Logo

भ्याट आतंक हटेसँगै नेप्सेले लियो गति, ३४ अंकले बढ्दा सवा अर्बको कारोबार

भ्याट आतंक हटेसँगै नेप्सेले लियो गति, ३४ अंकले बढ्दा सवा अर्बको कारोबार


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । केही समययता सामान्य घटवढ भइरहेको नेप्से परिसुचक मंगलबार उच्च रुपमा बढेको छ । सेयर कारोबारमा (मूल्य अभिबृद्धि कर) भ्याट लाग्ने हल्लाले ओरालो लागेको बजारले पुनः युटर्न समातेको छ । सरकारले सेयर कारोबारमा तत्काल भ्याट नलाग्ने जानकारी दिएसँगै बजारमा नेप्से परिसुचक र कारोबार दुबै बढेको छ ।

बजार लगानीकर्ताको मनोविज्ञानमा भर पर्ने भएकाले पनि पछिल्लो समय उच्च रुपमा बढेको एक लगानीकर्ताले बताए । सेयर कारोबारमा तत्काल भ्याट नलाग्ने तथा बैंक वित्तीय संस्थाको गत आर्थिक बर्षको प्रतिफल आउने क्रम जारी रहेकाले पनि नेप्से परिसुचक बढेको हो ।

मंगलबार बजार खुलेदेखि नै उकालो लागेको नेप्से परिसुचक अन्तमा ३४ दशमलव २६ अंकले बढ्न पुगेको छ । दिनभर बढेको नेप्सेमा सबै समुहका परिसुचक उकालो लागेका छन् । जसमा सबैभन्दा बढी बीमा समुहको परिसुचक ४ सय १६ अंकले बढेको छ । मंगलबार सबैभन्दा बढी कारोबार हुने कम्पनीको सुचीमा पनि बीमा नै रहेको छ ।

यसैगरी बजारमा सबैभन्दा बढी प्रभाब रहेको बैंकिङ समुहको परिसुचक पनि २७ दशमलव २५ अंकले उकालो लागेको छ भने होटल समुहको परिसुचक ६० अंकले बढ्न पुगेको छ । यस्तै विकास बैंक समुह २५, जलिविद्युत समुह ३९, फाइनान्स ६ र उत्पादनमुलक समुह २० दशमलव ७२ अंकले उकालो लागेको छ ।

बजारमा लामो समयपछि कारोबार रकम १ अर्ब रुपैयाँभन्दा माथी पुगेको छ । मंगलबार १ अर्ब २१ करोड रुपैयाँभन्दा बढीको सेयर खरिदबिक्री भएको छ । यो रकम अघिल्लो दिनको तुलनामा दोब्बरले बढी हो । दिनभर कुल १ सय ५५ कम्पनीको १९ लाख ३५ हजार कित्ता सेयर कारोबार भएको छ ।

जसमा सबैभन्दा बढी नेपाल लाइफल इन्स्योरेन्स कम्पनीको ९ करोड २९ लाख रुपैयाँको सेयर कारोबार भएको छ भने दोस्रोमा फरवार्ड कम्युनिटी माइक्रो फाइनान्सको झण्डै ६ करोड रुपैयाँको सेयर खरिदबिक्री भएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL