Logo

किन घट्दै छ सेयर बजार ? थामिएला बजारको पहिरो !

किन घट्दै छ सेयर बजार ? थामिएला बजारको पहिरो !



निरन्तर र उच्चस्तरमा बढिरहेको सेयर बजारबाट लगानीकर्ताहरुले यसै हप्ता अर्बौं गुमाएपछि उनीहरुमा फेरि चरम निराशा पैदा भएको छ । विशेषगरी सेयर बजारप्रति असहिष्णु अर्थमन्त्री डा युवराज खतिवडा पदबाट बाहिरिने अनुमानका आधारमा बजार क्रमशः माथितिर जान थालेको थियो । राष्ट्रिय सभाको चुनाव सकिएपछि र अझ उनको ठाउँमा पार्टीका नेता बामदेव गौतम आउने हल्ला चल्न थालेपछि बजारमा उछाल नै आएको थियो । खतिवडाले सोही फेरि सोही पदमा निरन्तरता पाउने निश्चित भएपछि वितेका दुई दिन बजारमा तनाव उत्पन्न भएको थियो ।

यसबीचमा बीसौं करोडको सेयर बिक्री गरी ठूला लगानीकर्ताहरु भने बाहिर निस्किसकेका थिए । अर्थमन्त्री खतिवडाले निरन्तरता पाउने समाचार बिजखबरले महिनौं अगाडि प्रकाशित गरिसकेको थियो । बजारमा आफुले विश्लेषण गरेर लगानी गर्नुभन्दा पनि को अर्थमन्त्री जान्छ वा को आउँछ भन्ने सोचका आधारमा लगानी गर्ने लगानीकर्ताको मनोविज्ञानका कारण पछिल्लो समय सेयर बजार दैनिक रुपमा उच्च वृद्धि वा सोही अनुपातमा गिरावट आउन थालेको छ ।

बजार बढ्ने र घट्ने कारण

निरन्तर घटेर निकै तल आइसकेको बजार माथि जान कुनै बाहाना खोजिरहेको थियो । बजारमा नेपाली चिनियाँ व्यापारीहरुको बाध्यात्मक आगमन, करजन्य समस्याले अन्यत्र लगानीको वातावरण नभएको, बैंकमा तरलता बढेको, व्याजदर घटेको, सहजरुपमा कर्जा पाउन थालेको जस्ता कारणहरुका अतिरिक्त पछिल्लो समय बजारप्रति कठोर, नकारात्मक र असहिष्णु अर्थमन्त्री डा खतिवडा बाहिरिने संभावना सेयर बजार बढ्ने बाहाना बनेको थियो । तर अर्थमन्त्रीमा उनको निरन्तरता हुने भएपछि बजारलाई कसैले थेग्न सकेन र लगानीकर्ताहरुमा ठूलै पहिरो गएको महसूस भयो । पछिल्लो समय सेयर बजार सुधारका लागि अर्थमन्त्री खतिवडाले नीतिगत रुपमा धेरै काम गरेपनि उनी अर्थमन्त्री भएर आउने वित्तिकै सेयर बजार प्रति उनले बनाएको नकारात्मक धारणमा कारण लगानीकर्तामा अझै पनि मनोबैज्ञानिक असर हट्न सकेको छैन ।

विगत दुईबर्ष यता बजार निकै नै घटेको थियो । यससँगै ब्याज भुक्तानी, मार्जिन कल लगायतको बोझले लगानीकर्ताहरु अप्ठेरो अवस्थामा थिए । खासमा उनीहरुले विगत एक डेढ बर्षदेखि ब्याज तिर्न समेत सकिरहेका थिएनन् र घरजग्गासँगै सेयरका लगानीकर्ताहरुमा चरम निराशा उत्पन्न भैसकेको थियो । यी दुवै क्षेत्रमा धमाधम लिलामीका सूचना प्रकाशित भैरहेका थिए । बजार बढ्ना साथ यिनले उत्तरार्धतिर सेयर बिक्रीमा चाप पैदा गरे । उनीहरुले बजार घट्यो कि खरिद गरिहाल्नुपर्छ भन्ने सन्देश भाइबर, फेसबुक म्यासेन्जर, इमेल, फोन तथा केही व्यक्तिको समेत परिचालन गरी तीब्र प्रचार गरेका थिए । यही कारण हो, पछिल्ला दिनमा ठूलो रकमको कारोबार हुँदै दिनैपिच्छे रेकर्ड तोडिन थाले र कारोबार रकमले एकैदिनमा झण्डै ५ अर्बको कारोबार रकमको रेकर्ड बनाएको थियो ।

मौद्रिक नीति र अन्य करजन्य समस्या

मौद्रिक नीतिको मध्यावधि समीक्षामार्फत सेयरभन्दा बाहिर लगानी गर्न प्रोत्साहित गरेको छ । यसले गर्दा अव लगानीकर्ताहरुलाई सेयर बजारमा मात्र झुम्मिन आवश्यक नहुने परिस्थिति बनाइदिएको छ । अर्थमन्त्रीले दबाब थेग्न नसकेर करजन्य समस्याहरु समाधान गरिदिने आश्वासन दिएका छन् । यसले बैंकहरुको लगानीलाई अन्य क्षेत्रमा पठाएर तरलताको सहज स्थितिलाई कस्नेछ । यसले गर्दा सेयर बजारलाई सजिलै कर्जा प्राप्त हुने छैन ।

उपयुृक्त वातावरण नभएका कारण स्वदेशी तथा विदेशी लगानीकर्ताहरुले सानो, मझौला र ठूला कुनै पनि उद्योगमा लगानी बढाउन नसकेका कारण अर्थतन्त्र चलायमान हुन सकिरहेको छैन । यसले बैंक तथा वित्तीय संस्थाको आम्दानीलाई खुम्च्याइदिएको छ र उनीहरुको प्रतिफलको दर घट्दो अवस्थामा देखिएको छ । अर्को कोरोना भाइरसको असरस्वरुप व्यापारीहरुले चीनबाट सामान ल्याएर बिक्री गर्न सक्ने अवस्था नरहेको र जलविद्युत लगायत थुप्रै उद्योगहरुका मेशिन तथा उपकरणहरु आउन नसकिरहेको अवस्था छ । यसले बैंक तथा वित्तीय संस्थाको आम्दानीलाई अझ खुम्च्याइदिनेछन् ।

बजारका आधारभूत पक्ष

बजार घटबढ हुने मूलभूत कारण भनेको अर्थतन्त्रको अवस्था हो । मुलुकमा आर्थिक गतिविधिहरु साँघुरिएको अवस्था छ । राजस्व असूली खर्बौंले घटेको, वैदेशिक लगानीको वृद्धि ऋणात्मक, आन्तरिक र बाह्य लगानी खस्केको, र विदेशी सहयोग परिचालनको अवस्थामा पनि नाजुक अवस्थामा पुगेको छ । विकास आयोजनाहरु सुस्त गतिमा अगाडि बढिरहेको विकास खर्चको कमजोर अवस्थाले पूष्टि गर्छन् । चालु आर्थिक बर्षको हालसम्मको अवस्थालाई हेर्दा बैंक तथा वित्तीय संस्थाहरुको कर्जा लगानी बढ्न सकेको देखिदैन । यसले गर्दा कम्पनीहरुले लामो समयसम्म विगतको जस्तो प्रतिफल दिन सक्ने अवस्था छैन । यस्ता आर्थिक पक्षहरुले बजार तत्काल उच्च दरमा बढिहाल्ने संकेत गर्दैनन् । त्यसैले यस्तो अवस्थामा लगानीकर्ताहरुले सावधानीपूर्वक लगानीको नियर्णय गर्नुपर्ने हुन्छ ।

बजारको आगामी प्रवृत्ति कस्तो होला ?

बजारमूल्यलाई प्रभाव पार्ने सूचना तथा तथ्यहरुको विश्लेषण गर्दा केही समयको तीब्र उतारचढावपछि बजार पछाडि पनि धेरै नफर्किने र अगाडि पनि धेरै नबढ्ने अवस्थाका बीच सामान्य उतारचढावको लयमा सन्तुलन खोज्नेछ । यसबीचमा सेयर बिक्री गरिसकेका ठूला लगानीकर्ताहरु बजारमा मौका हेरी प्रवेश गर्न सक्नेछन् । बढी सट्टेबाजी र हल्लाको पछि लाग्ने नेपालको सेयर बजारमा चलाख ठूला लगानीकर्ताहरु पहिला सेयर खरिद गर्छन, केही हल्ला फैलाउँछन् र यथार्थ कुरा बाहिर आउनासाथ बिक्री गरी बाहिर निस्किहाल्छन् ।

त्यसैले बजारमा एउटा लोकप्रिय भनाइ छ, हल्ला किन्ने र सूचना बेच्ने । अर्थात हल्ला शुरु हुनासाथ सेयर किन्न थाल्ने र आधिकारिक समाचार बाहिर आउनासाथ बिक्री गरिहाल्ने उपयुक्त रणनीति हो । ठूला लगानीकर्ताहरु अक्सर यसै गर्छन् । उनीहरुको भनाइमा निजी रणनीति लुकेको हुन्छ । पछिल्लो पटक सेयर बढेको बेला नै उनीहरुले हल्ला गर्दै २० औं करोडको सेयर बिक्री गरी बाहिर निस्किसकेका छन् । यस्तो बेलामा साना तथा नवप्रवेसी लगानीकर्ताहरु फस्न सक्ने भएकोले बजार घटेर तल आउने र त्यहाँ स्थीर हुने बेलामा प्रवेश गर्नुपर्ने हुन्छ । ठूला लगानीकर्ताहरुको उक्साहटमा कुनै निर्णय गर्नु उपयुक्त हुँदैन ।

प्रतिक्रिया दिनुहोस्
MBL