Logo

बढेर दुई पटक सर्किट लागेको बजार अन्तत घट्यो, किन हुँदै छ चलखेल ? यसो भन्छन् लगानीकर्ता

बढेर दुई पटक सर्किट लागेको बजार अन्तत घट्यो, किन हुँदै छ चलखेल ? यसो भन्छन् लगानीकर्ता


रामराजा श्रेष्ठ
27
Shares

काठमाडौं । आधा घण्टाको बीचमा दुई पटक बढेर सक्रिट ब्रेक लागेको बजार अन्नत ओरालो लागेको छ । बजार खुलेको छोटो अबधिमा साढे २२ करोड रुपैयाँको मात्र कारोवार भएर ४ प्रतिशतले बढेको बजार त्यसयता ओरालो लाग्दै ६ दशमलव ५९ अंकले घटेको छ ।

बजारमा केही समय सिमित व्यक्तिले चलखेल गरेर उच्च रुपमा बढाएपनि अन्तत घट्न पुग्यो । केही व्यक्तिहरुले छोटो समयमै मागको उच्च चाप देखाएर बजार अप्राकृतिक रुपमा बढाएको एक लगानीकर्ताले बताए । ‘बजारमा नयाँ लगानीकर्ता भित्रन थालेकाले केही व्यक्तिले उनीहरुलाई आकर्षण गर्न मागको चाप देखाएका छन्,’ ती लगानीकर्ताले भने, ‘जसले गर्दा अबका दिनमा भित्रने लगानीकर्तालाई फसाएर चलखेल गर्ने व्यक्तिहरु वाहिरिन खोज्दैछन् ।’ छोटो अबधिमा कमाउने उद्देश्य अनुरुप केही लगानीकर्ताले बजारमा चलखेल गरेको समेत ती लगानीकर्ताको आरोप थियो ।

यस्तै संस्थागत लगानीकर्ता हाथ्वे इन्भेन्टमेन्ट नेपाल लिमिटेडका प्रबन्ध संचालक अम्बिकाप्रसाद पौडेलले पनि आफ्नो ट्वीटमार्फत बजार हुचुवाको भरमा चलेको बताउँछन् । ‘नेपालको मौसम र राजनीति त पहिले देखि नै पूर्वाअनुमान गर्न नसकेकै हो अबदेखि अर्को पनि थपियो पूँजीबजार,’ उनले लेखेका छन् , ‘सबै भगवान भरोसामा चलेको छ ।’

बजारमा बुझेरभन्दा पनि अरुको भनाइलाई आधार मानेर लगानीगर्ने प्रबृति बढेकाले पनि बजारमा स्वरुप अनावश्यक रुपमा परिवर्तन भइरहेको एक लगानीकर्ताले बताए । ‘अहिले ब्रोकर अफिसमा गएर हेर्नेहो भने सेयरको वारेमा बुझ्दै नबुझेका व्यक्ति पनि लगानी गर्न आएका छन्,’ ती लगानीकर्ताले भने, ‘जसलाई बजारको वास्तविकताले भन्दा पनि ह्वीमले तानेको छ ।’

नेप्सेको सर्किट ब्रेकरको नियम नै समयसापेक्ष नभएकाले सिमित व्यक्तिहरुले चलखेल गर्न पाएको नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष डा. आत्माराम घिमिरेले बताए । ‘बजारमा ३, ४, ५ प्रतिशतलाई आधार मानेर सर्किट ब्रेक लगाउन हँदैन,’ उनले भने, ‘यदि बजारलाई स्थिर रुपमा चल्न दिने हो भने सबै कम्पनीको कारोवार १० प्रतिशतसम्म तलमाथी हुन दिनुपर्छ ।’ अहिले केही लगानीकर्ताले चलखेल गर्न थोरै कारोवारमा उच्च रकम बढाउने गरेको समेत उनको आरोप थियो । हिजो र आज नाटकीय रुपमा बजारमा उतारचढाव आएको समेत उनको भनाइ थियो ।

सोमबार बजार आधा घण्टाको बीचमा सबै समुह बढ्दै ५ प्रतिशतले बढेको थियो । जसमा बीमा र बैंकिङ समुह उच्च रुपमा उचालिएको थियो । तर, बजार बन्द हुँदा बैंक, विकास बैंक र फाइनान्स समुह उच्च रुपमा घट्दै समग्र नेप्से परिसुचक ओर्लिएको छ ।

बजारमा बीमा र व्यापार समुह बाहेक सबै समुहका परिसुचक ओरालो लागेका छन् । जसमा सबैभन्दा बढी होटल समुह ३५ अंकले ओरालो लागेको छ भने जलविद्युत समुह २९ अंकले घट्न पुगेको छ । यसैगरी, विकास बैंक १४ अंकले ओरालो लाग्दा बजारमा बढी प्रभाव रहेको बैंकिङ समुहको परिसुचक पनि ७ दशमलव २८ अंकले ओरालो लागेको छ ।

आधा घण्टामा ४ प्रतिशत बढेर २२ करोड रुपैयाँको मात्र कारोवार हुँदै सर्किट ब्रेक लागेको बजारमा त्यसयता ओरालो लाग्दै २ अर्ब ५३ करोड रुपैयाँभन्दा बढीको सेयर खरिदविक्री भएको छ ।

सोमबार सबैभन्दा बढी नेपाल बैंक लिमिटेडको १३ करोड ५४ लाख रुपैयाँ बरावरको सेयर खरिदविक्री भएको छ भने दोस्रो स्थानमा रहँदै नेपाल क्रेडिट एण्ड कमर्श बैंकको पनि १३ करोड ३४ लाख रुपैयाँ बरावरकै सेयर कारोवार भएको छ ।

बजारमा लुम्बिनी जनलर इन्स्योरेन्सको पनि १२ करोड ६९ लाख रुपैयाँ बरावरको सेयर खरिदविक्री भएको देखिन्छ । दिनभर कुल १ सय ४४ कम्पनीको ५५ लाख ५४ हजार कित्ता सेयर कारोवार भएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL