Logo

भृकुटीमण्डपमा सवारीसाधनको कुम्भमेला सुरु, अर्थमन्त्रीले भने, ‘ऋण लिएर गाडी नकिन्नु’

भृकुटीमण्डपमा सवारीसाधनको कुम्भमेला सुरु, अर्थमन्त्रीले भने, ‘ऋण लिएर गाडी नकिन्नु’



काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले ऋण लिएर गाडी नकिन्न आग्रह गरेका छन् । पछिल्लो समय नेपाली समाज भड्किलो हुँदै गएको बताउँदै ऋण लिएर गाडी खरिद नगर्न आग्रह गरेका हुन् । ‘ऋणमा आधारिक उपभोगले देशको आर्थिक विकास हुन सक्दैन,’ १३ औं नाडा अटो शोको उदघाटन गर्दै अर्थमन्त्री खतिवडाले भने, ‘आम्दानी बढाउनुस अनि मात्र गाडी खरिद गर्नुस ।’ बैंकबाट कर्जा लिएर गाडी चढ्नु फाइदा नहुने उनको तर्क थियो ।

कार्यक्रममा अर्थमन्त्री खतिवडाले देशको आवश्यकता अनुरुपमा सवारीसाधनमा लाग्दै आएको कर बढाइएको बताए । ‘नेपालमा जतिमात्रमा गाडी भित्रन्छ त्यहि अनुरुप सडक विस्तार गर्नुपर्यो,’ उनले भने, ‘त्यहि सडक विस्तारका लागि सरकारले सवारीसाधनमा कर बढाएको हो ।’
अर्थमन्त्री खतिवडाले व्यवसायीहरुको माग अनुरुप भन्सार शुल्क घटाएर सवारीसाधनको स्पेयरपार्टको चोरी पैठारी नरोकिने बताए । ‘हामीले शुन्य भन्सारमै झारेपनि चोरी पैठारी रोकिँदैन,’ उनले भने, ‘तसर्थ सरकारले बढी भन्सार लगाउँदा चोरी पैठारी बढ्यो भन्नु गलत हो ।’

कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष भवानी राणाले देशले अर्थतन्त्र बुझेको अर्थमन्त्री पाएको बताउँदै अब जनअपेक्षा अनुरुप काम हुनुपर्ने बताईन । यसैगरी देशमा विद्युतीय सवारीसाधन संचालनका लागि सरकारले सोही अनुरुप सहुलियत उपलब्ध गराउने पर्ने समेत उनको माग थियो ।

कार्यक्रममा नाडा अटो मोवाइल एसोसिएसनका अध्यक्ष शम्भुप्रसाद दाहालले सरकारले सरकारले सवारीसाधनमा कर बढाउँदा समग्र व्यवसायमै गिरावट आएको बताए । साथै सरकारले सवारीसाधनलाई विलासिताको सुचीमा राखेर कर बढउनु दुखद भएको समेत उनको भनाई थियो ।

आजदेखि सुरु भएको नाडा अटो शोमा १९ वटा ब्राण्डका ४ पाङग्रे तथा २० वटा ब्राण्डका २ पाङग्रे सवारीसाधनहरू प्रदर्शनिमा राखिएका छन् । कुल ७१ कम्पनीहरूको सहभागिता रहेको सो मेलामा १ सय ३४ वटा स्टल रहेका छन् । मेला नाडा अटोमोवाइल्स एशोसिएसन अफ नेपाल र ग्लोवल एक्सपोजिसन एण्ड म्यानेजमेन्ट सर्भिसेजको संयुक्त आयोजनामा गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL