Logo

नेप्सेमा सरकारी र अदालती सीईओबीच भिडन्त, सरकारी कब्जामा हाजिरकापी

नेप्सेमा सरकारी र अदालती सीईओबीच भिडन्त, सरकारी कब्जामा हाजिरकापी



काठमाडौं । नेपाल स्टक एक्स्चेञ्जमा सरकारले नियुक्त गरेको र अदालतले पुनर्बहाली गरेको प्रमुख कार्यकारी अघिकृत (सीईओ) बीच भिडन्त सुरु भएको छ ।

केही समय अघि केपी शर्मा ओली नेतृत्वको सरकारले तत्कालिन शेरबहादुर देउवा नेतृत्व सरकारले निर्वाचन आचारसंहिता लागू भएपश्चात नियुक्त गरेका सबै सरकारी नियुक्ती खारेज गरेको छ । उक्त खारेजीसँगै नेप्सेका तत्कालिन सीईओ चन्द्रसिंह साउदलाई हटाएर अर्थ मन्त्रालयका उपसचिव रमेश अर्याललाई सीईओ बनाएर पठाएको थियो ।

साउद आफ्नो बर्खास्तीसँगै कानुनी उपचारको लागि अदालत गए । सर्वोच्च अदालतले सरकारको नाममा नेप्सेका तत्कालिन सीईओ साउदलाई तत्काल नहटाउन अन्तरकालिन आदेश जारी गर्यो । यससँगै साउद पुनः नेप्सेमा पदबहाली भएर गए ।

तर, अदालतले आदेश दिएर पुर्नबहाली गरेको अवस्थमा पनि उनले नेप्सेमा गएर हाजिर गर्न पाएनन् । नेप्सेका अध्यक्ष लक्ष्मण न्यौपाने र सीईओ अर्यालले उनलाई हाजिर गर्नमै रोक लगाएपछि साउद त्यतिकै फर्कन बाध्य भए ।

सरकारले तत्कालिन देउवा सरकारले निर्वाचन आचार संहिता विपरित नियुक्त गरेको भन्दै हटाएको अवस्थामा पनि कार्यालय पुगेर हाजिर गरेर फर्कदै गरेका साउद अहिले अदालतले अन्तरकालिन आदेश जारी गर्दै पुर्नबहाली गरेको अवस्थामा भने हारिज गर्न पाएका छैनन् । सरकारको आदेशमा नियुक्त भएका नेप्सेका सीईओ अर्यालले हाजिर कापी नै आफ्नो चेम्बरमा राख्ज थालेपछि साउदले कार्यालयमा पुगेका हाजिर समेत गर्न पाएका छैनन् ।

मंलबारसम्म कार्यालय पुगेर हाजिर गर्दै आएका साउदले बुधबारदेखि अर्यालले हाजिर कापी आफ्नो चेम्बरमा राख्न थालेपछि बिहीबारदेखि अफिस समेत जान छाडेका छन् । ‘साउद सरले मंगलबारसम्म अफिसमा आएर हाजिर गरेर केही बेर बस्दै फर्कने गर्नुभएको थियो,’ नेप्सेका एक अधिकारीले भने, ‘बुधबार हाजिर गर्न नदिएपछि बिहीबार भने अफिस नै आउनु भएन ।’

नेप्सेमा दुई सीईओको विवादका कारण कर्मचारीलाई समेत हाजिर गर्नमा समस्या पैदा भएको छ । अन्य समयमा बाहिरै रहने हाजिरकापी अहिले सरकारबाट नियुक्त सीईओ अर्यालले आफ्नै चेम्बरमा लगेर राखेपछि लाईन लागेर हाजिर गर्न बाध्य हुनु परेको एक कर्मचारीको गुनासो थियो । सरकारले नियुक्त गरेको र अदालती प्रक्रियाबाट पुर्नबहाली भएको सीईओबीचको लडाईको कारण नेप्सेका काम गर्ननै समस्या उत्पन्न भएको सम्बद्ध कर्मचारीहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL