Logo

नेप्सेका सिईओ साउद भन्छन्, ‘सेयर बजारमा उत्तर दक्षिण प्रभाव पर्यो’

नेप्सेका सिईओ साउद भन्छन्, ‘सेयर बजारमा उत्तर दक्षिण प्रभाव पर्यो’



काठमाडौं । अघिल्लो हप्ता दैनिक ७० अंकले बढेर पौने ५ अर्ब रुपैयाँको कारोबार भएको नेप्से परिसुचकमा यो हप्ता उच्च गिरावट आएको छ । लामो समय वियरिस ट्रेण्डमा रहेको नेप्से परिसुचकले बुलिस ट्रेण्ड समाताको भनिरहँदा पछिल्लो समय नयाँ लगानीकर्ताहरु उक्त भुमरीमा फस्न पुगेका छन् ।

विश्व बजारमा घट्दो क्रममा रहेको सेयर बजार र उत्तरी छिमेकी मुलुक चीनमा आएको कोरोना भइरसका कारण नेपाली सेयर बजारमा पैसा ओइरिएको कारण बजार कारोबार रकम उच्च हुन पुगेको नेपाल स्टक एक्स्चेञ्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउद बताउँछन् । ‘करिव २ महिना देखि कोरोनाका कारण चीनसँगको आयात व्यापार ठप्प हुँदा व्यापारीसँग होल्ड भएका बसेका पैसा सेयर बजारमा लगानी गरेका थिए,’ उनले भने, ‘जसका कारण बजारमा कारोबार रकम उच्च बढ्न पुगेको हो ।’

यदि यस्तै अवस्था रहने हो भने आगामी दिनमा दिनसँगको व्यापारमा उच्च गिरावट आउने समेत उनले जानकारी दिए । ‘व्यापारीहरुले बर्षदिनसम्म व्यापार गर्दा त्यति नाफा कमाउँदैनथे होला जुन नाफा उनीहरुले डेढ महिनाको बीचमा कमाईसके,’ उनले भने, ‘विना झण्झट उच्च नाफा कमाउने भएकाले पनि अहिले चीनबाट सामान आयात गर्ने व्यापारीहरुको प्रवेश सेयर बजारमा उच्च छ ।’

यसैगरी पछिल्लो समय भारतीय सेयर बजार पनि ओरालो लागेका कारण त्यहाँबाट समेत नेपाली सेयर बजारमा लगानी प्रवेश भएको उनको दावी रहेको छ । ‘हामीकहाँ नेपाली सेयर बजार घट्दा भारतीय सेयर बजार र भारतीय सेयर बजार घटेदा नेपालमा लगानी गर्ने लगानीकर्ताको संख्या पनि ठूलै छ,’ उनले भने, ‘त्यसैका प्रभावका कारण अहिले त्यस्तो लगानी नेपाली सेयर बजारमा प्रवेश भइरहेको छ ।’

कोरोना भाइरसको त्राससँगै चीनसँगको व्यापार छाडेर सेयर बजारमा प्रवेश गरेको एक व्यापारीले जानकारी दिए । ‘चीनबाट सामान आयात गर्न नमिलेपछि उक्त रकम होल्ड गरेर बस्नुभन्दा साथीहरुको सल्लाहअनुसार सेयर बजारमा लगानी गरेका छौं,’ ती व्यापारीले भने, ‘कोरोनाका कारण सामान आयात नहुँदा छोटो समयका लागि सेयर बजारमा लगानी गरेका हौं यो समस्या समाधान हुने वित्तिकै बजारबाट निस्कने छौं ।’

जसको प्रभाव स्वरुप यो हप्ता सेयर बजारमा कारोबार रकम र परिसुचक दुबैमा उच्च गिरावट आएको छ । पछिल्लो समय बजारमा मारबाडी लगानीकर्ताको प्रवेश उच्च रहेपनि चिनियाँ व्यापारीहरु बजारबाट निस्कदा उच्च गिरावट आएको सम्बद्ध लगानीकर्ताहरु बताउँछन् । क्षणिक रुपमा लगानीगरेर व्यापारीहरुले बजारबाट एक्जिट हुँदै पुनः पैसा होल्ड गर्ने प्रवृति बढ्न थालेसँगै बजार अझै घट्न सक्ने सम्बद्ध लगानीकर्ताहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL