Logo

नेप्सेको गिरावट कायमै, एनएमबी बैंकले बढायो कारोबार

नेप्सेको गिरावट कायमै, एनएमबी बैंकले बढायो कारोबार



काठमाडौं । साताको अन्तिम दिन नेप्से परिसुचक ४ अंकले घट्न पुगेको छ । बिहीबार बजार खुलेदेखि नै ओरालो लागेको नेप्से परिसुचक ३ दशमलव ९२ अंकले घट्दै १ हजार १ सय ७८ अंकमा झरेर अडिएको छ ।

बिहीबार नेप्से परिसुचक घट्दा कारोबार रकम भने बढ्न पुगेको छ । एनएमबी बैंक र एनएलजी इन्स्योरेन्सको सेयर कारोबार बढी हुँदा कारोबार रकम बढ्न पुगेको हो । लामो समयपछि बजारमा एउटै कम्पनीको सेयर करिब ५ करोड रुपैयाँको कारोबार भएको छ ।

बजारमा एनएमबी बैंकको ४ करोड ९५ लाख रुपैयाँको सेयर खरिदबिक्री हुँदा एनएलजी इन्स्योरेन्सको ३ करोड १० लाख र जनता बैंकको १ करोड रुपैयाँको सेयर कारोबार भए । तर, अन्य कम्पनीको सेयर कारोबार भने १ करोड रुपैयाँभन्दा तल नै रहेको छ ।

बजारमा विकास बैंक र अतिरिक्त समुह बाहेक अन्य सबै समुहका परिसुचक ओरालो लागेका छन् । जसमा सबैभन्दा बढी उत्पादनमुलक समुहको परिसुचक ५४ अंकले घट्दा जीवन बीमा समुहको परिसुचक ३८ अंकले ओरालो लागेको छ ।

यसैगरी निर्जीवन बीमा समुहको परिसुचक २७ अंकले घट्दा बजारमा बढी प्रभाव रहेको बैंकिङ समुहको परिसुचकमा पनि ३ दशमलव ५३ अंकको गिरावट आएको छ ।

बिहीबार सेयर कारोबार रकम बढेर २७ करोड ७३ लाख रुपैयाँको खरिदबिक्री भएको छ । जसमा १ सय ५९ कम्पनीको १० लाख २० हजार कित्ता सेयर कारोबार भए ।

प्रतिक्रिया दिनुहोस्
MBL