Logo

एकैदिन ९६ अंकले घट्दा साढे २ घण्टामै बन्द भयो बजार, कारोबार २ अर्बमै सिमित

एकैदिन ९६ अंकले घट्दा साढे २ घण्टामै बन्द भयो बजार, कारोबार २ अर्बमै सिमित



काठमाडौं । लामो समयपछि नेप्से परिसुचक उल्टो सर्किट हान्दै कारोबार बन्द भएको छ । बजार खुलेको साढे २ घण्टामा नेप्से परिसुचक ६ प्रतिशत अर्थात ९६ अंकले घटेर बन्द हुन पुगेको हो ।
नेप्से परिसुचक करिव ३ बर्षपछि उल्टो सर्किट हान्दै बन्द भएको छ । यसअघि सन २०१७ को अप्रिल ३ मा उल्टो सर्किट हानेर बन्द भएको थियो ।

बजारमा अल्पकालिन लगानीकर्ता भित्रदा गत हप्ता सेयरबजार बेलुनझै फुलेर एकैदिन ७० अंकले बढ्न पुगेको थियो । तर सोही मौकाको सदुपयोग गर्दै सिमित ठुला लगानीकर्ताहरु बजारबाट एक्जिट हुँदा यो हप्ता बजार क्र्यास हुन पुगेको छ ।

साताको पहिलो दिन ४० अंकले घटेको बजार दोस्रो दिन करिव १०० अंकले ओरालो लागेको छ । सोमबार विहानैदेखि ओरालो लागेको बजारमा बीमा समुहको परिसुचकमा सबैभन्दा बढी गिरावट आएको छ । सोमबार जीवन बीमा समुहको परिसुचकमा ६ सय ९० अंकको गिरावट आउँदा निर्जिवन बीमा समुहको परिसुचक भने ५ सय २४ अंकले ओरालो लागेको छ ।

यस्तै माईक्रोफाईनान्सको परिसुचकमा १ सय ३५ अंकको गिरावट आउँदा उत्पादनमुलक समुहको परिसुचकमा भने १ सय २५ अंकको गिरावट आएको छ ।

साथै बजारमा धेरै प्रभुत्व रहेको बैंकिङ समुहको परिसुचकमा ९५ अंकको गिरावट आउँदा होटल समुहको परिसुचक ७९ अंकले ओरालो लागेको छ ।

सोमबार कुल १ सय ७२ ओटा कम्पनीका ४९ लाख ८६ हजार ५ सय ४४ कित्ता सेयर किनबेच हुँदा कारोबार भने २ अर्ब १५ करोडमै सिमित हुन पुगेको छ ।

सोमबार २ कम्पनीको सेयर कारोबार १० करोड माथी भएको छ । जसमा नेपाल लाईफ ईन्स्योरेन्सको १५ करोड ६८ लाख बराबरको सेयर कारोबार भएको छ भने एनआईसी एशिया बैंकको १४ करोड ६१ लाख बराबरको सेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL