Logo

लामो समयदेखि अन्यौलमा रहेको महासंघको निर्वाचन तोकिएकै मितिमा हुने निश्चित, साउन २७ पछि नयाँ नेतृत्व

लामो समयदेखि अन्यौलमा रहेको महासंघको निर्वाचन तोकिएकै मितिमा हुने निश्चित, साउन २७ पछि नयाँ नेतृत्व



काठमाडौं । लामो समयदेखि अन्यौलमा रहेको नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन हुने निश्चित भएको छ । कारोनाको कारण देखाउँदै ३ पटकसम्म चुनावी मिति सरेको नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन सरकारले लकडाउन अन्त्य भएको घोषणा गरेसँगै तेस्रो पटक तोकिएको मिति अर्थात साउन २६ र २७ गते हुने निश्चित भएको हो ।

laxmi

नेपाल सरकार मन्त्रिपरिषदको साउन ५ गते बसेको बैंठकले १२० दिन लामो लकडाउन अन्त्य भएको घोषणा गरेसँगै महासंघको निर्वाचन हुने निश्चित भएको हो । सरकारले लकडाउन अन्त्य भएको घोषणा गर्दै सवारीसाधनमा लाग्दै आएको जोरविजोर प्रणाली हटाएको छ भने विद्यालयहरुलाई समेत विद्यार्थी भर्ना लिन पाउने व्यवस्था गरेको छ । साथै बैंठकले साउन १५ गतेपछि होटल रेष्टुराँ समेत संचालन गर्न पाउने निर्णय गरेको छ ।

सरकारले लकडाउनको अन्त्य गरेसँगै महासंघको निर्वाचन हुने निश्चित भएको महासंघका स्रोतले जानकारी दिएको छ । यस अघि कोरोनाको कारण देखाउँदै महासंघमा एक पक्ष चुनावी मिति सार्ने पक्षमा थिए भने अर्को पक्ष महासंघलाई अनिर्णयको बन्दीबाट निकासा दिन जसरी पनि निर्वाचन गराउनु पर्ने पक्षमा देखिएका थिए ।

सोही अनुरुप महासंघका अध्यक्ष भवानी राणा तथा आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षका उम्मेदवार किशोर प्रधान प्यानल अहिले निर्वाचन गराउन नहुने भन्दै चुनावी मिति नै तय गर्न नहुने पक्षमा उभिएका थिए । तर महासंघका आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षका अर्का प्रत्यासी चन्द्रप्रसाद ढकाल प्यानलले भने जसरी पनि निर्वाचन गरेर महासंघलाई अनिर्णयको बन्दीबाट निकास दिनुपर्ने अडान लिएपछि यहि साउन २६ र २७ गतेका लागि महासंघको ५४ औं साधारणसभाको मिति तोकिएको थियो ।

महासंघको आसन्न निर्वाचनमा महासंघ अध्यक्ष भवानी राणा तथा वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले समर्थन गरेको वरिष्ठ उपाध्यक्षको प्रत्यासी किशोर प्रधानले हार्ने देखिएपछि जसरी पनि उनीहरु चुनावी मिति सारेर शक्ति सञ्चय गर्ने रणनीतिका साथ अघि बढेको आरोप महासंघ स्रोतले नै लगाउँदै आएका थिए । तर ढकाल प्यानलले भने चैत २८ गतेपछि हालको कार्यसमिति काम चलाउन भएको र दैनिक कामकाज बाहेक अन्य निर्णय गर्न नमिल्ने भन्दै निर्वाचन गराएर नयाँ बैधानिक कार्यसमित चयन गर्नुपर्ने अडानका साथ अघि बढेका थिए । सोही अनुरुप सरकारले १२० दिनदेखि जारी लकडाउन खुला गरिदिएसँगै ढकाल प्यानलको अडान अनुरुप तोकिएकै मितिमा निर्वाचन हुने निश्चित भएको महासंघ स्रोतले जानकारी दिएको छ ।

यसैगरी गृह मन्त्रालय स्रोतले पनि मन्त्रिपरिषद्को उक्त निर्णयले नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन गर्न सक्ने जानकारी दिएको छ । तर त्यसरी निर्वाचन गराउँदा नेपाल सरकारले तोकेको मापदण्ड अनुसार तोकिएको दूरी कायम गर्दै मास्क तथा सेनिटाईजर प्रयोग गर्नुपर्ने गृह स्रोतले जानकारी दिएको छ । साथै मन्त्रिपरिषद्को उक्त निर्णयले यस अघि लाग्दै आएको होटल तथा सार्वजनिक स्थलमा भेला हुने २५ जनाको सिमा समेत हटेको सम्बद्ध स्रोतले जानकारी दिएको छ ।

यसैगरी सो विषयमा जानकारी लिँदा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष एवं विशिष्ट सदस्य चण्डीराज ढकालले पनि अब तोएिकै मितिमा महासंघको ५४ औं साधारणसभा तथा निर्वाचन हुने बताए । ‘हामीले जहिले पनि महासंघलाई विधिसम्वत संचाल गर्नुपर्छ भन्ने अडान लिँदै आएका छौं,’ उनले भने, ‘चैत २८ गतेपछि महासंघको अहिलेको कार्यसमिति कामचलाउ मात्रै भएको छ, उक्त कार्यसमितिले दैनिक कामकाज तथा सचिवालय संचालन बाहेक कुनै पनि निर्णय गर्न सक्दैन त्यसैले पनि तोकिएकै समयमा निर्वाचन हुनुपर्छ भन्ने हाम्रो अडान थियो ।’ मन्त्रिपरिषदको सोमबार बसेको बैंठकले लकडाउन हटेको घोषणा गरेको अब जसले गर्दा अब तोकिएकै मितिमा महासंघको निर्वाचन हुने उनको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL