Logo

नयाँ धितोपत्र ब्रोकर कम्पनीलाई लाईसेन्स दिन बोर्डको निर्देशन, यस्तो छ प्रक्रिया

नयाँ धितोपत्र ब्रोकर कम्पनीलाई लाईसेन्स दिन बोर्डको निर्देशन, यस्तो छ प्रक्रिया



काठमाडौं । नेपाल धितोपत्र बोर्डले देशको संघीय संरचना अनुरुप धितोपत्र दलाल (ब्रोकर) लाईसेन्स दिनका लागि नेपाल स्टक एक्सचेञ्जलाई निर्देशन दिएको छ ।

बोर्डले आज एक निर्देशन जारी गर्दै काठमाडौं उपत्यका बाहेकका आर्थिक रुपमा सक्रिय प्रदेश तथा जिल्लाहरुमा स्थानीय स्तरमा धितोपत्र दलाल व्यवसायीको अनुमतिपत्र प्रदान गर्न आवश्यक कार्य अगाडि बढाउन नेप्सेलाई निर्देशन दिइएको हो ।

बोर्डको धितोपत्र तथा वस्तु विनिमय बजारसम्बन्धी नीति तथा कार्यक्रमा धितोपत्रको दोस्रो बजारको पहुंच विस्तार गरी धितोपत्र बजारमार्फत् स्थानीयस्तरमा रहेको बचत तथा लगानीलाई दीर्घकालीन पूँजी परिचालनको मूल प्रवाहमा ल्याउन आर्थिकरुपमा सम्भाव्य जिल्ला÷स्थानहरुमा धितोपत्र दलाल सेवा संचालन अनुमति दिने कार्यक्रम निर्धारण गरेको थियो ।

उक्त कार्यक्रम अनुसार विद्यमान वजारको अवस्था तथा आकार, दलाल व्यवसायीले वहन गर्ने जिम्मेवारी तथा लिने जोखिम स्थानीय स्तरका व्यवसायी हुँदा उक्त व्यवसाय प्रतिको अपनत्वको साथै स्थानीय पूँजी परिचालन भई स्थानीय स्तरमा समेत धितोपत्र बजारको दायरा फराकिलो बनाउने उद्देश्य अनुरुप नयाँ ब्रोकर कम्पनीलाई लाईसेन्स दिन लागिएको हो ।

धितोपत्र व्यवसायीले धितोपत्र व्यवसाय गर्नका लागि धितोपत्र व्यवसायी (धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माता) नियमावली, २०६४ अनुसार धितोपत्र बजारको सिफारिश सहित काम अघि बढाउन नेप्सेलाई निर्देशन दिएको हो ।

काठमाडौं उपत्यका बाहिर नयाँ दलाल कम्पनी विस्तार भएसँगै स्थानीय स्तरमा रोजगारीको स्तर बृद्धि हुने तथा धितोपत्रको दोस्रो बजार कारोवार सुविधा समेत देशव्यापीरुपमा विस्तार भई समग्र पूँजी बजारको दायरा फराकिलो हुने बोर्डको विश्वास रहेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL