Logo

नेप्से साढे ११ अंकले घट्दा ५८ करोडको कारोवार, कसले किन्यो प्रभुको २० करोडको प्रमोटर सेयर

नेप्से साढे ११ अंकले घट्दा ५८ करोडको कारोवार, कसले किन्यो प्रभुको २० करोडको प्रमोटर सेयर


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सोमबार नेप्से परिसुचक दोहोरो अंकले ओरालो लागेको छ । बजार खुलेदेखि ओरालो लागेको नेप्से परिसुचक अन्तत ११ दशमलव ६३ अंकले घट्न पुगेको छ ।

बजारमा बीमा र बैंकिङ समुहको परिसुचक उच्च रुपमा ओरालो लाग्दा समग्र नेप्से परिसुचक घट्न गएको छ । दिनभर सवैभन्दा बढी बीमा समुहको परिसुचक १ सय ३० अंकले घटेको छ भने बजारमा सवैभन्दा बढी प्रभाव पार्ने बैंकिङ समुहको परिसुचक पनि ११ अंकभन्दा बढीले ओरालो लागेको छ ।

सोमबार फाइनान्स समुह वाहेक अन्य सबै समुहका परिसुचक घटेका छन् । जसमध्ये होटल, विकास बैंक तथा जलविद्युत समुहका परिसुचकमा १० अंकभन्दा कमले गिरावट आएको छ ।

केही समययता ३० करोड रुपैयाँभन्दा कममा खुम्चियएको बजारमा आज ५८ करोड ८७ लाख रुपैयाँ बरावरको सेयर खरिदविक्री भएको छ । प्रभु बैंकको १० लाख १६ हजार कित्ता सेयर २० करोड ४२ लाख रुपैयाँमा किनवेच हुँदा बजारमा कारोवार उच्च रुपमा बढ्न गएको हो । उक्त बैंकको प्रमोटर सेयर ठूला लगानीकर्ताले मात्र खरिद गरेका छन् । सो बैंकको सवै सेयर ४५ नम्बर ब्रोकरमार्फत विक्री भएको छ भने ९ लाख ३६ हजार कित्ता ५९ नम्बर ब्रोकर र अन्य सेयर ४२ नम्बर ब्रोकरले खरिद गरेको छ ।

बजारमा भर्खरै मात्र फरदर पब्लिक अफरिङ घोषणा गरेको स्ट्यान्सडर्ड चाटर्ड बैंकको पनि ५ करोड ७६ लाख रुपैयाँ बरावरको सेयर खरिदविक्री भएको छ भने सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किमको पनि झण्डै ५ करोडको सेयर कारोवार भएको छ । यस्तै नविल व्यालेन्स फण्ड–१को पनि ४ करोड ७९ लाख रुपैयाँको सेयर कारोवार भएको छ ।

दिनभर कुल १ सय २९ कम्पनीको ७६ लाख ५१ हजार कित्ता सेयर खरिदविक्री भएको छ । विभिन्न कम्पनीको इनभेष्टमेन्ट फण्ड र प्रभु बैंकको प्रमोटर सेयर विक्री हुँदा कारोवार संख्या बढी देखिन गएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL