Logo

भुकम्प पीडित ट्याक्सीमा बढ्यो दलाली, किनेकै दिन बिक्री !

भुकम्प पीडित ट्याक्सीमा बढ्यो दलाली, किनेकै दिन बिक्री !


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । सरकारले भुकम्प पीडितलाई उपलब्ध गराएको ट्याक्सी खरिदबिक्रीमा दलाली बढेको छ । सरकारले भुकम्प पीडितलाई रोजीरोटीका लागि राहत स्वरुप ट्याक्सी उपलब्ध गराएपनि दलालको भरमा लागेर बेच्नेक्रम बढेको हो ।

यातायात ब्यवस्था विभागले भुकम्प पीडित ट्याक्सीमा हुने दलाली प्रथा रोक्नकै लागि जुन ब्यक्तिको नाममा ट्साक्सी परेको छ सोही ब्यक्तिको नाममा दर्ता गर्नुपर्ने ब्यवस्था गरेको थियो । तर, सम्बन्धित ब्यक्तिको नाममा दर्ता गरेपनि दलालमार्फत सोही दिन वा भोलीपल्टै ट्याक्सी बिक्री गर्न आउने गरेको यातायात ब्यवस्था कार्यालय बागमतीका प्रमुख बसन्त अधिकारीले जानकारी दिए । ‘कतिपय ब्यक्ति कार्यालयमा ट्याक्सी दर्ता गराएकै दिन दलालमार्फत ट्याक्सी बिक्री गर्न आउछन्,’ उनले भने, ‘दर्ता गरेकै दिन नबेचेपनि त्यसको भोलीपल्ट अघिकांशले ट्याक्सी बिक्री गर्छन ।’

भुकम्प पीडितको ट्याक्सीको फारम खुलेदेखि नै ट्याक्सी खरिदबिक्रीको दलालीहरु सलबलाउन थालेका थिए । कतिपय दलालले त गाउँगाउँबाट भुकम्प पीडितको कागजात संकलन गरेर एउटै ब्यक्तिले १ हजारभन्दा बढी फारम भरेका थिए । हाल विभागले गोलाप्रथाबाट ट्याक्सी वितरण गरेसँगै यातायात ब्यवस्था कार्यालयदेखि ट्याक्सी किन्ने शोरुमसँग दलालको भीड रहेको छ ।

भुकम्प पीडितको ट्याक्सी परेको थाहा पाउने वित्तिकै दलालले दैनिक फोन गरेर हैरान पार्ने गरेको ट्याक्सीको नम्बर परेको एक भुकम्प पीडितले बिजखबरलाई बताए । ‘गोलाप्रथाबाट ट्याक्सी परेको थाहा पाउने वित्तिकै दलालहरुले फोन नम्बर पत्ता लगाएर फोन गर्न थालेका छन्,’ ती ब्यक्तिले भने, ‘उनीहरुले शुरुमा ट्याक्सीको नम्बर बिक्री गरे बापत डेढ लाख रुपैयाँ दिन्छु भनेका थिए अहिले बढाएर साढे ४ लाख रुपैयाँसम्म पुगिसके ।’ दलालहरुले सोझा भुकम्प पीडितसँग एकदमै सस्तोमा ट्याक्सी खरिद गरेर महङ्गोमा बिक्री गर्दै आएका छन् ।

भुकम्प पीडितको बाध्यताले गर्दा पनि ट्याक्सी बेच्ने क्रम बढेको यातायात कार्यालयका प्रमुख अधिकारी बताउँछन् । ‘रसुवा, दोलखा, काभ्रे, सिन्धुलीलगायत काठमाडौं बाहिरका भुकम्प पीडितलाई ट्याक्सी परेको छ,’ उनले भने, ‘अहिले वितरण गरिएको ट्याक्सी काठमाडौं केन्द्रित रहेको र ती ब्यक्तिहरु कामाडौंमा डेरा लिएर ट्याक्सी संचालन गर्न खर्चिलो हुने भएकाले पनि बिक्री गर्ने क्रम बढेको हो ।’

उनका अनुसार हाल वितरण गरिएको ट्याक्सी गाउँका बुढाबुढीलाई परेको र उनीहरुले चलाउन नसक्ने भएकाले पनि बिक्री गर्ने क्रम बढेको उनी बताउँछन् । ‘हामीले ट्याक्सी दर्ता गर्दा सम्बन्धित ब्यक्तिको नाममा गर्नुपर्ने भनेका छौं तर बेच्न पाइने वा नपाइने भनेका छैनौं,’ उनले भने, ‘हाल वितरण गरिएको ट्याक्सीमा सरकारले भन्सार छुटलगायत कुनै सुविधा नदिएका कारण भुकम्प पीडितले खरिद गर्न नसकी दलालमार्फत बिक्री गर्ने क्रम बढेको देखिन्छ ।’

दलालमार्फत ट्याक्सी बिक्री हुने क्रम रोक्न सरकारले त्यस्ता ट्याक्सीमा भन्सारलगायतका छुट दिएर ५ बर्षसम्म बिक्री गर्न नपाउने प्राबधान राख्नुपर्ने उनको तर्क छ ।

सरकारले भुकम्पबाट अति प्रभावित १४ जिल्लाका पीडितलाई राहक स्वरुप ट्याक्सी वितरण गरेको थियो । कुल १ हजार ५ सय ट्याक्सीका लागि १ लाख ५० हजारभन्दा बढीले दरखास्त दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL