Logo

पूँजी बजार शुद्धिकरणको नाममा सिमित व्यवसायीक घरना पोस्दै नियामक, अब्यवहारिक निर्णयको मारमा लगानीकर्ता

पूँजी बजार शुद्धिकरणको नाममा सिमित व्यवसायीक घरना पोस्दै नियामक, अब्यवहारिक निर्णयको मारमा लगानीकर्ता



काठमाडौं । लामो समयपछि खुलेको सेयर बजार शुद्धिकरण भन्दै नियामक निकाय धितोपत्र बोर्डले प्लेज (मार्जिन धितो)मा भएको सेयर खरिद बिक्री गर्न नपाउने तथा एउटा डिम्याट खाताबाट एउटा ब्रोकरबाट मात्र कारोबार गर्न पाउने व्यवस्था गर्यो ।

तर बोर्डले बजार शुद्धिकरणका लागि अव्यहारिक निर्णयले लगानीकर्ताहरु मारमा परेका छन् । नियामक निकायले बजार शुद्धिकरण तथा सुदृढिकरणका लागि भन्दै नयाँ व्यवस्था गरेपनि त्यसको प्रत्यक्ष मार भने कर्जा लिएर सेयर कारोबार गर्दै आएका लगानीकर्तालाई परेको छ ।

प्रायजसो लगानीकर्ताले सेयरलाई प्लेजमा राखेर बजारमा खरिदबिक्री गर्दै आएका छन् । तर बोर्डले ल्याएको नयाँ नियम अनुसार प्लेजमा राखेको सेयर बिक्री गर्न नपाएपछि धेरैजसो लगानीकर्ताले आफ्नो खातामा भएको बिक्री अर्डरमा राख्न पाउने छैनन् । बोर्डको उक्त व्यवस्थाले बजारमा सेयरको आपूर्ति घटाई माग बढाउने हुँदा त्यसले अल्पकालमा बजार बढाएपनि दिर्घकालिन रुपमा ठूलो असर पर्ने सम्बद्ध लगानीकर्ताहरु बताउँछन् ।

यस अघि लगानीकर्ताले प्लेजमा राखेको सेयर बिक्री गरेर ब्रोकरसँग उक्त रकम लिएर बैंकमा पैसा बुझाएर फुकुवा गर्दै सेयर खरिदगर्ने व्यक्तिको नाममा हस्तान्तरण गर्दै आएका थिए । तर अबका दिनमा पहिला बैंकको कर्जा तिरेर सेयर फुकुवा गरेर मात्र बिक्री गर्न पाउने व्यवस्थाले गर्दा आगामी दिनमा धेरैजसो लगानीकर्ताले सेयर नै बिक्री गर्न नपाउने अवस्था आउने छ । जसले गर्दा बजारमा आर्टिफिसियल डिमाण्ड बढ्न गई नेप्से परिसुचक ह्वात्तै बढ्ने तर त्यसको फाइदा सिमित व्यवसायीक घरना तथा म्यचुलफण्डहरुले मात्र लिने देखिन्छ ।

अर्थ मन्त्रालय तथा धितो पत्र बोर्डले पूँजी बजार सुधारका लागि मार्जिन लेण्डिङको सीमा बढाउने भन्दै आएको छ । तर त्यसरी मार्जिन कर्जाका लागि प्लेजमा राखिएको सेयर नै बिक्री गर्न नपाएपछि त्यसको समेत कुनै अर्थ नराख्ने एक लगानीकर्ताले जानकारी दिए । ‘अहिले धितोपत्र बोर्डले सर्ट सेल तथा क्लोज आउट रोक्न प्लेजमा राखिएको सेयर बिक्री गर्न रोक लगाएको भन्दै आएको छ तर यो एकदमै अव्यवहारिक छ,’ ती लगानीकर्ताले भने, ‘सर्ट सेल र क्लोज आउट रोक्न खातामा नभएको सेयर बिक्री गर्न नपाईने हो तर खातामै भएको सेयर पनि प्लेजको नाममा बिक्री गर्न रोक लगाउनु हामी लगानीकर्ताका लागि दुर्भाग्यपूर्ण निर्णय हो ।’

बोर्डले उक्त निर्णयले अबका दिनमा बैंक, इन्स्योरेन्स, म्युचुअल फण्ड, सेयर कारोबार गर्दै आएको नागरिक लगानी कोष, कर्मचारी संचय कोष र घट्दो बजारमा सेयर खरिदका लागि ठूलो रकम लिएर बसेका सिमित व्यवसायीक घरनालाई मात्र फाइदा पुग्ने समेत सम्बद्ध लगानीकर्ताहरु बताउँछन् । साथै उक्त व्यवस्थाले अबका दिनमा लगानीकर्तालाई मार्जिन कलको समेत दबाब पर्ने भएको छ । ‘उदाहरणका लागि यसअघि लगानीकर्ताले मार्जिक कलको दबाब पर्दा आफुसँग भएको केही सेयर बिक्री गरेर हिसाव मिलान गर्दै आएका थिए,’ ती लगानीकर्ताले भने, ‘तर अबका दिनमा मार्जिन कलको दबाब आएमा बैंकमा राखेको सबै सेयर फुकुवा गरेर मात्र सेयर बिक्री तथा मार्जिन मिलान गर्न सकिने छ ।’ यस्तो अवस्थमा लगानीकर्ताहरु डलब ट्रयापमा पर्ने समेत सम्बद्ध लगानीकर्ताहरु बताउँछन् ।

धितोपत्र बोर्डको नयाँ व्यवस्था अनुसार लगानीकर्ताको डिम्याट खातामा फ्रि सेयर मात्र देखाउने भएकाले सेयर खरिदबिक्री गर्ननै समस्या देखिएको एक ब्रोकरले जानकारी दिए । ‘अहिलेको सिस्टम अनुसार डिम्याट खातामा प्लेजमा भएको सेयर नै देखाउँदैन जसका कारण लगानीकर्ताले सेयर बिक्री गर्न पाएका छैनन्,’ ती ब्रोकरले भने, ‘नियामकले नेपालमा भएको व्यवस्थामा अन्तरराष्ट्रिय प्राक्टिस लागू गर्न खोज्दा समस्या उत्पन्न भएको हो ।’ अन्तरराष्ट्रिय प्राक्टिस अनुसार ब्रोकरले मार्जिन लेण्डिङ गरेर उक्त सेयर ब्रोकरबाटै खरिदबिक्री गर्न पाईन्छ । तर नेपालमा भने बैंकमा मार्जिन कर्जामा राखेको सेयर डिम्याट खातामा नदेखाउँदा लगानीकर्ताहरु मारमा परेका छन् । यस विषयमा नियामकले पुनर्विचार गर्नुपर्ने समेत ती ब्रोकरको भनाई थियो ।

तर नियामक निकायल धितोपत्र बोर्डले बैंकमा रोक्का राखेको सम्पत्ति खरिदबिक्री गर्न नपाईने बताउँदै आएको छ । बैंकमा धितोमा राखेको सेयर बैंकको अनुमति विना बिक्री गर्न नपाईने बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले बताए । ‘हामीले लगानीकर्ताहरुकै माग अनुरुप उक्त व्यवस्था गरेका हौं,’ उनले भने, ‘यसले सेयरको सप्लाईमा केही कमि ल्याउने हो मागमा कुनै असर गर्दैन झन बजार वृद्धिको लागि सहयोग गर्नेछ ।’

तर यसो भन्दै गर्दा बजारमा केही सिमित बर्गले मात्र कमाउने र बैंकबाट कर्जा लिएर लगानी गरेका लगानीकर्ताहरु मारमा पर्ने सम्बद्ध लगानीकर्ताहरु बताउँछन् । अर्कोतर्फ बोर्डले एक ब्रोकर एक डिम्याट खाताको व्यवस्था गरेको छ । उक्त व्यवस्था अनुरुप पनि लगानीकर्ताले आफुले कारोबार गर्दै आएको ब्रोकरमार्फत सेयर बिक्री गर्न नपाउँदा बजारमा आर्टिफिसियल डिमाण्ड बढ्दा नेप्से परिसुचक उकालो लागेको सम्बद्ध लगानीकर्ताहरु बताउँछन् । ‘असार मसान्तको चाप र लामो समयको लकडाउनका कारण लगानीकर्ताले स्रोत जुटाउन पनि सेयर बिक्री गर्न चाहेका छन्,’ एक लगानीकर्ताले भने, ‘तर ब्रोकर कहाँ डिम्याट खाता जुधेका कारण लगानीकर्ताले आफुले चाहेको समय सेयर बिक्री नै गर्न पाएका छैनन् ।’ साथै बोर्डको एक ब्रोकर एक डिम्याट खाताको नियमनै अव्यवहारिक रहेको सम्बद्ध लगानीकर्ताहरुले बताउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL