Logo

लगानी कोषको ‘स्टक डिलर’ आउन अझै डेढ वर्ष लाग्ने, अस्तब्यस्त बन्दै सेयर बजार

लगानी कोषको ‘स्टक डिलर’ आउन अझै डेढ वर्ष लाग्ने, अस्तब्यस्त बन्दै सेयर बजार


रामराजा श्रेष्ठ
0
Shares

काठमाडौं । सेयर बजारमा स्थायित्व कायम राख्न नागरिक लगानी कोषले ल्याउन लागेको ‘स्टक डिलर’ संचालनमा आउन अझै डेढ वर्ष लाग्ने भएको छ । उच्च अदालतले नेपाल स्टक एक्स्चेञ्जलाई नयाँ सफ्टवेयर संचालन गर्न दिर्नेशन दिएसँगै सोको प्रक्रिया लम्बिने निश्चित भएको हो ।

नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)का अनुसार हालको सफ्टवेयरमा कोषलाई स्टक डिलरको अनुमित दिन अपग्रेड गर्नुपर्ने हुन्छ । तर, अदालतले नयाँ सफ्टवेयर राख्न निर्देशन दिइसकेको अवस्थामा पुरानो सफ्टवेयरलाई अपग्रेड गर्न नमिल्ने नेप्सेले जानकारी दिएको छ ।

अदालतको निर्णय अनुसार नयाँ सफ्टवेयर राख्ने प्रक्रिया अघि बढ्ने र सो संचालनमा आउने कम्तीमा १४ महिना लाग्ने नेप्सेका महाप्रवन्धक सिताराम थपलियाले जानकारी दिए । ‘अदालतको फैसला आइपुग्ने वित्तिकै सम्बन्धित कम्पनीसँग सफ्टवेयर राख्न सम्झौता गरिनेछ,’ उनले भने, ‘उक्त सफ्टवेयर संचालमा नआएसम्म कोषलाई स्टक डिलरको अनुमति दिन कठिन छ ।’

सेयर बजारमा भइरहने उत्तरचढावलाई न्युनिकरण गर्न कोषले स्टक डिलरको काम गर्ने भन्दै प्रक्रिया अघि बढाएको थियो । सो सम्बन्धमा धितोपत्र बोर्डले पनि एक अध्ययन कमिटि गठन गर्दै अनुमति दिन सकिने राय प्रस्तुत गरेको थियो । तर, सम्बद्ध निकायबाट कुनै प्रक्रिया अघि नबढेको कोषका कार्यकारी निर्देशक रामकृष्ण पोखरेल बताउँछन् ।

कोषको ऐन अनुसार पनि सेयर ब्रोकर, मार्केट मेकर तथा स्टक डिलको काम गर्न मिल्छ । सो कार्यका लागि नियमनकारी नियकाबाट अनुमति लिनुपर्ने भएकाले संचालन प्रक्रिया अन्यौलनमा रहेको कोषको भनाइ छ ।

केही समय अघि पूँजी बजारमा विदेशी लगानी भित्र्याउन मिल्ने गरी कोषले आफ्नो ऐन समेत परिमार्जन शुरु गरेको छ । धितोपत्र बोर्डले सेयर बजारमा गैर आवासीय नेपाली एनआरएनलाई लगानी गर्न खुला गर्न कार्यविधी तयार गरेको र उद्योग मन्त्रालयले पनि विदेशी लगानी तथा प्रविधि हस्तान्तर ऐनको मस्यौदामार्फत विदेशी कम्पनी तथा एनआरएनलाई सेयर बजारमा लगानी खुला गर्न लागेको अवस्थामा कोषले पनि सोही अनुरुप तयारी शुरु गरेको हो । यदि नेपाली सेयर बजारमा विदेशी लगानी भित्र्याउन सकेमा यसको दायरा फराकिलो हुनेका साथै बजारले समेत गति लिने छ । तर, सोका लागि नेप्सेबाट अनुमति नपाउँदा सम्पूर्ण काम अन्योलमा परेको पोखरेल बताउँछन् ।

यदि कोषले स्टक डिलर संचालनमा आएमा बजार उच्च रुपमा घट्न थालेमा बजारबाट सेयर उठाइदिने छ भने अनावश्यक रुपमा बढ्न थालेमा आफुसँग भएको सेयर बजारमा पठाउने छ । जसले गर्दा बजारमा अहिलेको जस्तो उच्च अंकको उत्तरचढाव हुन रोकिने पोखरेलको दावी छ । नेपालमा स्टक डिलर नहुँदा साना लगानीकर्ताहरु बढी मारमा पर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL