Logo

नेप्सेमा ३१ अंकको पहिरो, ठूला लगानीकर्ता र म्युचुअल फण्ड बाहिरिँदै

नेप्सेमा ३१ अंकको पहिरो, ठूला लगानीकर्ता र म्युचुअल फण्ड बाहिरिँदै


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । गतहप्ता अन्तिम समयमा आएर उकालो लागेको नेप्से परिसुचकमा आइतबार उच्च गिरावट भएका छ । बजार खुलेदेखि नै ओरालो लागेको नेप्सेमा अन्तमा ३१ अंकको गिरावट आयो ।

गतहप्ता लगानीकर्ताहरुले अबका केही दिन बजार बढ्ने आशा गरेपनि ठूला लगानीकर्ता र म्युचुअल फण्ड बाहिरिन थालेपछि बजारमा उच्च गिरावट आएको हो । ‘ठूला लगानीकर्ता र म्युचुअल फण्डले केही समययता सेयर खरिद गर्न छाडेका थिए,’ एक लगानीकर्ताले भने, ‘अहिले त उनीहरुले आफुसँग भएको सेयर पनि बिक्री गर्दै बाहिरिन थालेका छन् ।’

तत्काल बजारमा तरलता सहज नहुने र बैंक ब्याजदर पनि उच्च भएका कारण ठूला लगानीकर्ताहरु सुरक्षित अबतरण गर्न थालेका सम्बद्ध लगानीकर्ताहरु बताउँछन् । अहिले बजार थेगिनुका ठूला लगानीकर्ता र म्युचुअल फण्डकोभन्दा पनि साना लगानीकर्ताहरुको बढी हाल भएको समेत ती लगानीकर्ताको तर्क थियो । पछिल्लो केही दिनयता बजारमा दैनिकजसो उतरचढाव हुँदै आएको छ ।

सोही अनुरुप आइतबार पनि बजारमा सबै समुहका परिसुचक ओरालो लागेका छन् । जसमध्ये सबैभन्दा बढी बीमा समुहको परिसुचक ओरालो लागेको छ । बीमा समुहको परिसुचक २ सय ४३ अंकले घट्द बजारमा बढी प्रभाव रहेको बैंकिङ समुहको परिसचुक पनि २३ अंकले घटेको छ । यसैगरी, विकास बैंक, माइक्रो फाइनान्स, जलविद्युत, होटल लगायतका परिसुचकमा पनि उच्च गिरावट आएको छ ।

बजारमा परिसुचकका साथै कारोबार रकममा पनि गिरावट आएको छ । केही समय अघि कारोबार रकम बढ्दै दैनिक ६० करोड रुपैयाँ पुगेकोमा अहिले खुम्चिएर ३२ करोड रुपैयाँमा सिमित भएको छ । दिनभर कुल १ सय ६० कम्पनीको ७ लाख ६३ हजार कित्ता सेयर कारोबार भएको छ ।

आइतबार नेपाल लाईफ इन्स्योरेन्स, एनआईसी एसिया बैंक, नबिल बैंकको लगायतको सेयर कारोबार अन्य कम्पनीको तुलनामा बढी थियो । शुक्रबार मात्रै नेपाल बैंकर्स संघले अन्तर बैंक कारोबार नगर्ने निर्णय गरेको एनआईसी एसिया बैंकको आज सेयर मूल्य प्रतिकित्ता १२ रुपैयाँले घटेको छ । तर, बैंकको सेयर मूल्य घटेपनि बजारमा खरिदकर्ताको चाप भने उच्च रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL