Logo

एकदिन पनि टिकेन नेप्सेको वृद्धि, प्रभु र कुमारीले बढाए कारोबार

एकदिन पनि टिकेन नेप्सेको वृद्धि, प्रभु र कुमारीले बढाए कारोबार



काठमाडौं । लगातार ओरालो लागेर बुधबार बढेको नेप्से परिसुचक पुनः घट्न पुगेको छ । बुधबार बजार बढेपनि सो वृद्धि एक दिन पनि टिक्न सकेन ।

बुधबार साढे ७ अंकले बढेको बजार बिहीबार करिब दोहोरो अंकले घट्न पुगेको छ । बिहीबार बजार खुलेदेखि नै ओरालो लागेको बजारमा अन्तमा ९ दशमलव ११ अंकले ओरालो लागेको छ ।

बजारमा उत्पादनमुलक बाहेक सबै समुहका परिसुचक ओरालो लागेका छन् । जसमा सबैभन्दा बढी निर्जीवन बीमा समुहको परिसुचक ४२ अंकले घट्दा होटल समुहको परिसुचकमा पनि ३७ अंकको गिरावट आएको छ ।

यसैगरी नेप्से परिसुचकमा सबैभन्दा बढी प्रभाव रहेको बैंकिङ समुहको परिसुचक पनि ९ दशमलव ९८ अंकले घट्न पुगेको छ । तर, घट्दो बजारमा उत्पादनमुलक समुहको परिसुक भने ४९ अंकले उकालो लागेको छ ।

बिहीबार नेप्से परिसुचक घटेपनि कारोबार रकम भने बढ्न पुगेको छ । बुधबार २३ करोड रुपैयाँको सेयर कारोबार भएकोमा बिहीबार २७ करोड ७१ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ । जसमा १ सय ५६ कम्पनीको ९ लाख ४८ हजार कित्ता सेयर कारोबार भएको छ ।

पछिल्लो समय सबैभन्दा बढी सेयर कारोबार हुने कम्पनीको सूचीमा प्रभु बैंक रहेको छ । बिहीबार पनि प्रभु बैंकको सबैभन्दा बढी ३ करोड ६३ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ । यसैगरी बजारमा कुमारी बैंकको पनि ६ करोड ६२ लाख र एनआईसी एसिया बैंकको १ करोड १४ लाख रुपैयाँको सेयर खरिदबिक्री भए । तर अन्य कम्पनीको कारोबार भने १ करोड रुपैयाँ पुग्न सकेन ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL