Logo

ब्रोकरलाई मार्जिन कारोबार गर्न राष्ट्र बैंकको स्वीकृति नचाहिने, आवेदन माग गर्दै नेप्से

ब्रोकरलाई मार्जिन कारोबार गर्न राष्ट्र बैंकको स्वीकृति नचाहिने, आवेदन माग गर्दै नेप्से



काठमाडौं । ब्रोकर कम्पनीलाई मार्जिन कारोबार गर्न नेपाल राष्ट्र बैंकको स्वीकृति नचाहिने भएको छ । अबका दिनमा मार्जिन कारोबार सुविधा सम्बन्धी निर्देशन र कार्यविधी अन्तरगत रही नेप्सेमा सुचिकृत भएर ब्रोकरले मार्जिन लेण्डिङ गर्न सक्ने भएका छन् ।

मार्जिन कारोबार सम्बन्धी अधिकार धितोपत्र बोर्डको रहेको र बोर्डबाट सो सम्बन्धी कार्यबिधी तयार भएसँगै ब्रोकरहरुले राष्ट्र बैंकको स्वीकृति नलिई मार्जिन कारोबार गर्न सक्ने नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी शिवकोटीले जानकारी दिए । ‘बोर्डबाट मार्जिन कारोबार सम्बन्धी निर्देशिका तथा नियमावली जारी भएसँगै उनीहरुले नै मार्जिन लेण्डिङको लागि स्वीकृति दिन सक्छन्,’ उनले भने, ‘त्यसका लागि राष्ट्र बैंकको कुनै सहमति चाहिँदैन ।’

मार्जिन कारोबार सम्बन्धी धितोपत्र बोर्डको निर्देशन आएसँगै आगामी दिनका ब्रोकरलाई कसरी सो सुविधा प्रदान गर्ने भन्ने विषयमा आन्तरिक रुपमा छलफल भइरहेको नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)का प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले जानकारी दिए । ‘हामीलाई आएको निर्देशन अनुसार अब नेप्सेले नै ब्रोकरसँग आवश्यक कागजात माग गरी लगानीकर्तालाई मार्जिन लेण्डिङको सुविधा प्रदान गर्न सक्नेछ,’ साउदले भने ।

ब्रोकरलाई मार्जिक कारोबार गर्न नेप्सेमा सुचिकृत हुनका लागि केही दिनभित्रै आवेदन माग गरिने समेत साउदले जानकारी दिए । ‘नेप्सेले मार्जिन कारोबार सुविधा सम्बन्धी कार्यबिधी २०७५ अनुसार ब्रोकर कम्पनीसँग आवश्यक कागजात सहित आवेदन माग गर्नेछ,’ उनले भने, ‘ब्रोकर कम्पनीलाई निश्चित समयसीमा भित्र सुचिकृत हुनको लागि समय दिएर मार्जिन कारोबार गर्न सहमति प्रदान गर्नेछौं ।’

मार्जिन कारोबार गर्नका लागि कुनै पनि ब्रोकरको नेटवर्थ ५ करोड रुपैयाँ हुनुपर्दछ । हाल उक्त नेटवर्थ भएको २५ वटा जति ब्रोकर कम्पनी भएको समेत नेप्सेले जानकारी दिएको छ । अहिले नेप्सेमा सुचिकृत भएर ५० वटा ब्रोकर कम्पनी संचालनमा छन् ।

गत हप्ता नेपाल धितोपत्र बोर्डले एक निर्देशन जारीगर्दै ब्रोकर कम्पनीलाई मार्जिन कारोबार सम्बन्धी सुविधा प्रदान गर्न निर्देशन दिएको थियो । जस अनुसार ब्रोकरले ग्राहकलाई उपलब्ध गराउने मार्जिन कारोवार सुविधा सम्बन्धी व्यवस्था धितोपत्र नियमन निकायको दायराभित्र पर्ने भन्दै धितोपत्र दलालले मार्जिन कारोवार सुविधा अन्तर्गत ग्राहकलाई उपलब्ध गराउने ऋणको व्याजदर सम्बन्धमा धितोपत्र दलाल र ग्राहकबीच हुने सम्झौता अनुसार तय हुने जानकारी दिएको छ । लामो समयदेखि मार्जिन लेण्डिङ गर्दा ब्रोकरले दिने कमिशन र स्प्रेड दरमा टुङ्गो नलाग्दा कार्यान्वयनमा आउन सकेको थिएन ।

यसैगरी नेपाल धितोपत्र बोर्डका सहप्रवक्ता निरञ्जय घिमिरेले पनि अबका दिनमा ब्रोकरले नेप्सेबाट सहमति लिएर मार्जिन लेण्डिङ गर्न सक्ने बताए । ‘ब्रोकरले प्रदान गर्ने मार्जिन कारोबारको सम्बन्धमा कार्यविधी र निर्देशनमै स्पष्ट उल्लेख गरिएको छ,’ उनले भने, ‘अबका दिनमा ब्रोकरले मार्जिन कारोबार गर्न आवश्यक प्रक्रिया पुरा गरी नेप्सेबाट सहमति लिए हुन्छ राष्ट्र बैंकको स्वीकृति चाहिँदैन ।’

मार्जिन कारोबार सुविधा सम्बन्धी निर्देशन तथा कार्यबिधी अनुसार ब्रोकरले आफ्नो नेटवर्थको दुई गुणासम्म मार्जिन लेण्डिङ गर्न सक्नेछन् ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL