Logo

सेयर लगानीकर्ताको आन्दोलन जारी, आज दिनभर नै कारोबार ठप्प

सेयर लगानीकर्ताको आन्दोलन जारी, आज दिनभर नै कारोबार ठप्प



काठमाडौं । सरकारले सेयर कारोबारमा अबैधानिक रुपमा कर लगाएसँगै सेयर लगानीकर्ता सम्बन्धी संघसंस्थाले सुरु गरेको आन्दोलन आज पनि जारी छ ।

सोमबार अर्थ मन्त्रालयको प्रतिनिधीसँग भएको वार्ता विना निष्कर्ष टुङ्गिएपछि आन्दोलनलाई निरन्तरता दिईएको नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष अम्बिकाप्रसाद पौडेलले जानकारी दिए । ‘हामी लगानीकर्ताको समस्या र माग संबोधन गर्ने उद्देश्य अनुरुप सोमबार अर्थ मन्त्रालयमा वार्तामा गएका थियौं,’ उनले भने, ‘सरकारले सो विषयलाई कुनै सम्बोधन नगरेपछि आन्दोलनमा उत्रन बाध्य भएका हौं ।’

सेयर लगानीकर्ताले माग भन्दा पनि समस्या समाधानको लागि आन्दोलन गरेको भन्दै उक्त समस्या समाधान नभएसम्म आन्दोलन जारी राख्ने समेत उनले जानकारी दिए । ‘लगानीकर्ताहरु आफुले गरेको आम्दानीमा सरकारले निर्धारण गरेको कर तिर्न तयार छन्,’ उनले भने, ‘हानी नोक्सानी र घाटामा सेयर बेच्दा कसरी कर तिर्ने ।’

सरकारले अनावश्यक रुपमा करको भार थुपारेको भन्दै लगानीकर्ताले हिजोदेखि आन्दोलन सुरु गरेका छन् । विरोध स्वरुप सोमबार आधा घण्टा सेयर कारोबार ठप्प पारेका लगानीकर्ताले आज दिनभर नै कारोबार ठप्प पार्ने घोषणा गरेको समेत पौडेलले जानकारी दिए । ‘हामीले हिजो बेलुका नै संयुक्त रुपमा निर्णय गर्दै आज दिनभर नै सेयर कारोबार नगर्ने घोषणा गरेका छौं,’ उनले भने, ‘सोही अनुरुप सबै ब्रोकर कम्पनीलाई कारोबार नगर्न अनुरोध गरेका छौं भने उनीहरुले पनि हाम्रो आन्दोलनलाई समर्थन गरेका छन् ।’ सोही अनुरुप लगानीकर्ताले आज पनि नेपाल स्टक एक्स्चेञ्जको कार्यालय अगाडि जम्मा भएर विरोध गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL