Logo

आठ कम्पनीले पौने ४ अर्बको हकप्रद सेयर बेच्दै, सुगर मिलदेखि लघुवित्तले दिए धितोपत्र बोर्डमा आवेदन

आठ कम्पनीले पौने ४ अर्बको हकप्रद सेयर बेच्दै, सुगर मिलदेखि लघुवित्तले दिए धितोपत्र बोर्डमा आवेदन


रासस
0
Shares

काठमाडौं । विभिन्न ८ कम्पनीले करिव ४ अर्ब बराबरको हकप्रद सेयर बेच्ने भएका छन । नेपाल धितोपत्र बोर्डका अनुसार विभिन्न कम्पनीहरुले ३ अर्ब ८३ करोड २ लाख ७४ हजार ४ सय ५० बराबरको ३ करोड ८३ लाख २ हजार ७ सय ४४ कित्ता हकप्रद सेयर बिक्री अनुमतिका लागि आवेदन दिएका हुन ।
आवश्यक प्रक्रिया पूरा गरेपछि ती कम्पनीलाई हकप्रद सेयर बिक्री गर्न स्वीकृति दिइने बोर्डले जानकारी दिएको छ । बोर्डमा आवेदन दिएका कम्पनीमध्ये श्रीराम सुगर मिलले ८९ करोड ३ लाख ९४ हजार ९ सय ८१ मूल्य बराबरको ८९ लाख ३ हजार ९ सय ४९ कित्ता हकप्रद सेयर बिक्री गर्ने तयारी गरेको छ । उत्पादन क्षेत्रको सो कम्पनीले हकप्रद सेयर बिक्री गर्न सिद्धार्थ क्यापिटललाई बिक्री प्रबन्धक तोकेको छ ।

मिथिला लघुवित्त वित्तीय संस्थाले ३ करोड ९८ लाख ८ हजार ९ सय ६९ मूल्य बराबरको ३ लाख २९ हजार ८ सय ८९ कित्ता हकप्रद सेयर बिक्री गर्न काठमाडौँ क्यापिटललाई बिक्री प्रबन्धकसमेत तोकिसकेको छ । माइक्रोफाइनान्स समूहको सो कम्पनीले २ बराबर १ कित्ताका दरले हकप्रद सेयर बिक्री गर्न लागेको हो ।

त्यस्तै बरुण जलविद्युत् कम्पनीले १ बराबर १ कित्ता हकप्रद सेयर दिने प्रस्ताव गर्दै स्वीकृतिका लागि बोर्डमा आवेदन दिएको छ । सो कम्पनीले २५ करोड ५१ लाख १५ हजार मूल्य बराबरको २५ लाख ५१ हजार ५ सय कित्ता सेयर बिक्री गर्ने जनाएको छ । कम्पनीले एनआइबिएल एस क्यापिटललाई बिक्री प्रबन्धक तोकेको छ ।

नाडेप लघुवित्त वित्तीय संस्थाले पनि १ बराबर १ कित्ता हकप्रद सेयर दिने प्रस्ताव गर्दै स्वीकृतिका लागि बोर्डमा आवेदन दिएको छ । सो संस्थाले १६ करोड मूल्य बराबरको १६ लाख कित्ता हकप्रद सेयर बिक्री गर्न नविल इन्भेस्टमेन्ट बैङ्किङ लिमिटेडलाई बिक्री प्रबन्धक तोकेको छ ।

वित्त समूहको सिर्जना फाइनान्सले १० बराबर ६ कित्ता हकप्रद सेयर बिक्रीको तयारी गरेको छ । सो कम्पनीले २४ करोड ४ लाख ८ हजार मूल्य बराबरको २४ लाख ४ हजार ८० कित्ता हकप्रद सेयर बिक्री गर्नेछ । त्यसका लागि सनराइज क्यापिटल बिक्री प्रबन्धक रहेको छ । बीमा कम्पनीतर्फ एभरेष्ट इन्स्योरेन्स कम्पनीले पनि १ बराबर एक कित्ता सेयर दिनेगरी स्वीकृतिका लागि बोर्डमा आवेदन दिएको छ ।

सो कम्पनीले १४ करोड ३ लाख ३२ हजार ५ सय मूल्य बराबरको १४ लाख ३ हजार ३ सय २५ कित्ता हकप्रद सेयर बिक्री गर्ने लक्ष्यसहित सिद्धार्थ क्यापिटललाई बिक्री प्रबन्धक तोकेको छ । जलविद्युत् कम्पनीतर्फ अपि पावर कम्पनीले पनि लामो समयदेखि १ बराबर २ कित्ता हकप्रद सेयर बिक्री गर्ने तयारी गर्दै आएको छ । सो कम्पनीले २ अर्ब १० करोड मूल्य बराबरको २ करोड १० लाख कित्ता हकप्रद सेयर बिक्री गर्ने गरी सिद्धार्थ क्यापिटललाई बिक्री प्रबन्धक तोकेको छ । तर अपि पावरले हालसम्म कुनै पनि कागजात बोर्डमा भने बुझाएको छैन ।

माइक्रोफाइनान्स समूहको उन्नति माइक्रोफाइनान्स कम्पनीले ५ बराबर १ कित्ता हकप्रद सेयर बिक्रीको अनुमति माग्दै बोर्डमा आवेदन दिएको छ । १ करोड १० लाख मूल्य बराबरको एक लाख १० हजार कित्ता हकप्रद सेयर बिक्रीका लागि सिद्धार्थ क्यापिटललाई नै बिक्री प्रबन्धक तोकेको छ ।

यस्तै बोर्डले विभिन्न ३ कम्पनीका १६ करोड ९० लाख २५ हजार मूल्य बराबरको १६ लाख ९० हजार २ सय ५० कित्ता हकप्रद सेयर बिक्री गर्न स्वीकृति दिएको छ । चालू आर्थिक वर्षको हालसम्म उक्त अनुमति पाउनेमा स्वदेशी लघुवित्त वित्तीय संस्था, माहुली सामुदायिक लघुवित्त वित्तीय संस्था, किसान माइक्रोफाइनान्स वित्तीय संस्था रहेका छन् ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL