Logo

नेप्सेमा दोहोरो अंकको वृद्धि, कारोवार रकम अर्ब माथि

नेप्सेमा दोहोरो अंकको वृद्धि, कारोवार रकम अर्ब माथि



काठमाडौं । लगातार उकालोको यात्रा तय गरेको धितोपत्र बजारमा कारोवार मापक नेप्से परिसूचक आज पनि दोहोरो अंकले बढेको छ । साताको सुरुवातीदेखि नै नेप्सेको उकालो यात्रा जारी नै छ । कारोवार भएको दिनमा नै नेप्सेमा दोहोरो अंकको वृद्धि कायम छ ।

laxmi

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से १६ दशमलब २३ विन्दुले बढेर १ हजार २१६ दशमलब ९२ मा पुगेको छ । सेन्सेटिभ परिसूचक ४ दशमलब १३ ले वृद्धि भई २६४ दशमलब ८१ मा पुगेको छ ।

धेरै पछि कारोवार रकम अर्ब माथि पुगेको छ । लगानीकर्तामा विश्वास बढेपछि कारोवार रकममा उल्लेख्य वृद्धि भएको हो । कूल १७९ कम्पनीका ३८ लाख ८० हजार ९५० कित्ता सेयर १ अर्ब १० करोड २७ लाख ३६ हजार ७४८ रुपैयाँ मूल्यमा खरिद–बिक्री भए । धेरै पछि कारोवार रकमले आज नयाँ इतिहास कायम गरेको हो ।

नेप्सेका अनुसार कारोवार भएका कूल १२ उपसमूहमध्ये आज दुई उपसमूहको सेयर ओरालो लाग्दा १० उपसमूहको सेयर उकालो लागेको छ । होटल ८ दशमलब ३७ र उत्पादन २२ दशमलब ६६ विन्दुले ओरालो लागेको छ । बैंकिङ १९ दशमलब ०३, व्यापार १ दशमलब ०१, विकास बैंक २६ दशमलब १८, जलविद्युत् १७ दशमलब ५५, वित्त ५ दशमलब ०२, निर्जीवन बीमा ८६ दशमलब ५६, अन्य १ दशमलब ५२, लघुवित्त ३२ दशमलब ९, जीवन बीमा १ दशमलब ०४ र सामूहिक लगानी कोष ० दशमलब ०१ ले वृद्धि भएको छ ।

नेप्सेका अनुसार आज सबैभन्दा बढी कारोवार माछापुच्छ्रे बैंकको भएको छ । सो बैंकको मात्रै १९ करोड ४९ लाख १३ हजार ४१३ रुपैयाँको कारोवार भई शीर्ष स्थानमा रह्यो । एनआइसी एशिया बैंक ६ करोड ४८ लाख ६३३ रुपैयाँ, प्रभु बैंक ४ करोड २० लाख १२ हजार ९१२ रुपैयाँ, डिप्रोक्स लघुवित्त वित्तीय संस्था ४ करोड ६ लाख ५० हजार ८६१ रुपैयाँ, एनसिसी बैंक २ करोड ९१ लाख २५ हजार २६१ रुपैयाँ, एनएमबी बैंक २ करोड ६८ लाख ७४ हजार ९५५ रुपैयाँ, लुम्बिनी विकास बैंक २ करोड ६३ लाख ९५ हजार ५४३ रुपैयाँ र सिद्धार्थ बैंक २ करोड ३५ लाख ३० हजार ८१६ रुपैयाँमा कारोवार भएको छ ।

आज सिभिल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले १० प्रतिशतले कमाउँदा बोमी माइक्रोफाइनान्स वित्तीय संस्था ९ दशमलब ९७, सेन्ट्रल फाइनान्स ९ दशमलब ७६, सबैको लघुवित्त वित्तीय संस्था ९ दशमलब ४९, सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था ८ दशमलब ६९, राष्ट्रिय बीमा कम्पनी लिमिटेडको संस्थापक सेयर ७ दशमलब ८९ र दिव्यश्वरी हाइड्रोपावरका सेयरधनीले ७ दशमलब ८४ प्रतिशतले कमाए ।

त्यस्तै, बोटलर्स नेपाल तराई ३ दशमलब ९३, नेपाल फाइनान्स ३ दशमलब ७०, आँखु खोला जलविद्युत् कम्पनी ३ दशमलब ४४, पञ्चकन्या माई हाइड्रोपावर २ दशमलब २९, सिनर्जी पावर २ दशमलब ०६, विशाल बजार कम्पनी २ दशमलब ०४ र एनआइसी एशिया ग्रोथ फन्डका लगानीकर्ताले दुई प्रतिशतले गुमाएका छन् ।रासस

प्रतिक्रिया दिनुहोस्
MBL