Logo

१८ अंकले घट्यो नेप्से, किन बढ्दै छ बिक्री चाप ?

१८ अंकले घट्यो नेप्से, किन बढ्दै छ बिक्री चाप ?


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । धेरैजसो लगानीकर्ताले नयाँ सरकार गठनसँगै नेप्से परिसुचक बढ्ने अनुमान लगाएपनि ठिक त्यसको विपरित ओरालो लागेको छ । बाम नेतृत्वको सरकारले पूँजी बजारलाई प्राथमिकता दिने र जसका कारण बजार बढ्ने अनुमान लगानीकर्ताहरुको थियो । तर, सरकार गठनसँगै बजार दैनिकजसो ओरालो लागेको छ ।

सरकारले अर्थमन्त्रीमा डा. युवराज खतिवडालाई नियुक्त गर्ने हल्ला चलेसँगै शसंकित बन्न पुगेको बजार त्यसयता झन् ओरालो लागेको छ । मंगलबार नेप्से परिसुचक सामान्य बढेपनि बुधबार उच्च रुपमा घट्न पुग्यो ।

डा. खतिवडा अर्थमन्त्री नियुक्त भएकै दिन पनि बजार अन्तिम समयमा आएर उच्च रुपमा घटेको थियो । त्यसको भोलीपल्ट अर्थात मंगलबार सामान्य बढेपनि बुधबार सोही अनुरुप घटेको छ ।

अर्थमन्त्री खतिवडा नियुक्त भएसँगै बजारमा बिक्री चाप बढेको छ । यस अघि दैनिक ३०÷३५ करोड रुपैयाँको हाराहारीमा कारोबार हुँदै आएकोमा खतिवडा अर्थमन्त्री भएसँगै ५० करोड रुपैयाँभन्दा बढीको खरिदबिक्री हुँदै आएको छ ।

खतिवडाले पूँजीबजारमा शुद्धिकरणका लागि उचित कदम चाल्ने डरले पनि बजारमा कतिपय लगानीकर्ताले सस्तोमा भएपनि सेयर बेच्न थालेका एक लगानीकर्ताले बताए । विशेषगरी केही ठूला लगानीकर्ता र पछिल्लो समय सेयर बजारमा प्रबेश गरेका मारवाडीहरुले सेयर बेच्न थालेका ती लगानीकर्ताले जानकारी दिए ।

यसअघि नेपाल धितोपत्र बोर्डले पनि सेयर बजारमा स्रोत नखुलेको रकम (कालोधन) भित्रिएको, एउटै व्यक्तिले विभिन्न नाममा गैरकानुनी रुपमा कारोबार गरेको भन्दै छानविन गरेको थियो । सोही क्रममा पनि बोर्डले गैरकानी रुपमा कारोबार भएको भन्दै कारबाही प्रक्रिया अघि बढाएको थियो । अर्थमन्त्रीमा डा. खतिवडा नियुक्त भएसँगै त्यसलाई अझ सुक्ष्म रुपमा अध्ययन गर्ने भन्दै केही लगानीकर्ताले डराएर सेयर बिक्री गर्न थालेको सम्बद्ध लगानीकर्ताहरु बताउँछन् ।

सोहीअनुरुप बुधबार १८ अंकलेभन्दा बढीले घट्दै सबै समुहका परिसुचक ओरालो लगेका छन् । जसमध्ये सबैभन्दा बढी बीमा समुहको परिसुचक १ सय ५१ अंकले घटेको छ भने बजारमा प्रभाव रहेको बैकिङ समुहको परिसुचक पनि १४ अंकभन्दा बढीले ओरालो लागेको छ । यसैगरी, विकास बैंक, माइक्रोफाईनान्स, र होटल समुहका परिसुचक पनि सोही अनुरुप घटेका छन् ।

बजारमा दिनभर कुल २४ करोड ३४ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ । जसमा १ सय ६० कम्पनीको १३ लाख ३७ हजार कित्ता सेयर कारोबार भएको छ । जसमा प्रभु बैंकको सबैभन्दा ६ करोड रुपैयाँको सेयर खरिदबिक्री भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL