Logo

ब्रोकरलाई ‘स्टक डिलर’को जिम्मा, न्यूनतम चुक्ता पूँजी १० करोड

ब्रोकरलाई ‘स्टक डिलर’को जिम्मा, न्यूनतम चुक्ता पूँजी १० करोड



काठमाडौं । नेपाल धितोपत्र बोर्डले ब्रोकर कम्पनीलाई नै ‘स्टक डिलर’को काम गर्न दिने भएको छ ।

पछिल्लो समय धितोपत्र कारोबारको दायरा फराकिलो बनाउँदै नेपाल धितोपत्र बोर्डले ब्रोकरलाई नै स्टक डिलरको काम गर्न दिनेगरी नीतिगत प्रक्रिया अघि बढाएको छ ।

हाल धितोपत्र व्यवस्था सम्बन्धी नियमावली संसोधन गर्दै ब्रोकरलाई स्टक डिलरको जिम्मा दिन लागिएको बोर्डले जानकारी दिएको छ । ‘पछिल्लो समय सेयर बजारको दायरा फराकिलो गर्दै बजारलाई थप व्यवस्थित गर्न हामीले धितोपत्र नियमावली परिमार्जन गरिरहेका छौं,’ बोर्डका प्रवक्ता निरज गिरीले भने, ‘नियमावली परिमार्जनसँगै ब्रोकरलाई स्टक डिलरदेखि आधुनिक प्रविधिमा लगेर व्यवस्थित समेत गरिनेछ ।’

बोर्डले ब्रोकरलाई स्टक डिलर दिनका लागि न्यूनतम १० करोड रुपैयाँ चुक्ता पूँजी पुर्याउनुपर्ने व्यवस्था गर्न लागेको हो । हाल चुक्ता पूँजीको दुई गुणसम्म स्टक डिलरको काम गर्न दिनेगरी चुक्ता पूँजी १० करोड रुपैयाँ पुर्याउने सम्बन्धमा छलफल भइरहेको समेत बोर्डले जानकारी दिएको छ ।

हाल ब्रोकरलाई मार्जिन कारोबारका लागि पनि सहमति दिइएको र अबका दिनमा स्टक डिलरको पनि काम दिन लागेकाले त्यसलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा समेत बोर्डले छलफल अघि बढाएको छ । यसैगरी ब्रोकर कम्पनीलाई थप शाखा विस्तार गर्न दिँदा कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा पनि उक्त नियमावलीले समेट्ने गिरीले जानकारी दिए ।

हाल नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले अनलाईन प्रणाली ल्याएसँगै आगामी दिनमा प्राविधिक रुपमा कसरी व्यवस्थित गर्ने भन्ने विषयमा समेत नियमावलीले संबोधन गर्नेछ । ‘मार्जिन लेण्डिङ र स्टक ब्रोकरको जिम्मा दिँदाको रिस्क व्यवस्थापन तथा नेप्सेले ल्याएको अनलाईन प्रणालीसँग म्याच हुने खालको प्रविधिलाई कसरी लागू गर्ने भन्ने विषयमा समेत छलफल भइरहेको छ,’ उनले भने, ‘अहिले ब्रोकरसँग भएको प्रविधिले नयाँ प्रणाली अनुसार चल्न नसक्ने भएकाले त्यसलाई समेत थप व्यवस्थापन गरिनेछ ।’

पछिल्लो समय ब्रोकरहरुले भने आफुहरुलाई स्टक डिलरभन्दा पनि प्रोपाईटरी दिन माग गर्दै आएका छन् । ‘अहिलेकै व्यवस्था अनुसार ब्रोकरलाई स्टक डिलर दिँदा समस्या आउन सक्छ,’ ३४ नम्बर ब्रोकरका संचालक राजकुमार तिमिल्सिनाले भने, ‘तसर्थ पूँजी बजारलाई पारदर्शी रुपमा अघि बढाउने हो भने स्टक डिलरको सट्टा प्रोपाईटरी दिनुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्
MBL