन्ने मुल नाराका साथ फागुन १७ गतेदेखि ३ दिनसम्म उक्त मेला आयोजना हुने भएको हो ।

मेलामा ५० वटा स्टल हुनेछन । नेपालको हिमालदेखि तराइसम्म पाइने जडिबुटीको सचित्र जानकारी दिने स्टल मेलाको मुख्य आकर्षण हुने आयोजकले जानकारी दिएको छ । आठौं नेपाल हब्र्स एक्स्पोमा ७ वटा कृषि र अन्य प्राकृतिक उत्पादनहरु, १२ वटा प्रमाणिकरण गरिएका अर्गानिक उत्पादनहरु, ५ वटा प्रविधि र गुणस्तर सम्बन्धी जानकारी दिने स्टल हुनेछन ।

१२ वटामा कस्मेटिक, स्पा र मसाज सम्बन्धी उत्पादन तथा जानकारी, ४ वटा आयुर्वेद तथा क्लिनिक, ७ वटा सुगन्धित वनस्पति सहितका विरुवा र फूलहरुका स्टल र परम्परागत रुपमा जडिबुटीको सहायताले गरिने उपचार मेलाका मुख्य आकर्षण हुन । मेलामा ४ वटा स्टल नेपाल बाहिरका उद्यमी र खरिदकर्ताका हुनेछन ।

नेपाल हब्र्स एक्स्पोमा नेपालभित्रै तथा नेपाल बाहिरका क्रेता र बिक्रेतालाई एकै ठाउँमा जम्मा पारि उत्पादन विस्तार, गुणस्तर सुधार तथा व्यापार बृद्धिका लागि विभिन्न काम गरिंदैछ । बिटुबि भनिने बायर सेलर मिट अर्थात क्रेता विक्रेताबीचको भेटघाट यस्तै एउटा काम हो ।

यो बर्ष फ्रान्स, वेल्जियम, क्यानडा, जर्मनी लगायतका यूरोपीयन देश र भारत, बंगालादेश तथा चिन जस्ता छिमेकी मुलुकबाट दुइ दर्जनभन्दा बढीको संख्यामा नेपालको जडिबुटी प्रबद्र्धन तथा खरिदका लागि विभिन्न व्यवसायिक कम्पनीका प्रतिनिधिहरु आउँदैछन । उनीहरुले नेपाली उत्पादन हेर्नेछन, थप सुधारका लागि गर्न सकिने काम तथा अन्तर्राष्ट्रिय बजारमा कस्ता वस्तुको बढी माग हुन्छ भन्ने कुरा नेपाली उत्पादक, उद्यमी र संकलक सँग राख्नेछन ।

एक्स्पोमा नीति तथा मुल्य श्रृङ्खला, अर्गानकि र निर्यात, प्रविधि र गुणस्तर गरि तीन वटा विषयमा तीनै दिन छलफल कार्यक्रम हुनेछ । छलफलमा सम्बन्धित विषयमा काम गरिरहेकाहरु, विषय विज्ञहरु र सरकारी निकायका प्रतिनिधिहरुले यो क्षेत्रका अवसर, चुनौती तथा सुधार गर्नुपर्ने कुराहरु राख्नेछन । छलफलमा सर्वसाधारणले समेत सहभागिता जनाउन सक्नेछन । आफ्ना विचार राख्न र विज्ञहरुसँग प्रश्न सोध्न सक्नेछन ।

अगिल्ला बर्षहरुमा जस्तै यो बर्ष पनि एक्स्पोमा आउन चाहने स्कुलका विद्यार्थिहरुका लागि विशेष व्यवस्था गरिएको छ । हिमालदेखि तराइसम्म पाइने औषधिजन्य र सुगन्धित वनस्पतिहरुको फोटो सहितको विवरण भएका सामग्रीहरु मेलामा प्रशस्त हुनेछन । छोटो समयमा पैसा खर्च नगरिकनै उनीहरुले हाम्रा जडिबुटी र तिनीहरुको परम्परागत प्रयोगका बारेमा जान्न सक्नेछन ।

जडिबुटी उद्यमीहरुले चाहिँ आफ्नो सामानको गुणस्तर कसरी बढाउने, तेल तथा अन्य औषधिजन्य जडिबुटीको भण्डारण कसरी गर्ने, बजारमा लैजाने सामान आकर्षक प्याकेजिङ सहित लैजाने र आफ्नो छुट्टै ब्रान्ड कसरी बनाउने भन्ने सिक्ने र हेर्ने मौका पाउनेछन । यो भन्दा अगाडि ६० हजार भन्दा बढी मानिसले एक्स्पो भ्रमण गरे । यो बर्ष अघिल्ला बर्षहरुमा भन्दा बढी मानिस आउने अपेक्षा गरिएको छ ।

१ सय भन्दा बढी उद्यमी र व्यवसायि आवद्ध रहेको नेपाल हब्र्स तथा हर्बल उत्पादक संघ, नेहपाले यही अवसर दिलाउन किसान, उत्पादक, संकलक, व्यापारी, अन्तर्राष्ट्रिय स्तरबाटै प्रमाणिकरण गरिएका कृषि र हर्बल क्षेत्रका साना तथा मझौला उद्यमीहरुलाई एकै ठाउँमा जम्मा पार्न यो एक्स्पोको आयोजना गरेको हो । उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, व्यापार तथा निर्यात प्रबद्र्धन केन्द्र र जर्मन सहयोग नियोग, जिआइजेडसँगको समन्वय तथा सहकार्य गर्न लागिएको एक्स्पोका लागि अन्य विभिन्न क्षेत्रको समेत सहयोग रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL