Logo

थिग्रदै सेयर बजार, सरकारले अतिरिक्त कर स्थगित गरेको भोलिपल्दै २६ अंकको गिरावट

थिग्रदै सेयर बजार, सरकारले अतिरिक्त कर स्थगित गरेको भोलिपल्दै २६ अंकको गिरावट



काठमाडौं । बजारमा सेयर बजार सम्बन्धी अनेक हल्ला फैलिरहेको बेला नेप्से परिसुचक पुनः घट्न सुरु गरेको छ । केही दिन अघिसम्म सरकारले बोनस र हकप्रद सेयरमा लगाएको पूँजीगत लाभकरको मारमा परेको सेयर बजार उक्त व्यवस्था स्थगित गरेपछि पछि लगातार ओरालो लागेको छ ।

सरकारले लगाएको अतिरिक्त करको भार स्थगित गरेसँगै बजारमा हरियाली छाउने आशा गरेपनि बजार भने ठिक त्यसको विपरित घट्न पुगेको छ । बजारमा लामो समयदेखि समस्याको रुपमा रहँदै आएको लागनी योग्य पूँजी (तरलता)को अभाव, बढ्दो बैंक व्याजदरलगायतका कारणले बजार घट्न पुगेको एक लगानीकर्ताले जानकारी दिए । ‘अहिले पनि बजारमा सेयरको फ्लो बढि छ भने खरिद गर्न चाहने लगानीकर्ताले सहज रुपमा कर्जा पाएका छैनन्,’ ती लगानीकर्ताले भने, ‘दैनिक रुपमा बढ्दो सप्लाई र माग संकुचन हुँदै गएकाले बजार घट्नुको विकल्प छैन ।’

बजारमा सबैभन्दा बढि हिस्सा बैंक वित्तीय संस्थाको रहेको र ती कम्पनीको वित्तीय विवरण हेर्दा आगामी दिनमा लगानीकर्तालाई राम्रो प्रतिफल दिन नसक्ने कारणले पनि बजार ओरालो लाग्न पुगेको अर्का लगानीकर्ता बताउँछन् । ‘यस अघि लगानीकर्ताले बोनस र हकप्रद सेयरको आशमा महङ्गो मूल्य तिरेर सेयर किनेका थिए,’ ती लगानीकर्ताले भने, ‘अब ति दुबै बाटो बन्द भयो नगद लाभांसले मात्र पूँजी बजारमा लगानीकर्ता आकर्षित हुन कठिन छ ।’

केही समयअघि २ हप्तामै २ सय अंकभन्दा बढिले उकालो लागेको १ हजार ४ सय अंकमाथी पुगेको नेप्से परिसुचक त्यसलगत्तै सोही अनुपातमा गिरावट आएको छ । पछिल्लो समय बजार आफ्नै चालमा थिग्रदै घिटरहेको समेत सम्बद्ध लगानीकर्ताहरु बताउँछन् ।

सोही अनुरुप साताको अन्तिम दिन आज बजार खुलेदेखि नै ओरालो लागेको नेप्से परिसुचक अन्तमा २५ दशमलव ६८ अंकले घट्न पुगेको छ । बजारमा सबै समुहको परिसुचकहरु ओरालो लागेको छन् । जसमा सबैभन्दा बढि बीमा समुहको परिसुचक १ सय ७४ अंकले घट्न पुगेको छ ।

यसैगरी बजारमा सबैभन्दा बढि प्रभाव रहेको बैंकिङ समुहको परिसुचकमा पनि २० अंकभन्दा बढिको गिरावट आएको छ । यस्तै विकास बैंक समुह २४ अंकले घट्दा लघुवित्त समुह २५, होटल ३९, जलविद्युत ३५ र उत्पादनमुलक समुहको परिसुचकमा १६ अंकको गिरावट आएको छ ।

बजारमा कुल ४६ करोड ८५ लाख रुपैयाँको सेयर कारोबार भएको छ । जसमा १ सय ६६ कम्पनीको १४ लाख ४१ हजार कित्ता सेयर खरिदबिक्री भए । बिहीबार मेगा बैंकको २ करोड रुपैयाँको सेयर कारोबार हुँदा अन्य कम्पनीको २ करोड रुपैयाँभन्दा तल नै रहेर सेयर खरिदबिक्री भए ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL