Logo

नागरिक लगानी कोष र बीमा कम्पनीको लापरबाही, गैरकानुनी रुपमा संस्थापक सेयरलाई साधारणमा बिक्री

नागरिक लगानी कोष र बीमा कम्पनीको लापरबाही, गैरकानुनी रुपमा संस्थापक सेयरलाई साधारणमा बिक्री



काठमाडौं । नागरिक लगानी कोषको लापरबाहीका कारण बीमा कम्पनीहरुले उक्त संस्थाको संस्थापक सेयरलाई सर्वसाधारण सेयरमा बिक्री गरेका छन् ।

केही समय अघि नेपाल बैंकले नागरिक लगानी कोषमा रहेको आफ्नो संस्थापक सेयरलाई अक्सनमा निकालेको थियो । उक्त संस्थापक सेयर नेपाल लाईफ इन्स्योरेन्स, लाईफ इन्स्योरेन्स कर्पोरेशन, सूर्या लाईफ, एसियन लाईफ, एनआईसी एसिया बैंक लगायतले अक्सनमार्फत खरिद गरेका थिए । तर, अक्सनमार्फत खरिद गरेका संस्थापक सेयरलाई अहिले बीमा कम्पनीहरुले सर्वसाधारण सेयर भन्दै दोस्रो बजारमा बिक्री गर्न सफल भएका छन् ।

त्यसरी खरिद गरिएको सस्थापक सेयरलाई लाईफ इन्स्योरेन्स कर्पोरेशन र एसियन लाईफ इन्स्योरेन्सले सर्वसाधारण भन्दै गैरकानूनी रुपमा दोस्रो बजारमा बिक्री गर्न सफल भएका हुन् । हाल नागरिक लगानी कोषले कुन कुन कम्पनीले संस्थापक सेयरलाई सर्वसाधारण भन्दै बिक्री गरेका छन् सो विषयमा अध्ययन गरिरहेको छ ।

विशेषगरी कोषकै लापरवाहीका कारण बीमा कम्पनीहरुले फट्याई गरेर संस्थापक सेयरलाई पनि सर्वसाधार भन्दै दोस्रो बजारमा बिक्री गर्न सफल भएका हुन् । सर्बसाधारणको लगानी रहेको र आफै सेयर रजिष्टारको समेत काम गर्दै आएको कोषको लापरबाहीले गर्दा संस्थापक सेयरलाई पनि दोस्रो बजारमा सर्वसाधारण सेयर भन्दै बिक्री गर्न सक्नु हदै सम्मको गैरकानुनी काम भएको सम्बद्ध लगानीकर्ताहरुको भनाई थियो ।

साधारणतया कुन पनि कम्पनीको संस्थापक सेयर र साधारण सेयरलाई एयरमार्क गरिन्छ । तर, आफैले सेयर रजिष्टारको समेत काम गर्दै आएको लगानी कोषले आफ्नो संस्थाको सेयरलाई हालसम्म एयरमार्क गरेको छैन । कोषले एयरमार्क नगरेकै कारण बीमा कम्पनीहरुले त्यसको फाइदा उठाउँदै संस्थापक सेयरलाई समेत सर्वसाधारण सेयर भन्दै गैर कानूनी रुपमा दोस्रो बजारमा बिक्री गर्न सफल भएका हुन् ।

केही सयमअघि कोषले अक्सनमार्फत सेयर खरिद गरेका बीमा कम्पनीहरुलाई बोनस सेयर दिएको थियो । कोषले नै ती कम्पनीहरुलाई संस्थापक सेयरको बोनस सर्वसाधरणको स्टाटसमा पठाईदिएपछि बीमा कम्पनीहरुले दोस्रो बजारमा बिक्री गरेका हुन् ।

बीमा कम्पनीले फट्याई गरेर संस्थापक सेयरको बोनसलाई सर्वसाधारणको स्टासमा बिक्री गरको नागरिक लगानी कोषका कार्यकारी निर्देशक रमण नेपालले जानकारी दिए । ‘हामीले सम्बद्ध कम्पनीहरुलाई संस्थापक सेयरको बोनस पठाएको हो प्राविधिक कारणले गर्दा सर्वसाधारणको स्टाटसमा गयो,’ उनले भने, ‘तर, बीमा कम्पनीले पनि आफ्नो संस्थापक सेयरको बोनस आएको थाहा पाएर पनि सर्वसाधारण सेयरमा बिक्री गरेर वदमासी गरे ।’

संस्थापक सेयरको बोनसमार्फत भएको १७ हजार कित्ता सेयरलाई लाईफ इन्स्योरेन्स कर्पोरेशनले दोस्रो बजारमा सर्वसाधारण सेयर बिक्री गर्न सफल भएको थियो । तर, उक्त सेयरलाई पूर्ववत अवस्थामा फर्काउन निर्देशन दिएको नेपालले जानकारी दिए । ‘बीमा कम्पनीले जति संस्थापक सेयर सर्वसाधार भन्दै बिक्री गरेका थिए हाल सोही मात्रामा सेयर खरिद गरेर पूर्ति गर्न निर्देशन दिएका छौं,’ उनले भने ।

यसैगरी एसियन लाईफलाई पनि बिक्री भएको सेयरलाई पूर्ववत अवस्थामा फर्काउन निर्देशन दिएको कोषले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL