Logo

वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको कार्यकारी निर्देशकमा राजन श्रेष्ठ, प्राथमिकतामा शीप विकास

वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको कार्यकारी निर्देशकमा राजन श्रेष्ठ, प्राथमिकतामा शीप विकास



काठमाडौं । सरकारले वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको कार्यकारी निर्देशकमा राजनप्रसाद श्रेष्ठलाई नियुक्त गरेको छ ।

लामो समयदेखि श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रायलमा रहेर नीति निर्माण तहमा काम गर्दै आएका श्रेष्ठलाई सरकारले बोर्डको कार्यकारी निर्देशकमा नियुक्त गरेको छ । विगत ३ महिना देखि खाली रहेको बोर्डको कार्यकारी निर्देशकमा श्रेष्ठलाई नियुक्त गरिएको हो ।

युएन वुमन, सामीलगायतका प्रोजेक्ट अन्तरगत रही वैदेशिक रोजगारी सम्बन्धी नीति निर्माणमा उल्लेख्य भुमिका निर्वाह गरेका श्रेष्ठ सो क्षेत्रको विज्ञको रुपमा परिचित छन् ।

श्रेष्ठकै संयोजकत्वमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगार सम्बन्धी ५ बर्षे रणनीति बनाएको थियो भने वैदेशिक रोजगार नीति निर्माणका पनि उनको उल्लेख्य भुमिका रहेको थियो ।

आगामी दिनमा वैदेशिक रोजगार क्षेत्रलाई सवल र उक्त ऐन नियम कार्यान्वयलाई प्रभावकारी बनाउने उद्देश्य अनुरुप बोर्डको कार्यकारी पद सम्हाल्न आइपुगेको श्रेष्ठ बताउँछन् ।

मुख्यतः तीन ओटा उद्देश्य लिएर बोर्डको नेतृत्व गर्न जान लागेको समेत उनले जानकारी दिए । देशको संघीय संरचना अनुरुप आगामी दिनमा बोर्डलाई पनि लैजान, वैदेशिक रोजगार सम्बन्धी अध्ययन अनुसन्धान र रिसर्च सेन्टरको रुपमा विकास गर्ने तथा शीप विकासलाई उच्च प्राथमिकता दिने उद्देश्य अनुरुप बोर्डको कार्यभार सम्हाल्न लागेको समेत उनले जानकारी दिए ।

समाजशास्त्रमा एमफिल गरेका श्रेष्ठले व्यवस्थापनमा एमवीए गरेका छन् । समाजशास्त्र र व्यवस्थापन सम्बन्धी राम्रो ज्ञान भएका श्रेष्ठले श्रम मन्त्रालय अन्तरगत रहेर वैदेशिक रोजगारको क्षेत्रमा ८ बर्षभन्दा बढि समय काम गरेको अनुभव छ ।

‘सम्भवत भोली देखि नै बोर्डको जिम्मेवारी सम्हाल्ने छु,’ उनले भने, ‘म त्यहा जागिर खान होइन वैदेशिक रोजगार प्रवद्र्धन र सुधारका काम गर्न गएको हुँ ।’ सोही अनुरुप आगामी दिनमा वैदेशिक रोजगारीमा जाने कामदारलाई क्षेत्रगत तालिम दिएर मात्र पठाईने समेत उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL