Logo

१५ औं अन्तरराष्ट्रिय घरेलु व्यापार मेला, २ सय स्टल ७ करोड आम्दानी

१५ औं अन्तरराष्ट्रिय घरेलु व्यापार मेला, २ सय स्टल ७ करोड आम्दानी



काठमाडौं । १५ औं अन्तरराष्ट्रिय औद्योगिक व्यापार तथा घरेलु उद्योग महोत्सव २०७५ आयोजना हुने भएको छ ।

नेपाली स्थानीय घरेलु तथा साना उद्योगका उत्पादनको प्रवद्र्घन र बजारीकरण गर्ने उद्देश्यले उक्त मेला आयोजना हुने भएको हो ।

‘नेपाली वस्तु प्रयोग गरौं, नेपाली भएकोमा गर्व गरौं’ र ‘मेहनत, श्रृजना, उत्पादन र वस्तु मैरै नेपालको’ भन्ने नाराका साथ आगामी फागुन २३ गतेदेखि उक्त आयोजना हुन लागेको हो ।
नेपाल घरेलु तथा साना उद्योग महासंघले राजधानीको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डप परिसरमा फागुन २३ देखि २७ गतेसम्म घरेलु उद्योग महोत्सव र तेश्रो प्राङ्गारिक कृषि मेला–२०७५ आयोजना गर्न लागेको आयोजकले जानकारी दिएको छ ।

समृद्ध नेपाल, सुखी नेपालीको नारालाई अभियानका रुपमा सञ्चालन गर्ने उद्घोष गरेको वर्तमान सरकारको कार्य मुलुकको समृद्धीतर्फ केन्द्रीत हुनुपर्ने परिप्रेक्ष्यमा मुलुकभरका झण्डै ४ लाख लघु, घरेलु तथा साना उद्योगहरुलाई प्रतिबिम्बित गर्ने प्रदर्शनीको मुख्य उद्देश्य रहेको महासंघका कार्यवाहक अध्यक्ष उमेश प्रसाद सिंहले जानकारी दिए ।

‘हाम्रो जस्तो देशमा लघु घरेलु तथा साना उद्योगहरू आर्थिक विकास र समृद्धीका संवाहकका रुपमा रहेका भएतापनि प्रविधि प्रयोग र अन्य क्षमता विकासका हिसाबले यस्ता उद्योगहरु प्रतिस्पर्धी बन्न नसकेको हुँदा आकर्षक प्रतिफल दिन सकिरहेका छैनन,’ उनले भने, ‘जसका कारणले युवा पुस्ता यस्ता उद्योगप्रति आकर्षित हुन सकिरहेका छैनन् ।’

उनले परिणामतः यस्ता उद्योगहरूमा पुस्ता हस्तान्तरणको समस्या रहेको बताउँदै यस्तै पक्षलाई सम्वोधन गर्न र एक अर्काबाट सिक्न तथा ज्ञान र सीप आदान प्रदान गर्ने उद्देश्यका साथ लघु, घरेलु तथा साना उद्योगको छाता संस्था नेपाल घरेलु तथा साना उद्योग महासंघले धेरै अगाडी देखि नै नियमित रुपमा राष्ट्रिय, प्रदेश तथा स्थानीयस्तरमा औद्योगिक प्रदर्शनीहरु आयोजना गर्दै आएको बताए ।

मेलामा मुलुकको औद्योगिकरणको वर्तमान अवस्थालाई उजागर गर्न नेपालमा सञ्चालित लघु, घरेलु तथा साना उद्योग लगायत सबै खाले उद्योगको उत्पादनलाई समावेश गरी बीटुबी, बीटुसी, बीटुजी जस्ता अन्तरक्रिया, छलफल, सांस्कृतिक कार्यक्रम र खाद्य महोत्सव आदि कार्यक्रम प्रदर्शनीका थप आकर्षण हुनेछन् ।

प्रदर्शनीमा नेपालका सबै प्रदेश र जिल्लाका उद्यमीहरू, उपयुक्त प्रविधि प्रयोगकर्ताहरू र भारत, पाकिस्तान, बंगलादेश लगायत सार्क मुलुक तथा चीनको सहभागिता रहने छ र प्रदर्शनीमा २०० वटा स्टलको व्यवस्था हुने र दुई लाख भन्दा बढी अवलोकनकर्ताहरूले मेलाको अवलोकन गर्ने अपेक्षा गरिएको छ भने ७ करोड रुपियाँभन्दा बढीको आर्थिक कारोवार हुने आयोजकले अनुमान लगाएको छ ।

अर्गानिक उत्पादनलाई प्रोत्साहन गरिरहेको अवस्थालाई मध्यनजर गर्दै तेश्रो प्राङ्गारिक कषि मेला – २०७५ पनि सोही मेलामार्फत गरिन लागेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL