Logo

अर्थतन्त्र चलायमान बनाउन लकडाउन खुकुलो पार्न नाडाको आग्रह, किस्ता तिर्ने समयावधि ६ महिनासम्म थप्न माग

अर्थतन्त्र चलायमान बनाउन लकडाउन खुकुलो पार्न नाडाको आग्रह, किस्ता तिर्ने समयावधि ६ महिनासम्म थप्न माग



काठमाडौं । नाडा अटोमोवाईल्स एसोसिएशन अफ नेपालले कोरोना भाईरसको संक्रमण पछि नेपालको अर्थतन्त्र चलायमान गर्न सरकारसँग आग्रह गरेको छ । नाडाले विज्ञप्ती जारी गर्दै देशको अर्थतन्त्रलाई केही मात्रामा भए पनि चलायमान बनाउन र आम जनसमुदायको दैनिकीलाई केहि सहज बनाउनसमेत लक डाउनलाई केहि खुकलो बनाउनु पर्ने आवश्यकता औंल्याएको छ ।

विश्व परिबेसमा युरोपेली मुलुकहरुलेसमेत जनताको दैनिकी र आफनो अर्थतन्त्रलाई केही चलायमान बनाउन लक डाउनलाई केहि खुकुलो बनाउदै लगेको अवस्थामा नेपालले पनि यस्तै नीति अवलम्बन गर्नु पर्ने वाध्यात्मक अवस्था देखिएको विज्ञप्तीमा उल्लेख छ । लक डाउनका कारण अटोमोवाइल व्यवसायीहरु पनि ठूलो मारमा परेको र उनीहरुलाई आफनो उद्योग व्यवसायबाट नै बन्चित हुनु पर्ने कारुणिक अवस्थाबाट जोगाउन सरकारले राहत प्याकेज ल्याउनसमेत नाडाले आग्रह गरेको छ ।

नाडाले अटोमोबाइल उद्योग, वर्कशप, शोरुम र कार्यालयमा कार्यरत कर्मचारीलाई दिनु पर्ने तलवका विषयमा ठोस निर्णय हुनु पर्ने, भन्सार परिसरमा भएका सवारी साधन तथा स्पेर्यस पार्टसलगायतका बस्तुहरुमा लाग्ने डेमरेज चार्ज मिनाहा हनु पर्ने, भारत तथा तेश्रो मुलुकबाट आयातको क्रममा रहेको कन्टेनरहरुको, कन्टेनर डिटेन्सन चार्ज सतप्रतिशत मिनाहा हुन पर्ने माग गरेको छ ।

त्यस्तै व्यवसायको संरक्षणका लागि बैंकको किस्ता तिर्ने समयावधि ६ महिनासम्म थप गर्नु पर्ने, भ्याटको किस्ता २०७७ बैशाख २५ गते सम्म बुझाउनु पर्ने ब्यवस्थालाई जेठ २५ गतेसम्म पुर्याउनु पर्ने, सरकारले पहिलो पटक लक डाउन खुकलो बनाउँदा अटोमोबाइल सर्भिस सेन्टरहरुलाई पहिलो प्राथमिकतामा राखि खोल्न स्वीकृत दिनु पर्ने, आउने ६ महिनाको लागि बैंकहरुले दिएको ऋणमा ५ प्रतिशत मात्र व्याज लाग्ने व्यवस्था हुनु पर्ने गरि सरकारसँग आग्रह गरेको छ ।

साथै अन्य आयकर बुझाउनु पर्ने व्यवस्थालाईसमेत समय थप गरि ब्याज र जरिवाना लिन नपाउने व्यवस्था हुनु पर्ने तथा सामाजिक कोषमा बुझाउनु पर्ने रकमलाई २०७७ साल असार मसान्त भन्दा पछि सार्नु पर्ने माग गरेको नाडाका महासचिव सुनिल रिजालले जानकारी दिएका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL