Logo

नेप्सेका महाप्रबन्धक साउदले भने, फाइवरमा समस्या आयो बनाउन समय लाग्छ

नेप्सेका महाप्रबन्धक साउदले भने, फाइवरमा समस्या आयो बनाउन समय लाग्छ



काठमाडौं । बिहानदेखि बन्द भएको नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)को वेवसाईट अहिलेसम्म संचालनमा आउन सकेको छैन । नेप्सेको कनेक्सन रहेको सिंहदरवार स्थित फाइवरमा समस्या आएपछि वेवसाईट संचालनमा ल्याउन नसकिएको नेप्सेका महाप्रवन्धक चन्द्रसिंह साउदले जानकारी दिए । ‘हामीलाई प्राविधिक टोलीले केही समय अघि नै आधा घण्टाभित्र बन्छ भनेका थिए,’ उनले भने, ‘तर, अहिलेसम्म संचालनमा आउने सकेको छैन ।’

प्राविधिक विषय भएकाले कुन बेला संचालनमा आउन सक्न भन्ने नै भन्न नसकिने उनले जानकारी दिए । विशेषगरी वल्र्डलिंकको नेटमा समस्या आउँदा नेप्सेको वेव सर्भर नै डाउन हुन पुगेको उनको तर्क छ ।

अब नेप्सेले नयाँ अनलाईन ट्रेडिङ ल्याउन लागेकाले लगानीकर्ताले केही समस्या भोग्नुपरेको समेत उनको तर्क थियो । ‘नयाँ प्रविधि ल्याउन भनेर पुरानो प्रविधिलाई अपग्रेड गरिएन,’ उनले भने, ‘जसले गर्दा वेलावेलामा धोका पाइयो ।’ पौने १ बजेसम्म वेवसाईट चलेको छैन ।

हाल लगानीकर्ताले नेप्सेको वेवसाईटमार्फत मार्केट डेप्थ हेर्न नपाएपनि ब्रोकर अफिसबाट भने सेयर कारोबार भइरहेको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL