Logo

धितोपत्र सूचीकरण तथा कारोबार सम्बन्धी नयाँ नियमावली, सेयर बाँडफाँड हुँने वित्तिकै कारोबार, नगदमा कारोबार बन्द

धितोपत्र सूचीकरण तथा कारोबार सम्बन्धी नयाँ नियमावली, सेयर बाँडफाँड हुँने वित्तिकै कारोबार, नगदमा कारोबार बन्द



काठमाडौं । धितोपत्र बोर्डले ‘धितोपत्र सूचीकरण तथा कारोवार नियमावली, २०७५’ जारी गरेको छ । बोर्डले नेपाल सरकारको स्वीकृतिमा साविकको धितोपत्र कारोबार नियमावली, २०५० लाई विस्थापन गरी आगामी श्रावण १ गते देखि लागू हुने गरी नयाँ नियमावली ल्याएको हो ।

नयाँ नियमावली अनुसार अबका दिनमा सार्वजनिक निष्काशन (आईपीओ) बाँडफाँड हुने वित्तिकै त्यस्ता सेयरलाई दोस्रो बजारमा कारोबार गर्न सकिने भएको छ । यस अघि धितोपत्रको सार्वजनिक निष्काशन भएको धितोपत्र बाँडफाँट भएको ३० दिन भित्र सूचीकरणका लागि निवेदन दिनुपर्ने व्यवस्थालाई परिमार्जन गर्दै अबका दिनमा विवरणपत्र स्वीकृत भएको बढिमा ७ दिनभित्र सूचीकरणका लागि निवेदन दिनुपर्ने व्यवस्था लागू गरिएको छ । जसले गर्दा आईपीओ बाँडफाँड हुने वित्तिकै त्यस्ता सेयर दास्रो बजारमा कारोबार गर्न सकिने बोर्डले जानकारी दिएको छ ।

यसैगरी नियमावलीले सुचिकृति संस्थाहरुको बर्गीकृतलाई पनि विस्तार गरेको छ । यस अघि ए र वि बर्ग गरी दुई समुहमा बर्गीकरण गरिएको सुचिकृत संस्थालाई अबका दिनमा ए, वि, जि र जेड गरी ४ समुहमा बर्गीकरण गरिने भएको छ । संगठित संस्थाको चुक्ता पूँजी, प्रतिफल, नियम परिपालना लगायतको स्थितिलाई हेरी ४ समुहमा बर्गीकरण गरिने भएको छ । जसले गर्दा सूचीकृत संगठित संस्थाको वर्ग अनुसार लगानीकर्ताले जोखिमको स्तर अनुमान गर्न सक्ने तथा धितोपत्र बजारलेसमेत सोही बमोजिम कारोबारलाई सहजीकरण गर्न सकिने बोर्डको विश्वास छ ।

धितोपत्रको सूचीकरणको स्वेच्छिक खारेजी गर्न सकिने नयाँ व्यवस्था गरिएको साथै स्वेच्छिक सूचीकरण खारेजीका लागि कम्तीमा ९० प्रतिशत सेयरधनीले सूचिकरणको स्वेच्छिक खारेजी निर्णयमा सहमति हुनु पर्नेेछ । साथै साधारण सभामा उपस्थित भई सूचीकरणको स्वेच्छिक खारेजीमा असहमति जनाएका सेयरधनीको सेयर उनीहरुले विक्री गर्न चाहेमा सङ्गठित संस्थाका सञ्चालकले खरिद गरी लिनु पर्ने व्यवस्था समेत गरिएको छ ।

यसैगरी नयाँ नियमावली अनुसार अबका दिनमा सेयर कारोबार गर्दा वा गराउँदा कारोबारमा संलग्न सबैले बैंकमार्फत मात्र रकम लेनदेन गर्नुपर्ने भएको छ । सेयर बजारमा हुने कारोबारलाई पारदर्शी बनाउन बोर्डले उक्त व्यवस्थालाई अनिवार्य रुपमा लागू गरिएको जानकारी दिएको छ ।

यसैगरी धितोपत्र कारोबारमा उतार चढाव हँुदा धितोपत्र बजारले आवश्यकता अनुसार कारोबारमा सर्किट ब्रेकर लगाउने व्यवस्थालाई साविकमा अभ्यासको रुपमा रहेकोमा नियमावलीमा व्यवस्था गरी कानूनी मान्यता प्रदान गरी आवश्यकतानुसार धितोपत्र वजारले परिवर्तन पनि गर्न सक्ने व्यवस्था गरिएको छ ।

यसैगरी धितोपत्र बजारले धितोपत्र कारोबारको राफसाफ सम्बन्धमा अनिवार्य रुपमा राफसाफ कोष खडा गर्नु पर्ने तथा त्यस्तो कोष संचालन गर्नुपर्ने व्यवस्था गरेको छ । साथै नियमित रुपमा राफसाफ हुन नसकेका कारोबारलाई राफसाफ कोषबाट राफसाफ कार्य सम्पन्न गराई सम्बन्धित व्यवसायीबाट राफसाफ बापतको रकममा ब्याज सहित भराई कोषमा दाखिला गराउनु पर्नेछ । राफसाफ कोषमा धितोपत्र बजार, धितोपत्रको राफसाफ सेवा प्रदान गर्ने संस्था र धितोपत्र दलालले प्रत्येक वर्ष खुद मुनाफाको पहिलो ५ वर्षसम्म शुन्य दशमलव ५ प्रतिशत र त्यस पछि प्रत्येक वर्ष शुन्य दशमलव २५ प्रतिशत रकम जम्मा गर्नु पर्ने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL