Logo

नम्बर प्लेट नभएका ईलेक्ट्रिक स्कुटरलाई कारवाही गर्न सर्कुलर, नेपाल भित्रिएको १५ दिनभित्र दर्ता गर्न आयातकर्तालाई विभागको निर्देशन

नम्बर प्लेट नभएका ईलेक्ट्रिक स्कुटरलाई कारवाही गर्न सर्कुलर, नेपाल भित्रिएको १५ दिनभित्र दर्ता गर्न आयातकर्तालाई विभागको निर्देशन



काठमाडौं । यातायात व्यवस्था विभागले नंवर प्लेट विना सडकमा गुड्ने विद्युतिय स्कुटरहरुलाई कारवाही गर्ने भएको छ । विभागले दर्ता नभईकन विना नंवर प्लेट सडकमा गुड्ने सवारीसाधनलाई तथा विशेषगरी विद्युतीय स्कुटरलाई कारवाही गर्नलाई सर्कुलर जारी गरेको हो ।

नेपालमा हालसम्म कानुनी अड्चनका कारणले विद्युतीय सवारीसाधनहरु सडकमा विना लाईसेन्स, विना दर्ता तथा विना नंवर प्लेट गुड्ने गरेका थिए । विभागले हालै मात्रै यातायात व्यवस्था ऐनमा टेक्दै यस्ता सवारीसाधन तथा स्कुटर नियमन गर्नका लागि सर्कुलर जारी गरेको हो ।

यातायात व्यवस्था ऐन २०४९ मा कुनैपनि सवारीसाधन विदेशबाट पैठारी गरेको १५ दिनभित्र दर्ता गरेर मात्रै संचालनमा ल्याउन पाउने उल्लेख छ । तर हाल विभिन्न कम्पनीहरुले विदेशबाट विद्युतीय स्कुटरहरु भित्र्याएर करको दायरामा नआईकनै सडकमा गुडाईरहेका छन । हाल नेपालमा हिरो, होन्डा, बजाज लगायत बहुराष्ट्रिय कम्पनीका स्कुटरहरु नेपालका सडकमा विना दर्ता गुडिरहेका छन । तर यातायात व्यवस्था ऐन २०४९ मा यान्त्रिक शक्तीबाट चल्ने जुनसुकै सवारीसाधन पनि दर्ता भएर मात्रै सडकमा चलाउन पाईने उल्लेख छ ।

विभागले अबको १५ दिनभित्र यस्ता सवारीसाधनहरु चलाउनका लागि दर्ता गराएर तथा लाईसेन्स लिएर मात्रै चलाउन सर्कुलर जारी गरेको छ । विभागले अव यस्ता सवारीसाधनहरु सडकमा चलाएको देखेमा सवारी तथा यातायात व्यवस्था ऐनको दफा १६० को उपदफा २ को ख अनुसार १ हजारदेखि ५ हजारसम्म जरिवाना तिराउने भएको छ ।

विभागले यसअघि पनि २०७३ बैशाखमा पनि यस्ता सवारीसाधनलाई नियमन गर्नका लागि मापदण्ड बनाएर मन्त्रालय पठाएको जानकारी दिएको थियो । विभागका तत्कालिन महानिर्देशक चन्द्रमान श्रेष्ठले विद्युतीय स्कुटर पनि यान्त्रिक सवारीसाधनमा नै पर्ने भन्दै भौतिक तथा यातायात मन्त्रालयमा यसको मापदण्ड पठाएका थिए ।

सोही अनुसार उक्त मापदण्ड मन्त्रालयमै अड्कीएपछि विद्युतीय स्कुटर नियमनको काम अघि बढेको थिएन । यसअघि विद्युतीय स्कुटर चलाउने चालकलाई सवारी चालक अनुमतीपत्र लाईसेन्सको समेत आवश्यकता पर्दैनथ्यो । तर अब भने विभागले विभिन्न आयातकर्तालाई नै विद्युतीय सवारीसाधन विदेशबाट आयात गरेको १५ दिनभित्र विभिन्न यातायात कार्यालयमा दर्ता गराएर मात्र संचालनमा ल्याउन निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL