Logo

सूचिकृत कम्पनीलाई कडाई गर्दै धितोपत्र बोर्ड, अब इन्साईडर कारोबार गरे जरिवाना

सूचिकृत कम्पनीलाई कडाई गर्दै धितोपत्र बोर्ड, अब इन्साईडर कारोबार गरे जरिवाना



काठमाडौँ । सरकारले धितोपत्रको भित्री कारोबार (इन साइड ट्रेडिङ) र धितोपत्र सम्बन्धी कसुर गर्नेलाई जरिवाना गर्ने भएको छ । बुधबार संसदमा दर्ता गरिएको नेपाल धितोपत्र सम्बन्धि ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमा उक्त व्यवस्था प्रस्ताव गरिएको हो । अर्कोले खरिद वा बिक्री गर्न प्रस्ताव गरेको मूल्य थाहा पाई त्यहीसँग मिल्ने गरी खरिद वा बिक्री गर्ने प्रस्ताव गरेर झुटो कारोबार गर्ने, धितोपत्र बजारलाई प्रभावित पार्ने किसिमको कसुर गर्ने पनि कारबाहीको भागिदार बन्नु पर्ने उक्त विधेयकमा उल्लेख छ ।

सरकारले धितोपत्र ऐन संशोधन गर्दै सूचिकृत कम्पनीलाई थप कडाइ गर्ने नीति लिएको छ । उक्त विधेयक पारित भएसँगै गैरकानुनी काम गर्ने सूचिकृत कम्पनीलाई सूचीकरण खारेजीमा लैजाने, दण्ड जरिवाना गरिने छ । साथै तोकिए बमोजिमको विवरण नबुझाएमा अब एक सातासम्म दैनिक १० हजार रुपैयाँ, आठौँ दिनदेखि १५ दिनसम्म दैनिक २५ हजार रुपैयाँ र १६औं दिनदेखि दैनिक ५० हजार रुपैयाँ बिलम्ब शुल्क बुझाउनु पर्ने उक्त विधेयकमा उल्लेख छ ।

उक्त ऐनमा अबका दिनमा सञ्चालक वा कार्यकारी प्रमुखको योग्यताको विषयमा पनि थप कडाई गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL