Logo

आस्वालाई प्रभावकारी बनाउन धितोपत्र बोर्डको निर्देशन, यस्ता छन् ९ नयाँ व्यवस्था !

आस्वालाई प्रभावकारी बनाउन धितोपत्र बोर्डको निर्देशन, यस्ता छन् ९ नयाँ व्यवस्था !


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल धितोपत्र बोर्डले आस्वा प्रणालीलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न बैंक वित्तीय संस्थालाई निर्देशन दिएको छ । बोर्डले आगामी आर्थिक वर्षदेखि धितोपत्रको सार्वजनिक निष्काशनमा आस्वा प्रणाली गरिसकेको र सो कार्यान्वयनमा समस्या देखिएकाले त्यसलाई तत्काल सुधार गरी नयाँ व्यवस्था लागू गर्न दिर्नेशन दिएको हो ।

बोर्डले आवेदनकर्ताले उपलब्ध गराएको विवरणको आधारमा सम्बन्धित निष्काशन तथा बिक्री प्रवन्धकले आवेदनकर्ताहरुलाई धितोपत्र बाँडफाँट गर्ने हुँदा उक्त आवेदन फारमको शुक्ष्म रुपमा जाँचबुझ गरेर मात्र लिन निर्देशन दिएको छ । साथै यस प्रणाली लागू गरिए पश्चात बोर्डबाट सार्वजनिक निष्काशनको स्थलगत तथा गैरस्थलगत सुपरीवेक्षणका क्रममा देखिएका कमीकमजोरीहरुमा सुधार गरी आस्बा प्रणालीलाई थप व्यवस्थित तथा प्रभावकारी बनाउन दिर्नेशन दिएको बोर्डले जानकारी दिएको छ ।

आस्वा प्रणाली लागू गर्दा विद्युतीय रसिद काट्ने, आवेदन लिने शाखाको पहिचानलगायत विभिन्न नौ नयाँ थप सुधारका लागि निर्देशन दिएको छ । बोर्डले दिएको सुधारलाई व्यवास्था गरी कार्यान्वयमा नल्याएका त्यस्ता वित्तीय संस्थालाई कारवाही गरी आस्वा लाइसेन्स समेत रद्द गरिने बोर्डले जानकारी दिएको छ ।

यस्ता छन् ९ निर्देशन

१. धितोपत्र खरीद आवेदन फारममा आवेदकले नामथर, आवेदन गरिएको कित्ता, डिम्याट खाता, आवेदकको दस्तखत लगायत निर्देशिकामा तोकिए बमोजिमका सम्पूर्ण विवरणहरु रुजु÷यकिन गरेर मात्र धितोपत्र खरीद आवेदन लिने र उक्त फारममा संस्थाको आधिकारीक छाप र बुझिलिने कर्मचारीको दस्तखत गर्नुपर्ने ।

२. विद्युतीय प्रणालीबाट आवेदन गर्दा आवेदनकर्ताले आवेदन स्वीकृत भएको सम्बन्धमा विद्युतीय रुपमा रसिद प्राप्त गर्ने व्यवस्था गर्ने ।

३. आवेदनकर्ताले आवेदन फारममा अंग्रेजीमा हितग्राही खाता नं. र अंग्रजी ठूलो अक्षरमा अनिवार्य रुपमा नामथर लेख्नुपर्ने व्यवस्था गर्ने ।

४. धितोपत्र खरिद ( सार्वजनिक निष्काशन ) सम्बन्धी निर्देशिका, २०७३ मा तोकिए बमोजिम सहभागी बैंक तथा वित्तीय संस्थाहरुले आफ्नो सवै शाखाहरुबाट दैनिक रुपमा प्राप्त आवेदन र आवेदन रकम सम्वन्धी संक्षिप्त विवरण संकलन गरी अनिवार्य रुपमा सोही दिन र विस्तृत विवरण तोकिएको समयावधि भित्र विद्युतीय माध्यमबाट निष्काशन तथा विक्री प्रबन्धक र बोर्डलाई उपलब्ध गराउने ।

५. सहभागी बैंक तथा वित्तीय संस्थाहरुको विभिन्न शाखावाट धितोपत्र खरीद आवेदन प्राप्त हुने सन्र्दभमा कुन शाखावाट प्राप्त भएको हो सो पहिचान हुने व्यवस्था गर्ने ।

६. सवै सहभागी बैंक तथा वित्तीय संस्थाहरुले बोर्डको वेवसाइटमा राख्ने प्रयोजनकालागि आफ्नो केन्द्रीय कार्यालयमा आस्वासंग सम्बन्धित विषयवस्तुमा सम्पर्क गर्ने एक जना सम्पर्क अधिकारी र एकजना बैकल्पिक सम्वन्धित अधिकारीको नामथर, सम्पर्क फोन, मोवाइल नं. र पत्राचार गर्ने आधिकारीक इमेल ७ दिन भित्र बोर्ड तथा सम्पूर्ण निष्काशन तथा विक्री प्रवन्धकलाई अनिवार्य रुपमा उपलब्ध गराउने र सो विवरणमा कुनै परिवर्तन भएमा सोको जानकारी तत्काल दिने व्यवस्था गर्ने ।

७. निष्काशन तथा बिक्री प्रवन्धक र बोर्डलाई धितोपत्र खरीद आवेदन फारम सम्बन्धी विवरण पठाउँदा पत्राचारको लागि आधिकारीक इमेल मात्र प्रयोग गर्ने ।

८. सहभागी बैंक तथा वित्तीय संस्थाहरुले सेवा प्रदान गर्ने भनी बोर्डलाई जानकारी गराएका सबै शाखा कार्यालयहरुबाट सो सेवा उपलब्ध गराउनुपर्ने र सोको लागि सवै शाखाहरुमा दक्ष जनशक्ति र पूर्वाधारको व्यवस्था गर्ने ।

९. आस्वा प्रणाली सम्वन्धमा २०७४ श्रावण अगाडि कम्तीमा एक पटक र तत्पश्चात समय समयमा आफ्ना शाखा कार्यालयका सम्वन्धित कर्मचारीहरुलाई आवश्यक तालिम प्रदान गर्ने ।

प्रतिक्रिया दिनुहोस्
MBL