Logo

सेयर बजारमा दिनभर उतारचढाव, च्याखे थाप्दै लगानीकर्ता

सेयर बजारमा दिनभर उतारचढाव, च्याखे थाप्दै लगानीकर्ता



काठमाडौं । सोमबार सेयर बजारमा दिनभर उतारचढाव आएको छ । बजार खुलेको केही समय झण्डै दोहोरो अंकमा अंकमा ओरालो लागेको बजार लगत्तै २० अंकभन्दा माथी उचालिँदै दिनभर उतारचढाव हुन पुग्यो ।

सरकारले सेयर कारोबारमा ल्याएको कर सम्बन्धी नयाँ नियमसँगै अन्यौलमा परेका लगानीकर्तामाझ केही लगानीकर्ताले च्याखे थाप्ने प्रबृति मौलाएको एक लगानीकर्ताले जानकारी दिए । ‘अहिले बजारमा धेरै जसो लगानीकर्ता अबका दिनमा सरकारले सेयर बजारलाई कसरी सम्बोधन गर्ने भन्ने विषयमा अन्यौलमा छन्,’ ती लगानीकर्ताले भने, ‘तर, केही ठूला लगानीकर्ताले भने यही समयमा उच्च अंकको घटवढ गराउँदै साना लगानीकर्तालाई थप संकटमा पारेका छन् ।’

लगानीकर्ताको मनोवल खस्किएको अवस्थामा बजारमा उच्च अंकको चलखेलले बजार अझै धराशयी हुने सक्ने सम्बद्ध लगानीकर्ताहरु बताउँछन् । ‘अहिले सेयर बजारमा कम्पनीको पोर्टफोलियो र स्वविवेकमा लगानीगर्ने लगानीकर्ता भन्दा पनि बजारको ह्वीम अनुसार चल्ने बढि छन्,’ एक लगानीकर्ताले भने, ‘सोही अनुरुप बजारमा छिनछिनमा दोहोरो अंकको घटबढ भइरहेको छ ।’

सोमबार बजार खुलेको केही समयमा करिब दोहोरो अंकले घटेको नेप्से परिसुचक अन्तमा सोही अनुपातमा बढेर बन्द भएको छ । अघिल्लो दिन २५ अंकले घटेको नेप्से परिसुचकमा आज प्रायजसो समुहको परिसुचक उकालो लाग्दै ९ दशमलव ५५ अंकले बढ्न पुगेको छ ।

बजारमा सबैभन्दा बढि बीमा समुहको परिसुचक १ सय २ अंकले बढेको छ भने बजारमा बढि प्रभाव रहेको बैंकिङ् समुहको परिसुचक पनि ६ अंकले उकालो लागेको छ ।

सोमबार होटल समुहको परिसुचक ६० अंकले बढ्दा लघुवित्त २३, उत्पादनमुलक समुहको परिसुचक ७ अंकले बढ्न पुग्यो । तर, बजारमा व्यापार, विकास बैंक र फाइनान्स समुहको परिसुचक भने ओरालो लागेको छ ।

बजार बढ्दा कारोबार रकममा भने अघिल्लो दिनको तुलनामा सामान्य गिरावट आएको छ । दिनभर कुल ४३ करोड ६८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जसमा १ सय ७० कम्पनीको ११ लाख ७६ हजार कित्ता सेयर खरिदबिक्री भयो ।

बजारमा नविल बैंकको प्रमोटर सेयर ३ करोड ८५ लाख रुपैयाँको म्याचिङ् हुँदा अन्य कम्पनीको भने २ करोड रुपैयाँ पुग्न सकेन ।

प्रतिक्रिया दिनुहोस्
MBL