Logo

बूढीगण्डकी आयोजना प्रभावित ५२५ ले पाए मुआब्जा, १ अर्ब ८ करोड वितरण

बूढीगण्डकी आयोजना प्रभावित ५२५ ले पाए मुआब्जा, १ अर्ब ८ करोड वितरण


रासस
54
Shares

काठमाडौं । बूढीगण्डकी जलविद्युत आयोजनाले गोरखातर्फका डुबान क्षेत्रका प्रभावितलाई थप १ अर्ब ८ करोड रुपैयाँ मुआब्जा वितरण गरेको छ ।

राष्ट्रिय गौरव आयोजनाका रुपमा निर्माण गर्न लागिएको उक्त आयोजनाले डुबान क्षेत्रमा पर्ने साविकका धावा गाविसका प्रभावितलाई उक्त रकम वितरण गरेको हो । ‘धावादेखि बालुवाटारसम्मका डुबान क्षेत्र प्रभावितको बैंक खातामा रकम पठाइ सकेका छौं’, आयोजनाका पुनर्वास तथा पुनःस्थापन ईकाइका प्रमुख कृष्ण कार्कीले भने ।

आयोजनाले चालू आर्थिक वर्षभित्र मुआब्जा निर्धारण भइसकेका सबै डुबान प्रभावितलाई मुआब्जा वितरण गर्ने गरी काम अघि बढाइएको समेत कार्कीले जानकारी दिएका छन ।

आयोजनाले मुआब्जा वितरण गर्न छुट भएका अश्राङ, बोर्लाङ, बुङकोट र नाम्जुङका प्रभावितको बैंक खातामा समेत रकम पठाइसकेको छ । आयोजनाले यो पटक ५ सय २५ डुबान प्रभावितको बैंक खातामा मुआब्जा रकम पठाएको आयोजना प्रमुख कार्कीले बताए ।

इकाइका प्रमुख कार्कीले डुबान क्षेत्रका प्रभावितलाई मुआब्जा वितरण गर्न आयोजनालाई १८ अर्ब रुपैयाँ रकम प्राप्त भएको र सो रकमले मुआब्जा निर्धारण गरिएको क्षेत्रका प्रभावितलाई मुआब्जा वितरण गर्न पुग्ने अनुमान रहेको समेत बताएका छन । त्यस्तै डुबान प्रभावित क्षेत्रमा घरगोठ, फलफूल र बोट बिरुवाको तथ्याङ्क संकलनको कामसमेत अघि बढाइएको छ ।

‘मुआब्जा निर्धारण भएका सबै क्षेत्रमा जमीनको मुआब्जा वितरणको काम अन्तिम चरणमा पुगेको छ,’ कार्कीले भने, ‘अब हामीले यसै वर्षदेखि नै घरगोठ, फलफूल र बोटबिरुवाको पनि मुआब्जा वितरण गर्न लागत संकलनको काम सुरु गर्नेछौं ।’

प्रतिक्रिया दिनुहोस्
MBL