Logo

सेयर कारोबारमा नयाँ मोडालिटी : कारोबार समय र सर्किट ब्रेकको सिमा घटाईने, मेरो सेयर र आईपीएस कनेक्ट अनिवार्य

सेयर कारोबारमा नयाँ मोडालिटी : कारोबार समय र सर्किट ब्रेकको सिमा घटाईने, मेरो सेयर र आईपीएस कनेक्ट अनिवार्य



काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)ले आईतबारबाट सेयर कारोबार खुला गर्ने भएको छ । नेप्सेले बजार बन्द भएको करिब ४५ दिनपछि सेयर कारोबार खुला गर्न लागेको हो ।

बुधबार बसेको मन्त्रिपरिषदको निर्णय अनुसार छुट्टै मोडालिटी बनाए सेयर कारोबार खुला गर्ने तयारी गरिएको नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले जानकारी दिए । ‘हामीले यस विषम परिस्थितीमा कसरी बजार खुला गर्ने भन्ने विषयमा छुट्टै मोडालिटी बनाएका छौं,’ उनले भने, ‘यस विषयमा आज पनि सम्बद्ध पक्षसँग छलफल भएको छ भोली त्यसलाई आधिकारिकता दिएर बजार संचालनमा ल्याउने छौं ।’

नयाँ मोडालिटी अनुसार सेयर कारोबार समय, सर्किट ब्रेकको सिमा, ओपन प्राईसजस्ता विषयमा फेरबदल गरिने छ । हाल दैनिक ५ घण्टा सेयर कारोबार हुँदै आएकोमा अबका दिनमा २ देखि ३ घण्टामात्र कोरोबार खुला गरिने भएको छ । यसैगरी हाल ४, ५ र ६ प्रतिशतमा सर्किक ब्रेक लाग्दै आएकोमा बजारको अवस्था हेर्दै सर्किट ब्रेक लाग्ने प्रतिशत आधा घटाउन लागिएको साउदले जानकारी दिए ।

यसैगरी नियमक निकाय नेपाल धितोपत्र बोर्डले भने आईतबारबाटै बजार खोज्ने वा नखोल्ने भन्ने विषयमा अझै टुङ्गो नलागेको जानकारी दिएको छ । ‘शुक्रबारसम्ममा मन्त्रिपरिषद्को निर्णय के आईपुग्छ त्यहि आधारमा कहिलेदेखि बजार खुला गर्ने भन्ने विषयमा टुङ्गो लाग्नेछ,’ उनले भने, ‘मन्त्रिपरिषद्को निर्णयको पूर्ण पाठ र अर्थ मन्त्रालयको सोही अनुरुपको निर्देशन नआई बजार कहिलेबाट संचालन हुन्छ भन्ने विषयमा यसै भन्न सकिँदैन ।’

कडाउनको विषम परिस्थितीमा बजार खुला गर्नका लागि धेरैवटा मोडालिटी तयार गर्नु आवश्यक रहेको उनले जानकारी दिए । साथै अबका दिनमा मेरो सेयर र कनेन्ट आईपीएसको सुविधा नलिएका लगानीकर्तालाई सेयर कारोबार समेत गर्न नदिईने ढुङ्गानाले जानकारी दिए ।

‘अहिले सबै ब्रोकरहरु नै मेरो सेयर र कनेक्ट आईपीएसमा जोडिएका छैनन् भने करिव १ सय लगानीकर्ताले त्यस्ता सेवा लिएका होलान,’ उनले भने, ‘आईतबारदेखि बजार खुलेपनि त्यस्ता सेवा नलिने लगानीकर्ताले सेयर खरिदबिक्री गर्न पाउनेछैनन् ।’ सुरक्षा सम्वेदनशिलाता र स्वास्थ्यलाई मध्यनजर गर्दै मेरो सेयर र आईपीएस कनेक्ट अनिवार्य गर्न लागिएको समेत उनले जानकारी दिए ।

बजार खोल्नका लागि कम्तीमा २३० वटा अफिस र सोही अनुरुप लगानीकर्तालाई पास उपलब्ध गराउनु पर्ने भएकाले पनि यस विषयमा अन्यौलता कायमै रहेको उनले जानकारी दिए । ‘अहिले सरकारले एकतिहाई कर्मचारी र एक चौथाई सवारी साधन चल्न दिने भनेको छ, ब्रोकर लगायतका अफिससँग कति सवारीसाधन छ भनेर कसरी पत्ता लगाउने,’ उनले भने, ‘लगानीकर्ताको पास र ब्रोकर कर्मचारी तथा सवारी साधनको बिषयमा पनि यथार्थ मोडालिटी हुनुपर्छ ।’

यसैगरी अर्थमन्त्रालयले भने धितोपत्र बोर्ड आफैले अध्ययन गरेर बजार संचालनमा ल्याउन सक्ने बताए । मन्त्रिपरिषद्को निर्णय अनुसार बोर्डले नै बजार संचालन गर्ने वा नगर्ने भन्ने निर्णय गर्न सक्ने अर्थमन्त्रालयका प्रवक्ता उत्तरकुमार खत्रीले जानकरी दिए । ‘यस अघि बजार बन्द गर्दा पनि बोर्डले अर्थमन्त्रालसँग सोधेको थिएन अब खोल्दा पनि अर्थमन्त्रालयको सहमति जरुरी चाहिँदैन,’ खत्रीले भने, ‘अबका दिनमा पनि बोर्ड र नेप्से आफैले सहकार्य गरेर बजार खोल्न सक्छन् यसमा अर्थले निर्देशन दिईरहँदैन ।’

प्रतिक्रिया दिनुहोस्
MBL