Logo

तयारी पोशाकको निर्यात बढ्यो, ४ महिनामा २ अर्ब २१ करोडको निकासी

तयारी पोशाकको निर्यात बढ्यो, ४ महिनामा २ अर्ब २१ करोडको निकासी



काठमाडौं । पछिल्ला केही वर्ष स्थिरजस्तै रहेको तयारी पोशाकको निर्यात चालू आर्थिक वर्षको सुरुवातमा भने वृद्धि भएको छ ।

गत वर्षको तुलनामा चालू आवको पहिलो चौमासिकमा तयारी पोशाकको निर्यात ८ दशमलव २ प्रतिशतले बढेको नेपाल तयारी पोशाक उद्योग संघले जानकारी दिएको छ । विगतका ४ आर्थिक वर्ष तयारी पोशाक निर्यात ५ अर्बकै हाराहारीमा स्थिर थियो ।

संघका अध्यक्ष चण्डीप्रसाद अर्यालले भने, ‘यो वर्षको सुरुका महीनामा निर्यात बढेको देखियो, यसैलाई हेरेर ढुक्क हुने अवस्था भने छैन तर पनि आशा गर्न सकिन्छ, सरकारले ध्यान दिन सक्यो भने निर्यात गर्न सक्ने प्रशस्त आधारहरु छन् ।’

आव २०७४÷७५ को प्रथम चौमासिकको तुलनामा आव २०७५÷७६ को सोही अवधिमा निर्यात ८ दशमलव २ प्रतिशतले बृद्धि भई २ अर्ब २१ करोड रुपैयाँ पुगेकाले केही आशा पलाएको छ ।

नेपालमा सन् २००२ अघि तयारी पोशाकको बजार र निर्यात राम्रो भएपनि विभिन्न कारणले उद्योग बन्द भएर समस्या आएको हो । अहिले पनि २ हजारभन्दा बढी सिलाइका उपकरण त्यसै थन्किएर बसेको छ । ती उपकरणलाई सञ्चालनमा ल्याउन सरकारको सहयोगको आवश्यक रहेको उनको भनाई थियो ।

नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीको पोशाक स्वदेश भित्रै उत्पादन गरिए ती उपकरण पुन सञ्चालनमा आउन सक्ने व्यवसायीहरु बताउँछन् । यससँगै आवश्यक कच्चा पदार्थ स्वदेशमैै उत्पादन गर्नेतर्फ पनि व्यवसायीहरूले सरकारको ध्यानाकर्षण गराएका छन् ।

नेपालमा सन् १९८० को दशकमा तयारी पोशाक उद्योग सञ्चालनमा आएको हो । सन् १९९० को दशकमा पुग्दा १ हजार बढी उद्योग सञ्चालनमा आएको तथ्याङ्कमा उल्लेख छ । त्यो बेला निर्यात ३ लाख ८९ हजार डलरसम्म पुगेकामा सन् २००३ पछि भने विस्तारै उद्योग खस्कन गई हाल ५ हजार ५५ को हाराहारी उद्योग सिमित छ ।

सन् २०१७÷१८ मा कूल निर्यात ८१ दशमलव ३३ अर्ब र आयात १ हजार २ अर्ब ४५ करोडको फराकिलो अन्तर रहेका बेला १ हजार १ अर्ब ६३ करोड बढीको ब्यापार घाटा व्यहोर्दा नेपाल तयारी पोशाक उद्योगले ५ दशमलव ९७ अर्बको सामान निर्यात गरेको अध्यक्ष अर्यालले बताए ।

अन्य देशको तुलनामा नेपाली तयारी पोशाकको उत्पादन लागत महङ्गो भएकाले प्रतिस्पर्धात्मक क्षमता कमजोर रहेको व्यवसायीहरु स्वीकार गर्छन् । नेपाल चेम्बर अफ कमर्शका उपाध्यक्ष कमलेशकुमार अग्रवालले सरकारी प्रयास देखिएपनि अझै लगानी प्रवद्र्धन हुन नसकेको बताए ।

सङ्घले निर्यातसँग सम्बन्धित उद्योगलाई नगद अनुदान दिनुपर्ने, बैंक तथा वित्तीय संस्थाद्वारा सहुलियतपूर्ण ब्याजदर सहितको कर्जा दिनुपर्ने, आयकर छुट, एकमुष्ट कर प्रणाली, निर्यातजन्य उद्योगको प्रवद्र्धन तथा बजारिकरणका लागि कोष बनाउनुपर्ने, कच्चा पदार्थ स्वदेशमा उत्पादन गर्ने नीति बनाउन सके उद्योगले फड्को मार्ने व्यवसायीहरुको विश्वास छ ।

विदेशी ‘ब्राण्ड’लाई निरुत्साहित गरी स्वदेशी ‘ब्राण्ड’ प्रवद्र्धन गर्नु जरुरी रहेको नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले बताए ।

व्यवसायीको गुनासोप्रति संकेत गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने सरकरको नीति रहेकाले उत्पादन लागतमा छुट दिनेदेखि साझेदारी गर्ने र रुग्ण धागो तथा कपडा उद्योगलाई सञ्चालन गर्न सरकार प्रतिबद्ध रहेको जानकारी दिए । साथै यसका लागि निजी क्षेत्रलाई आफ्ना इच्छाप्रकट गर्न समेत आग्रह गरेका छन / रासस

प्रतिक्रिया दिनुहोस्
MBL