Logo

सेयर कारोबार सम्बन्धी गुनासा छन् ?, नेप्सेले स्थापना गर्याे हेल्पडेस्क

सेयर कारोबार सम्बन्धी गुनासा छन् ?, नेप्सेले स्थापना गर्याे हेल्पडेस्क



काठमाडौं । धितोपत्रको दोस्रो बजार कारोवारमा आउन सक्ने सम्भावित गुनासो समाधानका लागि नेपाल स्टक एक्सचेन्ज लिमिटेडले ‘हेल्प डेस्क’ स्थापना गरेको छ । धितोपत्र बोर्डमा यही वैशाख २६ गते भएको सरोकारवालाको बैठकमा लगानीकर्ताको गुनासा सुन्ने र समाधान गर्ने सम्बन्धमा हेल्प डेस्कको व्यवस्था गर्ने विषयमा सहमति भएको थियो ।

कारोवारका क्रममा कुनै पनि समस्या वा गुनासा आएमा उक्त हेल्प डेस्कमा सम्पर्क गर्न सकिने स्टकका सहायक प्रवक्ता आकृति दङ्गालले जानकारी दिएकी छिन । नेप्सेले कुनै समस्या भएमा टोल फ्रि नम्बर १६६००१२५०२५ मा सम्पर्क गर्नसमेत आग्रह गरेको छ । लकडाउनका कारण बन्द भएको धितोपत्र बजार आजदेखि नियमित सञ्चालनमा आएको छ । सरकारले गत चैत ११ गतेदेखि कोरोनाको संक्रमण बढ्न नदिन लकडाउन घोषणा गरेसँगै दोस्रो बजार बन्द भएको थियो ।

नियामक निकाय नेपाल धितोपत्र बोर्डले मङ्गलबारदेखि सेयर बजार पुनः सञ्चालनमा ल्याउन नेपाल स्टक एक्सचेन्जलाई निर्देशन दिएको थियो । बोर्डको उक्त निर्णयसँगै धितोपत्र बजार ५०औँ दिनमा खुलेको हो । दोस्रो बजार कारोवार तत्कालका लागि दैनिक दुई घण्टा (बिहान ११ः०० देखि १ः०० बजेसम्म) सञ्चालन हुनेछ/रासस

प्रतिक्रिया दिनुहोस्
MBL