Logo

गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी शुरु, मेला ४ दिन चल्ने

गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी शुरु, मेला ४ दिन चल्ने



काठमाडौं । गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी सुरु भएको छ । उक्त फूलको व्यवसायिक विकास गर्ने उदेश्यले सो मेला आयोजना गरिएको हो ।

पुष्प व्यवसाय प्रवद्र्धनका सम्वन्धमा समय अनुकूल पुष्पको जातिय विकास एवं गुणस्तरिय उत्पादनमा सहयोग पुर्याउनका लागि प्रदर्शनी आयोजना गरिएको आयोजकले जानकारी दिएको छ ।

जावलाखेलको खेल मैदान, ललितपुरमा शुरु भएको प्रदर्शनीको प्रदेश नम्बर ३ का भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले उदघाटन गर्दै आयातित फूलको प्रतिष्थापन गर्ने बाटोमा लाग्न समेत व्यवसायीलाई आग्रह गरेका छन ।

‘रोपेर फूल गोदावरी, सजाऔ घर आँगन वरिपरि’ भन्ने नारा सहित प्रदर्शन गरेको उक्त मेलामा ४८ वटा स्टल रहने छन ।

मेलाको आकर्षणको रुपमा गोदावरी फूलको विभिन्न नयाँ प्रजातीका फूलहरुको प्रदर्शनी तथा बिक्री बितरण हुनुका साथै सयपत्री, मखमली तथा अन्य फूल बिरुवाहरु समेत प्रदर्शनीमा राखेको आयोजकले जानकारी दिएको छ ।

पुष्प व्यवसायीहरुलाई व्यवसाय प्रवद्र्धनमा हौसला प्रदान गर्ने र व्यवसायिहरु बीच प्रतिस्पर्धात्मक भावनाको विकास गरी गुणस्तरिय उत्पादनमा टेवा पुर्याउनु प्रदर्शनीको उद्धेश्य रहेको छ ।

गोदावरी फूलको विविध जाती प्रजातीहरु मध्ये प्रदर्शनीमा स्पाईडर तर्फ सम्झना नर्सरी, मिनियचर तर्फ मिलन नर्सरी, इन्क्रर्भ तर्फ अजिमा नर्सरी, रिफ्लेक्समा सम्झना नर्सरी र कट फ्लावरमा ए एस कट फ्लावर नर्सरी विजेता बनेका छन् ।

त्यसै गरी प्रदर्शनीमा सहभागि मध्ये सम्झना नर्सरी उत्कृष्ट प्रदर्शक बनेको छ भने टीटीआर बंगलामुखी नर्सरी दोस्रो र अजिमा नर्सरी तेस्रो बनेका छन् ।

३६ हजार भन्दा बढिले प्रत्यक्ष अवलोकन गर्ने मेलामा ४५ लाख रुपैंया बराबरको व्यवसायिक कारोबार हुने अपेक्षा आयोजकको रहेको छ । मेला कार्तिक १५ गते देखि १८ गते सम्म रहने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL