Logo

मयूर यातायातद्वारा उपत्यकामा सेवा सुरु, तोकेको स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएको दाबी

मयूर यातायातद्वारा उपत्यकामा सेवा सुरु, तोकेको स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएको दाबी



काठमाडौं । लकडाउन पछि मयूर यातायातले आफ्नो सेवा संचालन गरेको छ । लकडाउनका कारण लामो समयसम्म थन्किएका सार्वजनिक सवारी साधनहरु सरकारको निर्णय पश्चात संचालन भएका हुन् ।

काठमाडौं । यातायात सिण्डीकेट हटाउने बेला सरकारलाई सहयोग गरेको मयुर यातायातले आगामी १ गतेसम्म आफ्ना सबै गाडीहरु संचालनमा ल्याउने तयारी गरेको छ । सरकारले असार २६ गतेदेखि सार्वजनिक यातायात संचालनमा ल्याउने निर्णय गरेपछि मयुर यातायातले आफ्ना ६ ओटा गाडीहरु संचालनमा ल्याएको छ ।

कम्पनीले सरकारको निर्णय पूर्व नै सरकारी कर्मचारी ओसार पसारका लागि पनौतिदेखि काठमाडौंसम्मका लागि २ ओटा गाडीहरु संचालनमा ल्याईरहेको थियो । सरकारले निर्णय सुनाएको भोलीपल्ट अन्य ४ ओटा गाडीहरु थपेपछि हालसम्म ६ ओटा गाडीहरु संचालनमा ल्याएको कम्पनीका अध्यक्ष मोहन बहादुर श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार सरकारको निर्णयलाई नमानेर विभिन्न माग तेस्र्याई गाडी ग्यारेजमै थन्क्याउन मनले नमानेपछि निर्णयको भोलीपल्टैदेखि गाडी सडकमा ल्याईएको हो । कम्पनीले सरकारको निर्णयअनुसार नै साविकको भाडामा ५० प्रतिशत थपेर भाडा लिने गरेको छ ।

यस्तै विश्व स्वास्थ्य संगठनको स्वास्थ्य मापदण्ड अनुसार मास्क अनिवार्य, सामाजिक दुरी कायमसँगै एक सिट खाली राखेर सवारी संचालन गरेको अध्यक्ष श्रेष्ठले बिजखबरलाई जानकारी दिए । उनका अनुसार कम्पनीसँग हाल ४४ ओटा गाडीहरु छन् । हालसम्म ६ ओटा गाडीहरु संचालनमा आईसकेपनि अन्य गाडीहरु मर्मतसम्भार गर्दै चलाउनुपर्ने हुनाले भोली या पर्सिसम्म १५ देखि १६ बसहरु संचालनमा ल्याउने तयारी गरिएको छ । यस्तै आगामी १ गतेसम्म अर्थात बिहीबारसम्म भनै कम्पनीले ४४ ओटै गाडीहरु संचालन गर्ने तयारी गरेको उनको भनाई छ ।

धुलिखेलसम्म रुट परमिट लिने तयारी

सरकारले काठमाडौं उपत्यकामा मात्रै सार्वजनिक सवारीसाधन चलाउन निर्णय गरेपनि मयुर यातायातले भने धुलिखेलसम्म बस पुर्याउने तयारी गरिरहेको अध्यक्ष श्रेष्ठले बताए । आगामी १ गतेदेखि यातायात व्यवस्था विभागको समन्वयमा कम्पनीले धुलिखेलसम्मको रुट परमिट लिने योजना बनाएको उनले बताए । सरकारले चालेका हरेक कदमलाई सहयोग पुर्याउन आफु गम्भिर भएको बताउँदै अध्यक्ष श्रेष्ठले सरकारले पनि सोही अनुसार सहयोग गर्नुपर्ने बताएका छन् ।

गत बर्ष जेठमा अन्य सार्वजनिक यातायात व्यवसायीले एकाधिकारको नाममा विभिन्न विरोधका कार्यक्रम गरिरहेको बेला मयुर यातायातले भने आफ्ना बसहरु धुलीखेलसम्म पुर्याएको थियो । यस्तै यसपाली पनि विभिन्न सार्वजनिक यातायातका व्यवसायीहरुले सरकारसमक्ष आफ्ना मागहरु तेस्र्याईरहेका बेला मयुर यातायातले बीना रोकावट आफ्ना बसहरु संचालन गरिरहेको छ । सरकार र जनतालाई अप्ठ्यारो परेको बेला व्यवसायीहरुले माग तेस्र्याएर गाडी ग्यारेजमै थन्क्याउनु उचित नहुने अध्यक्ष श्रेष्ठको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
MBL