Logo

सेयर लगानीकर्ताको बिजोक, कमाएको रकम जति कर र कमिशनमा, यसरी थपियो अतिरिक्त कर

सेयर लगानीकर्ताको बिजोक, कमाएको रकम जति कर र कमिशनमा, यसरी थपियो अतिरिक्त कर



काठमाडौं । सरकारले हकप्रद र बोनस सेयर पछिको कारोबारमा थप करको भार थुपारेको छ । यस अघि बोनस र हकप्रदको मूल्य समायोजन भएसँगै त्यस्ता सेयर बिक्रीमा नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)ले औषत आधार मूल्य तय गर्दथ्यो र सोही आधारमा पूँजीगत लाभ कर निर्धारण गरिन्थ्यो । जसमा अहिलेको बजारमा मूल्यमा औषत आधार दर घटाउँदा ऋणात्मक हुँदा कुनै पनि कर नपर्ने र धनात्मक भए त्यसको नाफाको ५ प्रतिशत मात्र तिर्न पर्दथ्यो । तर, अबका दिनमा औषत आधार मूल्यलाई हटाएर प्राथमिक सेयर जारी गर्दाको मूल्यलाई कायम गरिएको छ ।

उदाहरणका लागि नेप्सेको मौजुदा नियम अनुसार बोनस र हकप्रद सेयरमा कर निर्धारण गर्नको लागि नेप्सेले दिने औषत आधार मूल्य स्ट्यान्डण्र्ड चाटर्ड बैंकको सेयर १ हजार ६ सय २२ रुपैया सम्ममा बिक्री गर्दा कुनै पनि लाभ कर तिर्न नपर्नेमा अबका दिनमा १ सय रुपैयाँभन्दा माथि बिक्री गर्दा लाभ कर तिर्नुपर्ने हुन्छ । यस अघि सो बैंकको सेयर १ हजार ६ सय २२ रुपैयाँमा बिक्री गर्दा शुन्य कर तिर्दै आएका लगानीकर्ताले अबका दिनमा सोही मूल्यमा बिक्री गर्दा प्रतिकित्ता १ सय १४ रुपैयाँ कर तिर्नुपर्ने हून्छ ।

नयाँ व्यवस्था अनुसार बाणिज्य बैंकहरुको सेयर बिक्री गर्दा लाग्ने अतिरिक्त कर
नयाँ व्यवस्था अनुसार बाणिज्य बैंकहरुको सेयर बिक्री गर्दा लाग्ने अतिरिक्त कर

नयाँ व्यवस्था अनुसार हकप्रद र बोनस पछि सेयर बिक्री गर्दा लगानीकर्ताले मौजुदा व्यवस्थाभन्दा बाहेक ५ देखि ७ प्रतिशतसम्म अतिरिक्त कर तिर्नुपर्ने छ । हालै मात्र सरकारले सेयर कारोकार बढाएको पूँजीगत लाभ कर र दक्षिण एसियाकै सबैभन्दा बढि ब्रोकर कमिसनले गर्दा अबका दिनमा सेयर लगानीकर्ताले प्रतिफल पाउनलाई कठिन पर्ने एक लगानीकर्ताले जानकारी दिए । ‘अहिले सरकारले सेयर कारोबारमा लाग्दै आएको पूँजीगत लाभकरलाई ५ प्रतिशतबाट बृद्धि गर्दै साढे ७ प्रतिशत बढाएको छ, यो नै मौजुदा व्यवस्थाको तुलनामा ५० प्रतिशत बढि हुन आउँछ,’ ती लगानीकर्ताले भने, ‘बोनस र हकप्रदको आशामा बस्ने लगानीकर्तालाई पनि थप ५ देखि ७ प्रतिशतसम्म अतिरिक्त करको भार थुपारेपछि लगानीकर्ता कसरी उस्किन सक्छन् ।’

तर, सरकारले ल्याएको आगामी आर्थिक बर्षको बजेटले मौजुदा व्यवस्था खारेज गर्दै कर लाग्ने नयाँ व्यवस्था कार्यान्वयनमा ल्याएको हो । अबका दिनमा सेयर खरिदबिक्री गर्दा आधार मूल्य प्राथमिक सेयर जारी गर्दाको १ सय रुपैयाँलाई मानिनेछ । जसले गर्दा अबका दिनमा लगानीकर्ताले सेयर बिक्री गर्दा उच्च कर तिर्नुपर्ने हुन्छ ।

नयाँ व्यवस्था अनुसार लगानीकर्ताले बाणिज्य बैंकहरुको सेयर बिक्री गर्दा प्रतिकित्ता न्युनतम ५ रपैयाँदेखि अधिकतम १ सय १५ रुपैयाँसम्म कर तिर्नुपर्ने हुन्छ । अहिलेको तथ्याङ्कलाई आधार मान्ने हो भने लगानीकर्ताले सबैभन्दा कम सिभिल बैंकको प्रति कित्ता ४ रुपैयाँ ९५ पैसा कर तिर्नुपर्ने हुन्छ भने सबैभन्दा बढि स्टा्ण्डर्ड चाटर्ड बैंकको १ सय १४ रुपैयाँ कर तिर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्
MBL