Logo

बैंक वित्तीय संस्थामाथि राष्ट्र बैंकको कडाई, यस कारण पर्दैछ सेयर बजारलाई असर

बैंक वित्तीय संस्थामाथि राष्ट्र बैंकको कडाई, यस कारण पर्दैछ सेयर बजारलाई असर



काठमाडौं । कोभिडको फैलिदो महामारी, लकडाउनका कारण आर्थिक गतिविधिहरुमा परेको प्रतिकूल प्रभाव र बजेट तथा मौद्रिक नीतिले सकारात्मक आशा जगाउन नसकेपछि केही उकालो लागेको सेयर बजार फेरि पुरानै लयमा ओरालो लाग्न थालेको छ । यसले लगानीकर्ताहरुलाई निकै त्रसित तुल्याएको छ ।

laxmi

बैंक तथा वित्तीय संस्थाहरुको बाहुल्य रहेको नेपालको सेयर बजारमा बजेट र मौद्रिक नीतिले ती कम्पनीहरुको आम्दानी घट्ने र कतिपय अवस्थामा नोक्सानीमा जाने व्यवस्था गरेपछि विस्तारै कुरा बुझ्न थालेका लगानीकर्ताहरुको मनोबल गिर्न थालेको छ । यसले गर्दा उनीहरुले सेयर बिक्रीको चाप बढाएका छन् । ब्याजदर घटेको र कर्जा पाउन थालेकोले कारोबार बढी देखिएको छ । तथापि उक्त ठूलो परिमाणको खरिद चापले पनि त्योभन्दा बढीको बिक्री चापलाई थेग्न नसकिरहेको स्पष्ट देखिएको छ ।

आम जनतामा विश्वास जगाउने कुरा नआएपछि बजेटबाट निराश लगानीकर्ताहरुले मौद्रिक नीतिबाट आशा गरेका थिए । नीतिमा केही राम्रा कुराहरु आएका पनि हुन् तर मौद्रिक नीतिलाई कार्यान्वयनमा ल्याउन आवश्यक थप सर्कुलरमा राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरुको समेत आम्दानीलाई असर गर्ने व्यवस्था गरेपछि बजार सम्हालिन मुस्किल परेको हो ।

एक बैंकरका अनुसार गत चैतमा राष्ट्र बैंकले सो अवधिसम्मको ब्याजमा १० प्रतिशत छुट र त्यसयताको ब्याजदरमा २ प्रतिशतको छुट गर्न निर्देशन दिएपछि बैंक तथा वित्तीय संस्थाहरुको आम्दानीमा ठूलो असर पर्न गयो । बैंक तथा वित्तीय संस्थाहरुले प्रदान गर्ने सेवाशुल्क लिन नपाइने व्यवस्था गरियो । लकडाउनका कारण कर्जाको विस्तार पनि रोकियो । यसले गर्दा अन्य आम्दानी शीर्षक रित्तो हुन पुग्यो । चालु आवको मौद्रिक नीतिले असूली प्रभावित भयो । यसअघि अनौपचारिक बजारबाट महंगोमा सापटी लिएर पनि ऋणीहरुले ब्याज तिर्दै आएका थिए । ब्याज, आम्दानी, स्प्रेड, सेवाशुल्क हरेकमा लगाम लगाइयो । त्यतिमात्र होइन, सेयर बजारलाई प्रभावित पार्ने पछिल्लो खतरनाक सर्कुलर भनेको कोभिडबाट प्रभावित करिव साढे तीन खर्बको कर्जालाई पुनर्तालिकीकरण गर्न पाइने सुविधा र त्यसमा ब्याज पुँजीकरण गरी आम्दानी जनाउन नपाइने व्यवस्था र त्यसमा राख्नुपर्ने ५ प्रतिशतको कर्जा नोक्सानी व्यवस्था नै हो । अहिले ५ प्रतिशत राखेपछि अर्को त्रैमासमा पनि असूल हुनसक्ने अवस्था नभएकोले थप २५ प्रतिशत नोक्सानी व्यवस्था गर्दै जानुपर्ने कडा व्यवस्था नै हो ।

यता मौद्रिक नीतिमार्फत नगद बाहिर नजाओस भनेर बोनस सेयर दिनुपर्ने जस्तो व्यवस्था त गरियो तर बैंकको आम्दानीलाई शुल्य बनाइदिने प्रयास भयो । ब्याजदर घटेको, स्प्रेड साँघुरो भएको, सेवा शुल्क नियन्त्रण गरिएको र कर्जा नोक्सानीको कडा व्यवस्था गरिएकोले बैंक तथा वित्तीय संस्थाहरुको कोभिडअघिको ६ महिनाको आम्दानी पनि कर्जा नोक्सानी व्यवस्थामा सकिने स्थिति बन्यो । बाँकी रहेको नाफामध्ये पनि ऋणपत्र जारी गरेका १७।१८ वटा बैंकले जगेडाकोषमा केही प्रतिशत रकम सार्नुपर्ने भएकोले अव सेयरधनीलाई वितरण गर्ने नाफा निकै कम हुनगयो ।

कोभिडका कारण आगामी दिन अझ कष्टकर र नाजुक हुने स्थिति बन्दै गएको छ । कर्जा लगानीको माग नभएर बजारमा ब्याजदर निकै तल आएकोले बीमा कम्पनीहरुले निक्षेपमा पाउने ब्याज कम हुने र जोखिम भुक्तानीको खतरा बढ्दै गएकोले यी कम्पनीको आम्दानी पनि घट्ने देखियो । बीमा कम्पनीहरुको संख्या बढेसँगै आर्थिक गतिविधिहरुको विस्तार भै यिनीहरुको आम्दानी पनि बढ्ने स्थिति भएको अवस्थामा प्रतिफलको संभावना हुन्थ्यो । तर महामारीका कारण अव त्यो स्थिति रहेन र यसले लगानीकर्ताहरुलाई निराश बनाएको हो । विशेषगरी ठूला लगानीकर्ताहरु विगत दुई बर्षदेखि घाटामा भएकोले यिनीहरुले बैंकको ब्याज अन्य महंगो माध्यम प्रयोग गरी बुझाउँदै आएका छन् । अव बजार बढ्ने संभावना नदेखिएपछि उनीहरुले नै सेयरको बिक्री चाप बढाएका छन् । असारको ब्याज असूल हुन नसकेपछि यिनीहरुमाथि बैंकको असूली दबाब पनि निकै रहेको ती लगानीकर्ताहरुको भनाई छ ।

लगानीकर्ताहरुले लकडाउन पश्चात बजार खुल्दा क्रयास हुने आंकलन गरेपनि ठीक त्यसको विपरित बजार बढ्न पुगेको थियो । केही दिन छोटो समयमै पोजेटिभ सर्किट हानेर छोटो समयमै बन्द भएको नेप्से परिसुचक गत हप्तासम्म आईपुग्दा दोहोरो अंकले उकालो लागेको थियो । तर, यो हप्तादेखि बजारले ओरालो गति समातेको छ ।

मौद्रिक नीतिले सेयर बजारलाई प्रोत्साहन गर्न यस अघि प्रदान गर्दै आएको मार्जिन कर्जाको सीमालाई ६५ प्रतिशतबाट बढाएर ७० प्रतिशत पु¥याइएपनि लगानीकर्ताहरुको माग अनुरुप ७५ प्रतिशत नभएकाले यो मार्जिन अपुग समायोजनमै सकिएको छ ।

बाणिज्य बैंकको मात्र होइन, मौद्रिक नीतिले लघुवित्त कम्पनीको आम्दानीमा पनि कसी लगाएको छ । यस अघि लघुवित्तले मर्जर र हकप्रद सेयरको खेती गर्दै सेयर मुल्य बढाउँदै आएका थिए । राष्ट्र बैंकले हकप्रद निष्काशनमा रोक लगाएको छ भने यस अघि १८ प्रतिशत रहेको ब्याजदरलाई घटाउँदै १५ प्रशितमा सिमित गरिदिएको छ । यसैगरी उच्च मुनाफा वितरणमा पनि कडाई गरेको छ ।

अर्कोतर्फ बजारमा उच्च तरलताका कारण बचतको ब्याजमा गिरावट आई बीमा कम्पनीहरुको पनि मुनाफा घट्ने निश्चित भएको छ । बीमाको प्रिमियबापत संकलन भएको रकमलाई बैंकमा मुद्दतीमा राखेर आम्दानी गर्दै आएकोमा अबका दिन त्यस्तो अम्दानी घट्ने निश्चित भएको छ । बीमा कम्पनीहरुको मुख्य आम्दानीको स्रोत भनेको मुद्दती खातामा राखेको पैसाबाट आउने ब्याज नै हो । यस अघि ११ प्रतिशतसतसम्म ब्याज लिँदै आएको बीमा कम्पनीको उच्च तरलताका कारण यो बर्ष ५÷६ प्रतिशतमा खुम्चिएको छ । जसका कारण बीमा कम्पनीहरुको मुनाफामा उल्लेख्य गिरावट आउने बीमा कम्पनीका एक कार्यकारी प्रमुखले जानकारी दिए ।

बोनस सेयरको केही आकर्षण भएपनि वितरणयोग्य मुनाफा नै धेरै कम हुने भएको र कोभिड महामारी राजधानीमै व्यापक मात्रामा फैलिन थालेकोले आर्थिक गतिविधिहरु सांघुरिदै जाँने एवं बैंक तथा वित्तीय संस्थाहरुको जोखिम अझै बढ्ने अनुमान गरी लगानीकर्ताहरु बजारबाट प्राप्त नाफा बुक गरेर बाहिरिन थालेको एक लगानीकर्ताले जानकारी दिएका छन् । उनको भनाई अनुसार प्रत्येक दिन खरिद आदेश घट्दै गएको र बिक्री आदेश बढ्न थालेको जानकारी पनि दिएका छन् । यसले गर्दा बजार अझै घट्ने संकेत गर्छ ।

प्रतिक्रिया दिनुहोस्
MBL