Logo

१६ औं हस्तकला ब्यापार मेला काठमाडौंमा हुँदै, उत्कृष्ट प्रतियोगी २ जनालाई ५० हजार

१६ औं हस्तकला ब्यापार मेला काठमाडौंमा हुँदै, उत्कृष्ट प्रतियोगी २ जनालाई ५० हजार



काठमाडौं । १६औं हस्तकला ब्यापार मेला तथा १४औ प्रतियोगितात्मक हस्तकला प्रर्दशनी आयोजना हुने भएको छ ।

यही कार्तिक २८ गते देखि काठमाडौंको भृकुटीमण्डपमा हुने सो मेलामा करिब २ सय स्टल रहने नेपाल हस्तकला महासंघले जानकारी दिएको छ । उद्यमी, कलाकार, कालिगढहरुबाट उत्पादित नेपाली हस्तकलाका वस्तुहरुको स्थानीय र अन्तरराष्ट्रिय बजार प्रवद्र्धनमा सहयोग पुर्याउने उद्देश्यले सो मेला गर्न लागेको मेला संयोजक हेम रत्न शाक्यले जानकारी दिएका छन ।

नेपाल हस्तकला महासंघले नेपाल सरकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय (एनटीआईएस) र व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको संयुक्त सहकार्य तथा काठमाडौं, ललितपुर महानगरपालिका, नेपाल पर्यटन बोर्ड लगायतको सहयोगमा कात्र्तिक २८ देखि मंसिर २ गते सम्म भृकृटी मण्डप काठमाडौंमा सो मेला आयोजना गर्ने भएको हो ।

नेपाली हस्तकलाका सामानहरुको अन्तरराष्ट्रिय जगतमा प्रचार प्रसार गर्ने, नेपाली उद्यमी ब्यबसायी निर्यातकर्ता र बिदेशी आयातकर्ताहरुका बीचमा ब्यबसायिक सम्बन्ध बिकास गर्ने तथा ब्यापार मेलाको माध्यमबाट नेपाली कला सस्कृतिको पहिचान र उजागर गर्ने उद्देश्यले सो मेला आयोजना गर्न लागिएको हो ।

सो मेलामा देशी तथा विदेशी गरि करिब २ सय स्टल रहनेछन । ५ दिन सम्म चल्ने सो मेलामा भारत, चीन, पाकिस्तान, श्रीलंका, बंगलादेश, भुटान लगायतका देशबाट सहभागि हुने आयोजकले जानकारी दिएको छ ।

साथै सो व्यापार मेलामा नेपालको ७ वटै प्रदेशका जिल्ला हस्तकला संघहरु, बस्तुगत संघहरुको साथै नेपाल सरकार गरिबी निवारण कोष समेतको सहभागिता रहने छ । मेलामा काष्ठकला, धातुकला, सुनचाँदी, फेल्टका सामान, उनी तथा सुती एवं ढाकाका सामान, पश्मिना, हाते कागजका सामान, छालाजन्य सामान, प्राकृतिक रेसा र वाँसका सामानहरु साथै जडिवुटी, अर्थोडक्स चिया लगायतका सामग्री रहनेछ ।

उक्त मेलाको अवसरमा १४औं हस्तकला प्रतियोगिता समेत हुने भएको छ । परम्परागत विधा तर्फ ‘मैनको मूर्ति’ बनाउने कलाकार एवं समसामयिक विधा तर्फ ‘ढाका बुनाई’ मा संलग्न कालिगढहरुलाई संलग्न गराई प्रत्यक्ष रुपमा जीवन्त प्रदर्शनी गरी १४औ हस्तकला प्रतियोगिता संचालन हुने भएको हो ।

सो प्रतियोगितामा उत्कृष्ट हुने ६ जना कलाकारहरुलाई नगद पुरस्कार तथा प्रमाण पत्रबाट पुरष्कृत गरिने छ । प्रति विधा २ जनालाई प्रथम पुरष्कार ५० हजार रुपैयाँ, दोस्रोलाई ३० हजार रुपैयाँ र तेस्रोहुनेलाई २० हजार रुपैयाँ नगद सहित प्रमाण पत्र तथा मेडलले सम्मान गर्ने भएको छ ।

५ दिन सम्म चल्ने सो मेलामा झण्डै २ लाख जनाले अवलोकन गर्ने तथा करिब १० करोड रुपैयाँको कारोबार हुने आयोजकको अपेक्षा रहेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL