Logo

तराई डुवानको असर, महंगियो भान्छा

तराई डुवानको असर, महंगियो भान्छा


रक्षा रेग्मी
0
Shares

काठमाडौं । रेडन क्याम्पसमा अध्ययनरत प्रशान्त अर्याललाई गुन्द्रुकको झोलसँग भात खान साह्रै मन पर्छ । आमाले तिहारमा घर जाँदा छोराले जाडोमा खाला भनेर अलिकति गुन्द्रुक र मस्यौरा पठाइदिएकी थिइन् ।

अहिले त्यो गुन्द्रुक र मस्यौराको झोलसँग भात खानु उनको इच्छा भन्दा पनि बाध्यता बनेको छ । बजारमा तरकारीको भाउ उच्च रुपमा बढेसँगै गुन्द्रुकको झोल उनको बाध्यता बनेको हो । ‘पहिला कहिले काँही मात्र खाँदा मन पथ्र्यो अहिले त बिहान बेलुका त्यही तरकारी खाँदा खाँदा दिक्क भइसके,’ उनले भने ।

त्यस्तै बोराटार निबासी मन्दिरा खनाल गृहणी हुन् । श्रीमान र छोराछोरीलाई प्राय रोटी तरकारी खाजा पठाउने उनी अहिले श्रीमानलाई अफिसमै खाजा खानु भन्छिन् । र छोराछोरीलाई पनि फास्टफुड टिफिनमा राखेर स्कुल पठाउँछिन् । सकेसम्म ड्राइफुडबाट टाढै रहने उनको जीवनशैलीलाई नै परिवर्तन गरिदिएको छ महंंगीले । ‘१ सय ५० रुपैयाँ भन्दा कममा त तरकारी आउन छोड्यो,’ उनले भनिन्, ‘बिहान बेलुका खान पनि समस्या हुन थालेको छ ।’

बालाजु बस्ने सरोज रिमाल पनि तरकारीको महंगीको भाउले समस्यामा पारेको बताउँछन् । मन्दिरा प्रशान्त र सरोज त प्रतिनिधि पात्र मात्र हुन् । अहिले काठमाडौं तथा देशका अन्य शहरमा रहेका सबैको पीडा त्यही हो । तिहारपछी विशेषगरी काठमाडौंं उपत्यका भित्रको तरकारीको भाउ आकासिको छ । तरकारीको भाउ प्रतिकेजी १ सय रुपैयाँसम्म बढेको हो । केही समय अघि तराईमा आएको अबिरल बर्षा तथा उत्पादन कम भएकै कारण तरकारीको भाउ बढेको सम्बन्धित व्यवसायीहरु बताउँछन् । ‘यस बर्ष नेपालमा तरकारीको उत्पादन कम भयो,’ बल्खु तरकारी बजारका एसिस्टेन्ट अकाउन्टेट रेशम तामाङ भन्छन्, ‘त्यसले गर्दा भाउ बढेको हो ।’ त्यस्तै भारतबाट आउने तरकारी पनि कम हुदाँ तरकारीको भाउ आकाशिएको उनले बताए । उनका अनुसार यस बर्ष भारतमा पनि तरकारीको उत्पादन कम भएको छ ।

विशेषगरी करेला, मटरकोसा, प्याज, ब्रोकाउली, च्याउ गोलभेडा, काउली, बकुल्लालगायतको भाउमा अत्याधिक बृद्धि भएको छ । त्यस्तै बन्दा, घिउसिमी, परवल, हरियो फर्सी, बरेला, प्याज, धनियाको मूल्य पनि बढेको छ ।

कालिमाटी फलफूल तथा तरकारी बजार बिकास समितिका अनुसार वर्षाले तरकारीका बिरुवाहरु नष्ट भएको र उत्पादन राम्रो हुन नसेकाले मूल्य बढेको छ । शनिबार कालिमाटी फलफूल तथा तरकारी बजारको मूल्यसुची अनुसार गोलभेडा, बोडी, ब्रोकाउली, करेलाको भाउ १ सय रुपैयाँ भन्दा बढी छ ।

त्यसो त अन्य खुद्रा पसलमा तरकारी बजारको तुलनामा शतप्रतिशतसम्म महंगो पर्ने गरेको पाइएको छ । विस्तारै भारतबाट तरकारी आयात बढेकोले भाउ केही घट्ने व्यवसायीहरुले जानकारी दिए । उनीहरुका अनुसार अवको एक साताभित्र तरकारीको भाउ अहिलेको तुलनामा ओरालो लाग्ने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL